सन्दीपविनाको क्रिकेट श्रृंखला : आत्मविश्वास ब्युँताउने जित – Nepal Press

सन्दीपविनाको क्रिकेट श्रृंखला : आत्मविश्वास ब्युँताउने जित

काठमाडौं । सन्दीप प्रकरणपछि स्तब्धतामा रहेको नेपाली क्रिकेटलाई पुनर्ताजगी दिँदै नेपालले यूएईविरुद्धको एक दिवसीय श्रृंखला जितेको छ । घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वीलाई २-१ ले हराउने क्रममा नेपाली खेलाडीहरूले लडाकु स्वभाव प्रदर्शन गरे ।

३ म्याचको श्रृंखला नेपालले निराशाजनक हारबाट सुरू गरेको थियो । पहिलो म्याचमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गरेको नेपालले दोस्रो म्याचमा प्रतिस्पर्धात्मक जित दर्ता गर्‍यो । तेस्रो म्याचमा भने नेपाल यूएईमाथि पूरै हाबी हुँदै सहज जित निकालेको हो ।

यो श्रृंखला नेपालका लागि यस कारण पनि महत्वपूर्ण थियो कि लामो समयदेखि नेपाली टीमका प्रमुख हतियार बनिरहेका बलर सन्दीप लामिछाने टीममा थिएनन् । र, सायद अब उनको सेवा नेपालले भविष्यमा पाउँछ वा पाउँदैन भन्ने पनि टुंगो छैन । नेपाल क्रिकेट संघले राष्ट्रिय टीमको जिम्मेवारी २० वर्षीय खेलाडीको कलिलो काँधमा राखिदिएको छ । टीममा पनि धेरै फेरबदल भएको छ । त्यसैले यूएईविरुद्धको श्रृंखला टीमको लागि कठीन परीक्षा थियो ।

तीनवटै खेलमा नेपालको प्रदर्शनलाई समग्रमा मूल्यांकन गर्न सन्तोष मान्न सकिने धेरै ठाउँहरू छन् । पहिलो खेलमा सन्दीपको अभाव खट्किएकै हो, जब यूएईले नेपाललाई २६४ रनको चुनौतीपूर्ण लक्ष्य तेस्र्यायो । प्रमुख फास्ट बलरहरू सोमपाल कामी र करण केसी फेल हुँदा नेपाललाई सन्दीपको खाँचो परेको थियो । स्पिनरको भूमिकामा ललितसिंह राजवंशीले सक्दो मिहिनेत गरे पनि सन्दीपको जस्तो धार नहुँदा विकेट लिन सकेनन् । बरु अलराउन्डर दिपेन्द्र सिंह ऐरीले कसिलो बलिङ गरे ।

सो म्याचमा नेपालको ब्याटिङ पनि चलेन । ओपनर अर्जुन साउद र मध्येक्रमका दीपेन्द्रले अर्धसतक बनाए पनि अन्य ब्याट्सम्यानहरूको साथ नपाउँदा टीमलाई जितको बाटो देखाउन सकेनन् । नेपाल ८४ रनको फराकिलो अन्तरले पराजित भयो ।

पहिलो म्याच गुमाइसकेपछि नेपालका लागि दोस्रो म्याचमा गर वा मरको अवस्था थियो । यो म्याचमा नेपालले संघषपूर्ण जित हात पार्न सफल भयो । टस जितेर ब्याटिङ राजेको यूएईलाई नेपाली बलरहरूले १९१ रनमा समेट्न सफल भए । पहिलो म्याचको तुलनामा नेपालको बलिङ निकै धारिलो देखिएको थियो दोस्रो म्याचमा । फास्ट बलर सोमपाल कामी र स्पिनर ललितसिंह ऐरीले ३-३ विकेट लिए । एकप्रकारले भन्दा ललितले सन्दीपलाई बिर्साउने प्रदर्शन गरे ।

घरेलु मैदानमा १९२ रनको लक्ष्य नेपालका लागि ठूलो नहुनुपर्ने थियो, तर नेपाली ब्याटिङ सुरुमै धर्मरायो । १३ रनमा दुवै ओपनर गुमाएपछि दवावमा आएको नेपाललाई ज्ञानेन्द्र मल्लले सम्हाल्ने प्रयास गरे । तर, उनी पनि आउट भएपछि नेपाल पराजयउन्मूख देखिएको थियो । १०६ रनमै ६ विकेट गुमाएको नेपालको उद्दारमा खडा भए आरिफ सेख र गुलशन झा । आरिफका लागि यो भूमिका नयाँ होइन । बारम्बार नेपाललाई अप्ठेरो स्थितिबाट माथि उकास्न उनी अभ्यस्त छन् । गुलशनको इनिङ भने नेपालका लागि सरप्राइज प्याकेज झैं बन्यो । बलरको भूमिकामा टिममा समावेश गरिएका उनले नेपालका लागि सर्वाधिक ३७ रन बनाएर आउट भए ।

सो म्याचमा कुशल भुर्तेलको प्रदर्शनलाई पनि बिर्सिन मिल्दैन । ओपनरको भूमिकाबाट हटाएर छैटौं नम्बरमा ब्याटिङ गर्न पठाइएका कुशलले कठिन अवस्थामा ३५ रन बनाउँदै नेपाललाई म्याचमा टिकाएका थिए । नेपालले ४७.३ ओभरमा ३ विकेटको साँघुरो जित निकाल्यो । यस जितले नेपालको आत्मविश्वासलाई बुलन्द बनाइदियो ।

आज भएको तेस्रो म्याचमा नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । नेपालका कुनै पनि बलरमाथि यूएईका ब्याट्सम्यान हाबी हुन सकेनन् । फलतः यूएई ९३ रनमै ९ विकेट गुमाएर संकटपूर्ण स्थितिमा पुग्यो । १०० रनिभित्रै समेटिने अवस्था देखिएको यूएईलाई १७ वर्षीय ब्याट्सम्यानले साहसिक इनिङ खेल्दै उद्दार गरे । आठौं नम्बरमा आएका आयान अफजल खानले ११ औं नम्बरका हजरत बिलालसँग अविजित साझेदारी गरे । १९ ओभरसम्म टिकेका उनीहरूबीच ८३ रनको साझेदारीपछि यूएईले नेपालालई १७७ रनको लक्ष्य पेश गर्‍यो । यो लक्ष्य नेपालका लागि ‘ट्रिकी’ पनि हुन सक्थ्यो । तर, अग्रपंतिका ब्याट्सम्यानहरूले सुझबुझपूर्ण पारी खेले ।

आजको खेलका ओपनर आसिफ सेखले ८८ रनको अविजित पारी खेल्दै म्यान अफ द म्याच बने, तर उत्तिकै महत्वपूर्ण भूमिका रह्यो ज्ञानेन्द्र मल्लको । यूएईका बलरले नेपालका ब्याट्सम्यानलाई पुरै दवावमा राखेका बेला ज्ञानेन्द्रले काउन्टरअट्याक गर्दै टिमलाई अघि बढाएका थिए । उनले चौका र छक्का हान्दै यूएईका बलरहरूको लयभंग गरिदिए । फलतः यूएई फेरि खेलमा फर्किन सकेन ।

आजको खेलमा जितको अन्तर अझ फराकिलो हुन सक्थ्यो यदि रनिङ विटविन द विकेटमा त्रुटि नगरेको भए । जितको औपचारिकता मात्रै बाँकी रहेको अवस्थामा आसिफले जोखिमपूर्ण रन लिन खोज्दा नेपालले कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीलाई गुमायो । यद्यपि, नेपालको जित सुनिश्चित भइसकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर