यूएईविरुद्ध दीपेन्द्र-ललितको उत्कृष्ट प्रदर्शन, गर्लान् सन्दीपको अभाव पूर्ति ? – Nepal Press

यूएईविरुद्ध दीपेन्द्र-ललितको उत्कृष्ट प्रदर्शन, गर्लान् सन्दीपको अभाव पूर्ति ?

काठमाडौं । यूएईविरुद्धको घरेलु शृङ्खलामा नेपालको सबैभन्दा ठूलो चिन्ता थियो, स्पिन बलिङ । नेपालको प्रमुख हतियारका रूपमा रहेको स्पिन आक्रमण सन्दीप लामिछानेको अनुपस्थितिमा कमजोर बन्न सक्ने आँकलन गरिएको थियो । तर, शुक्रबार सम्पन्न यूएइविरुद्धको एक दिवसीय शृङ्खलामा चाहिँ सन्दीपको अभाव धेरै खट्किएन ।

नेपालले २–१ ले एकदिवसीय शृङ्खलामा विजय हासिल गर्दा फेरि पनि प्रमुख अस्त्रका रूपमा स्पिन बलिङले नै काम गर्‍यो । सन्दीपको ठाउँमा विशेषज्ञ स्पिनरका रूपमा टिममा समावेश गरिएका ललित राजवंशीले सोचेभन्दा राम्रो प्रदर्शन गरे । साथमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको पनि उस्तै योगदान रह्यो ।

ललित लामो समयदेखि नेपालको राष्ट्रिय टिममा आउने–जाने भइरहेका छन् । प्रदर्शनमा एकरूपमा नहुँदा र सधैँ दुई स्पिनर खेलाउने परिस्थिति नहुँदा उनले टिममा स्थान बनाउन कठिन भइरहेको थियो । तर, सन्दीपको करिअर अनिश्चिततातर्फ धकेलिएपछि ललितमाथि नेपालको स्पिन बलिङलाई नेतृत्व दिने अभिभारा आइपरेको छ । उपलब्धमध्ये उनी सबैभन्दा अनुभवी र सिनियर स्पिन बलर हुन् ।

यूएईविरुद्धको शृङ्खलामा ललितको बलिङ आँकडा निकै लोभलाग्दो छ । ३ म्याचमा ३० ओभरको फुल कोटा बलिङ गर्ने उनी नेपालका एक मात्र बलर हुन् । त्यसमा केवल ९७ रन खर्चिएर ४ विकेट लिन उनी सफल भए । उनले प्रतिओभर मात्र ३.२३ रन खर्चेका थिए ।

त्यसो त अलराउन्डर दीपेन्द्रसिंह ऐरीको प्रदर्शन अझै उत्कृष्ट छ । उनले २५ ओभर बलिङ गर्दा ७३ रन मात्रै खर्चिएर चार विकेट लिए । उनले प्रतिओभर २.९२ रन मात्रै खर्चिएका थिए ।

विशेषज्ञ ब्याट्सम्यानका रूपमा टिममा स्थापित ऐरी पछिल्लो समय बलिङमा पनि उत्तिकै जमिरहेका छन् । सन्दीपको अनुपस्थितिका बाबजुद दीपेन्द्र र ललितको जोडीले नेपालको स्पिन आक्रमण मजबुत तुल्याएको छ । साथमा कुशल भुर्तेलले पनि पार्ट टाइम बलिङ गरेर सघाइरहेका छन् ।

बरु अहिले नेपालले फास्ट बलिङमा चाहिँ चिन्ता लिनुपर्ने भएको छ । प्रमुख फास्ट बलरहरू सोमपाल कामी र करण केसीको प्रदर्शनमा एकरुप छैन ।

यूएईविरुद्ध टिममा समावेश गरिएका गुल्शन झा पनि कच्चा नै छन् । यदि फास्ट बलिङमा पनि सुधार आएको खण्डमा नेपालले कुनै पनि टिमको ब्याटिङलाई धराशायी बनाउन सक्ने क्षमता राख्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर