‘भर्जिन’ ठाउँहरुमा पुग्ने सिज्जुले देखेको मोहिनी दुनियाँ – Nepal Press

‘भर्जिन’ ठाउँहरुमा पुग्ने सिज्जुले देखेको मोहिनी दुनियाँ

सोलो ट्राभलर सिज्जु भन्छिन् : केटाहरु रक्सी र चुरोट अनि केटीहरु मेकअपमा खर्च कटौती गर, यात्रा सम्भव छ

काठमाडौं । एक यायावर, एक यात्री अर्थात् सोलो ट्राभलर । समग्रमा एक घुमन्ते !

सृजना सिज्जुको सरदर परिचय यत्ति नै हो । नयाँ ठाउँ पुग्नु, नयाँ नयाँ मान्छे भेट्नु । ती मान्छेका निर्दोष चेहरामा जीवनको सुगन्ध पहिल्याउनु । अनकन्टारमा फुलेको कुनै वन फूल झैं फुलिरहेका ती मान्छेका न्यानो प्रेममा लुटपुटिनु ।

कोही कसैले परख गर्न नसकेको कस्तुरीको विणाजस्ता वास्नादार ठाउँहरुमा घण्टौं बरालिनु । प्रायः कसैले नछोएको, कसैले नदेखेका फूलहरुमा पुतली जसरी झुम्मिनु, भुलिनु । प्रायःले नहिँडेको बाटोमा आफ्नै पैतालाको ‘टक्ट-क्’ आवाजमा मुग्ध हुँदै यात्रा गर्नु । प्रकृतिको रहस्यमय सौन्दर्यमा कहींकतै हराइरहनु, बहकिरहनु, रुमल्लिरहनु !

उफ ! उमेरका हिसाबले पुगनपुग साढे दुई दशकमा हिँडिरहेकी सिज्जु कहाँ कहाँ पुगिन्, उनैलाई थाहा छैन । जहाँ जहाँ पुगिन्, त्यस ठाउँबारे धेरैलाई थाहा छैन । सिज्जुलाई थाहा भएको एकैथोक छ, उकुसमुकुस भएर छटपटिइरहेको शहर र मान्छेको भीड छाडेर हिँडेको दिन चराका गीत सुन्न पाउँछिन् । झरनाका संगीत सुन्न पाउँछिन् ।

उपल्लो डोल्पाका कुनाकन्दरा पुगेकी छन् । जुम्लाका खोंच र पहाडहरुमा तल-माथि गरेकी छन् । लोबुचे हिमालको टुप्पो टेकेकी छन् । मर्दी ट्रेक, से-फोक्सुण्डो, रारा ताललगायत त उनका लागि आँगन जस्तै हुन् । तालहरु उनलाई घरै मुन्तिरको पँधेरोजस्ता लाग्छन् । जहाँबाट मनलाग्दी सौन्दर्य उघाएर ल्याउँछिन् । भिडियो बनाएर दर्शकलाई पस्किन्छिन् ।

‘थकान पनि बाटोअनुसार लाग्दोरहेछ’, भर्खरै भारतको हरिद्वार पुगेर आएकी सिज्जु सुनाउँछिन् ।

अझै पर केही न केही छ भन्दै गरिएको यात्रामा थकान महसुस नै हुँदैन । अनि नयाँ ठाउँमा पुग्दाखेरी लाग्छ, अहो ! म यहाँ हिँडेर आएँ कि उडेर पो आएँ ?

भनिन्छ, कतै लामो यात्रामा निस्कँदाखेरी यात्रा पीडादायी हुन्छ । थकानले जीउ थिलथिलो हुन्छ । खुट्टाहरु सुन्निन्छन् । किन आइएछ झैं लाग्छ । जब यात्राबाट फर्किसकेपछि त्यो दुखाइसहितको यात्रालाई सम्झिइन्छ, यसैयसै रोमाञ्चकता थपिएर आउँछ । सम्झँदाखेरी मात्रै यात्रा मजेदार लाग्छ ।

सिज्जुको अनुभव भने फरक छ । भन्छिन्, ‘एकदमै दबाब महसुस गरेपछिको थकानमात्रै सकसपूर्ण हुन्छ । तर, कुनै उचाइ अथवा विन्दुमा पुगिसकेपछिको थकानलाई थकान भन्नै मिल्दैन । हिँडिरहँदा बीच बाटोबाटै फर्किउँ–फर्किउँ लाग्छ । तर, अझै पर केही न केही छ भन्दै गरिएको यात्रामा थकान महसुस नै हुँदैन । अनि नयाँ ठाउँमा पुग्दाखेरी लाग्छ, अहो ! म यहाँ हिँडेर आएँ कि उडेर पो आएँ ?’

०००

आफूले गरेको यात्राको शर्ट क्लिपहरु टिकटकमा अपलोड गर्छिन् उनी । त्यही क्लिपहरु भाइरल बन्दिन्छन् । मान्छेहरु सोध्छन्, ‘कसरी पुग्ने त्यहाँ ? खर्च कति लाग्छ ?’

सिज्जुको सिम्पल जवाफ हुन्छ, ‘केटाहरुले रक्सी र चुरोट खाने बजेट जोगाऊ । केटीहरुले मेकअपमा खर्च कटौती गर । क्लब र पबमा नाच्दा वा हजारौंको लेहेंगा लगाएजस्तो महँगो छैन यात्रा ।’

सिज्जुसित टिकटकमा मात्रै डेढ लाख फलोअर्स छन् । युट्युबमा ६२ हजारमाथि सब्सक्राइबर छन् । अन्य सामाजिक सञ्जालमा हजारौं फलोअर्स छन् । ती सबै सबै सिज्जुले एकल-यात्रा गरेर कमाएकी हुन् । अर्थात् सोलो ट्राभल ।

सिज्जुको सोलो ट्राभलको कथा भने चार वर्षअघिबाट सुरु हुन्छ । उनी वन विज्ञानकी विद्यार्थी । एक प्रोगामअन्तर्गत १५-२० दिन उपल्लो डोल्पा जाने भइन् । ग्रेट हिमालयन ट्रेलको यात्रामा निस्कने भइन् । साथमा अन्य सदस्यहरु पनि थिए । चिनेका दाइहरुमार्फत् उक्त अवसर पाएकी थिइन् ।

त्यही उपल्लो डोल्पाबाट सुरु भएको सिज्जुको यात्राको कथा अहिले देशका कुनाकाप्चा हुँदै भारतसम्म पुगिसकेको छ । तर, सिज्जुले सिर्जेको यो कथाको क्लाइमेक्स कतिवेला आउँछ, उनैलाई यकिन छैन । सिर्फ कथा लेखिरहेकी छन् ।

केटाहरुले रक्सी र चुरोट खाने बजेट जोगाऊ । केटीहरुले मेकअपमा खर्च कटौती गर । क्लब र पबमा नाच्दा वा हजारौंको लेहेंगा लगाएजस्तो महँगो छैन यात्रा ।

०००

अहिलेको भर्चुअल दुनियाँमा मान्छेहरुलाई लाग्छ- सामाजिक सञ्जालमा देखिएका मान्छेमात्रै मान्छे हुन् । सामाजिक सञ्जालमा मान्छेहरुले देखाउने जीवनशैलीमात्रै खास हो । त्योभन्दा अर्को संसार नै छैन ।

सिज्जु सुनाउँछिन्, ‘दुनियाँ सञ्जालमा मात्रै सीमित छैन । सञ्जालमा देखिएका मात्रै मान्छे होइनन् । यो दुनियाँ जति विशाल छ, त्यति धेरै मान्छेले सुन्दर जीवन बाँचिरहेका गाउँठाँउ छन् ।’

सञ्जालभन्दा पर त्यस्ता ठाउँ पनि छन्, जहाँ मोबाइल चल्दैन । जहाँ नेटवर्क टिप्दैन । त्यस्ता ठाउँमा पनि मान्छेले आनन्दले जीवन चलाएका छन् । खुशी छन् । शान्त छन् । युगौंदेखि शानदार जीवन बाँचेर आएका छन् । सडक नहोला, सवारी नहोला, विकासका सुविधाहरु नहोलान् । तर, जीवनको खास सौन्दर्य त्यही नै छ ।

‘१५-२० दिनको पहिलो यात्रामा धेरै संघर्ष गरियो । के बोक्नुपर्छ, के खानुपर्छ थाहा थिएन । दैनिक १४-१५ घण्टा हिँड्यौं’, सिज्जु सुनाउँछिन्, ‘पहिलोपटक पाँच हजार मिटरमाथि पुग्दा मलाई पिरियड भएको थियो । त्योभन्दा अगाडि त्यति माथि चुचुरोमा पुगेको थिएन । तर, जब पुगें अनि लाग्यो म त सगरमाथा नै चढ्न सक्छु । थोरै संघर्ष गर्दा यात्रा गर्न सकिँदोरहेछ ।’

अहिले त सिज्जुसित ड्रोन छ । क्यामेरा छ । उनी भिडियो भ्लग बनाउँदै युट्युबमा हाल्छिन् । तिनै भिडियोहरुले पनि सिज्जुलाई धेरै मान्छेसम्म पुर्‍यायो । तर, उनी त एक यात्री ! नयाँ-नयाँ ठाउँमा पुगेर त्यसको मजा लिने घुमन्ते ! क्यामेराको बटम अन गरेर हिँड्दा आँखाले नै साक्षात परख गर्नुपर्ने धेरै चिज छुटेजस्तो लाग्दैन ?

दुनियाँ सञ्जालमा मात्रै सीमित छैन । सञ्जालमा देखिएका मात्रै मान्छे होइनन् । यो दुनियाँ जति विशाल छ, त्यति धेरै मान्छेले सुन्दर जीवन बाँचिरहेका गाउँठाँउ छन् ।

सिज्जु सुनाउँछिन्, ‘कहिलेकाहीं त भिडियोहरु बनाइरहँदा साँच्चै केही छुट्यो कि लाग्छ । केही इक्युपमेन्ट नबोकी यात्रा गरुँ लाग्छ । त्यसैले म पुगेको ठाउँमा एक दुई घण्टा हेरेर बसेपछि मात्रै भिडियो खिच्छु । काठमाडौं आएर फुटेजहरु हेर्छु । पचास प्रतिशत थप आनन्द लाग्छ । सबैलाई सायद यस्तै लाग्छ । तर, म पुगेको ठाउँ अरुलाई पनि देखाउनु भनेको त्यस ठाउँमा अरुलाई पनि पुर्‍याउनु जस्तै हो नि !’

०००

सिज्जु आफूलाई रेगुलर यात्री त मान्दिनन् । कलेजबाट बिदा मिलाएर, समय व्यवस्थापन गरेर डुल्न निस्किन्छिन् । चारपाँच दिन बिदा हुनै हुँदैन, कतै घुम्नलाई तयार भइहाल्छिन् ।

यात्रामा खर्च पनि निकै हुन्छ । केही समयअघि डोल्पामा एक महिना बसिन् । बाटोमा पहिरो गएको थियो । गाडीमा जाँदा ड्रोन, क्यामेरा लिएर जानुपर्दा पनि खर्च नै हुन्छ । प्लेन पनि चढ्नै पर्‍यो ।

अहिलेसम्म सिज्जु पुगेका ठाउँहरुमा भने सक्दो सहयोग पाइरहेकी छन् । डोल्पाको जुन ठाउँमा पुगे पनि उनलाई त्यहाँका मान्छेहरुले साथ दिन्छन् । सिज्जुलाई पनि डोल्पालीहरु खुब प्रिय लाग्छ । ‘भर्जिन’ ठाउँहरुमा पुग्दा झनै धेरै गाउँलेको माया पाइरहेकी हुन्छिन् । त्यो माया पनि यात्राका लागि ऊर्जा हो सिज्जुको ।

सुरुसुरुमा त घरमा पनि अलिअलि पैसा मागिन् । पछिल्लो समय उनी पुगेको ठाउँमा दुई गाँस भात र एक रातको बास पाइहाल्छिन् । उनी पुग्छिन् नै त्यस्तो ठाउँमा, जहाँ जोकोही हत्तपत्त पुगेका हुँदैनन् । गाउँलेले पनि एक रात त हो, एक छाक त हो भनेर गाँस र बास दिन्छन् ।

सिज्जुले खर्च नै नगरेको भने होइन । एक महिना डोल्पामा बस्नुपर्दा पचास हजारसम्म तिरेकी छन् ।

सञ्जालभन्दा पर त्यस्ता ठाउँ पनि छन्, जहाँ मोबाइल चल्दैन । जहाँ नेटवर्क टिप्दैन । त्यस्ता ठाउँमा पनि मान्छेले आनन्दले जीवन चलाएका छन् । खुशी छन् । शान्त छन् । युगौंदेखि शानदार जीवन बाँचेर आएका छन् ।

०००

सिज्जुलाई मान्छेहरु धेरै आवतजावत गर्ने ठाउँमा जान मन लाग्दैन । पश्चिम रुकुमकी उनले पूर्वी रुकुममा धेरै भर्जिन ठाउँहरु ‘एक्सप्लोर’ गरेकी छन् ।

यात्राका क्रममा एकदमै राम्रा मान्छेहरु पनि भेटेकी छन् । सिज्जुको नयाँ यात्रुसँगको अनुभव छ, ‘यात्रा गर्नेहरुले नराम्रो व्यवहार गर्दैनन् । खास यात्रा नै गर्न हिँडेकाहरु निःस्वार्थ छन् । एकदमै चाँडो घुलमिल हुन्छन् । केही कुराको इगो हुँदैन । त्यसको कारण भनेको प्रकृतिको शक्ति र सौन्दर्य नै हो ।’

कहिलेकाहीं त सिज्जुलाई आफू पुगेको राम्रो ठाउँमा उतै रहुँ जस्तो पनि लाग्छ । तर, सोच्छिन्, मैले पुग्नु त धेरै टाढासम्मै छ, रोकिएर हुन्न ! अनि फेरि यात्रामा निस्किन्छिन् ।

डोल्पाका मान्छेले आफ्नो समस्या नेतालाई सुनाउँछन् । मुगुकाले सुनाउँछन् । तर, नेताहरु हेलिकोप्टरमा जान्छन् । एकपटक त्रिवेणीको बाटो हुँदै नेतालाई डोल्पा पुर्‍याइदिउँ न, अनि सबै थाहा हुन्छ ।

आसन्न चुनावमा गाउँमा भोट हाल्न हिँडेकी सिज्जुले जाँदाजाँदै भनिन्-

उनीहरु त त्यस्तो ठाउँमा बसेका छन् भने अरुले बस्न नसक्ने भन्ने हुँदैन । मान्छेलाई सुविधा चाहिएको छ । हामीलाई देखाउनु छ । भर्खरै भारतको यात्रा गरें । त्यहाँ माटो र बाटो दुवै दामी छ । म पुगेका भर्जिन ठाउँहरुमा शिक्षा र बाटो भइदिए हुन्थ्यो लाग्छ । कर्णालीमै पनि एक महिना पानी परेर पहिरो जाँदा दुःख भोगें । मान्छे एयरपोर्टमा रोइरहेका थिए । तर, सामान्य नागरिकले पाउने सुविधा भए त्यस्तो अवस्था हुँदैन थियो ।

कर्णालीको समस्या बुझ्नु छ भने त्यहाँ मान्छे पुग्नपर्छ । नपुगेर हुँदैन । कुनै ठाउँमा मान्छे गएर नबसेसम्म त्यहाँका मान्छेको दुःख महसुस हुँदैन । डोल्पाका मान्छेले आफ्नो समस्या नेतालाई सुनाउँछन् । मुगुकाले सुनाउँछन् । तर, नेताहरु हेलिकोप्टरमा जान्छन् । एकपटक त्रिवेणीको बाटो हुँदै नेतालाई डोल्पा पुर्‍याइदिउँ न, अनि सबै थाहा हुन्छ ।

अर्कातिर हाम्रो पर्यटन मन्त्रालयमा जाँदा सगरमाथा, से-फोक्सुण्डो, राराबाहेक अर्को ठाउँबारे छैन । तर, हामीसँग पर्यटकलाई एक वर्ष भुलाउने कत्ति धेरै ठाउँहरु छन् । त्यसलाई बाहिर ल्याउनुपर्‍यो नि ! कत्तिले नेपालको ‘भर्जिन’ ठाउँहरुलाई बाहिर नल्याएर त्यस्तै रहन दिनु भन्छन् । तर, त्यसको प्रयोग गरेपछि संरक्षण पनि त गर्नुपर्‍यो नि !

०००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर