मधेस : कामको खोजीमा भेला भएका मजदुरको माग- जिउने आधार चाहियो (भिडिओ) – Nepal Press

मधेस : कामको खोजीमा भेला भएका मजदुरको माग- जिउने आधार चाहियो (भिडिओ)

जनकपुरधाम । मतदानको समय दुई दिनबाट ओरालो लाग्दैछ । मौन अवधि जारी छ । देशभरलाई चुनाव लागिरहेको बेला जनकपुरधामको रामानन्द चौक र बाह्रबिघाअगाडि कामको खोजीमा भेला भएका मजदुरलाई चासो छैन ।

महोत्तरीको भंगहा नगरपालिका-१ कविलासाका रामगणेश महतो एकाबिहानै रामानन्द चौक आइसकेका थिए । बिहानै पुगेपछि काम भेटिहाल्छन् भन्ने उनको आश थियो । तर, तीन घण्टा चोकमा उभिँदा पनि काम नपाएको उनले सुनाए ।

३५ वर्षीय महतो लेबरको काम गर्छन् । काम पाएको दिन ७/८ सय रूपैयाँ कमाउँछन् । बुधबार काम नपाएपछि उनी निरास देखिए । उनले भने, ‘के गर्नु ? काम पाउनै मुस्किल छ । कहिले पाउँछु, कहिले पाउँदिन ।’ महिनामा १० देखि १५ दिन मात्र काम पाउने गरेको उनले सुनाए ।

५ वर्षमा नेताहरूले एक दिनलाई मात्र जनता सम्झिने गरेको उनको गुनासो छ । महतो भन्छन्, ‘चुनावका बेला नेताहरू ठूला-ठूला सपना बाँड्छन् । जितेर गएपछि केही गर्दैनन् । अहिले नेताहरू यो गर्छु, त्यो गर्छु भनिरहेका छन् । तर हामीलाई खै रोजगारी दिएको ?’

उनको घर महोत्तरी क्षेत्र नम्बर २ मा पर्छ । ‘यो क्षेत्रबाट सत्ता गठबन्धनबाट जसपा नेता शरतसिंह भण्डारी र एमाले–जसपा गठबन्धनबाट एमालेका डा. रामपरीक्षण यादव लगायतका नेताहरू चुनाव लडेका छन्, ‘महतो भन्छन्, ‘कसैले रोजजारी दिन्छु भनिरहेका छैनन् ।’

‘तीन छोरा-छोरी छन् । धेरै कष्ट झेलेर स्कूल पढाउँछु’, महतोले थपे, ‘जसोतसो गरी कमाएपछि फी बुझाउँछु । म त नेताहरूलाई भन्छु उद्योगहरू खोलेर हामीलाई रोजगारी दिनुस्, अनी भोट दिन्छु ।’

महतोजस्तै चोकमा काम खोज्दै आउने युवाहरू अधिकांस रित्तो हात फर्किन्छन् । पिपरा गाउँपालिका-६ रतौलीका रामअसेश्वर मुखिया पनि त्यत्तिकै फर्किए । ६ दिनदेखि काम नपाएको उनले सुनाए ।

‘६ जनाको आश्रम छ । यहाँ काम खोज्न आउँछु तर पाइँदैन । खान पनि समस्या छ’, उनले दु:खेसो पोखे, ‘पैसाको अभावमा बच्चा विद्यालय पढ्न पाएका छैनन् ।’ पानीको अभावमा खेत पनि मरहन्ना गयो (उब्जेन), उनले थपे ।

२० वर्षदेखि भोट हालिरहेका उनको गुनासो छ, ‘चुनाव आएपछि रोजगारी दिन्छु त भन्छन् । तर, जितेर गएपछि अर्को चुनाव नआउन्जेल कोही आउँदैन ।’

‘नेताहरू सिँचाई र मलखादको व्यवस्था गरिदिएको भए खेती गरेर पनि गुजारा चल्थ्यो’, मुखिया भन्छन्, ‘न खेतीपानीका लागि सोचिदिएका छन्, न रोजगारी दिएका छन् ।’ रोजगारी दिन नसके कम्तीमा सिँचाइ, मलखाद र बीउबिजन समयमा दिनुपर्ने उनको माग छ ।

लोहरपट्टीका अन्दाजी-५० वर्षीय कन्हैया दास ९ वर्ष कतारमा बिताए । तीन वर्षअघि घर फर्केका उनी अहिले बनिबुतो गरेर गुजारा चलाउँछन् । भन्छन्, ‘म पढेलेखेको छैन । मजदुरी गरेर परिवार पाल्छु । म नेताहरूलाई एउटै कुरा भन्छु कि हाम्रो छोरा-छोरीहरू कसरी अगाडी बढ्छन् सोचिदिनुस् ।’

‘कहिले काँकी मात्र काम भेटिन्छ । नभए बसेर दिन काट्नुपर्छ । त्यसैले मानिसहरू खाडी मुलुक जान बाध्य छन्’, उनले भने, ‘तर त्यहाँ कति परिश्रम गर्नुपर्छ के थाहा ? त्यो पीडा त मैले झेलेको छु । हामीजस्ता गरिब अनपढलाई देशभित्रै रोजगारी दिनुस् ।’

गौशाला नगरपालिका-४ महोत्तरीका अजय साह १५ वर्षदेखि काम खोज्न जनकपुरधाम आउँछन् । कुनै महिना १० त कुनै महिना २० दिन उनले पनि काम पाउँछन् । काम पाएको ७/८ सय रूपैयाँ आम्दानी गर्छन् उनी । त्यो बाहेक उनीसँग आम्दानीको अन्य स्रोत छैन ।

हरेक चुनावमा गाँस, बाँस, कपास दिने वाचा गर्ने नेतासँग उनको प्रश्न छ, ‘अहिलेसम्म कुन सुविधा दिनुभयो ? कति मानिसलाई रोजगार दिनुभयो ? जनतालाई कहिलेसम्म ठग्ने ?’

गरिब र मजदुरको लागि काम गरेर विश्वास दिलाउनेलाई भोट दिने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर