निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन, कुन निकायबाट कति ? – Nepal Press

निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन, कुन निकायबाट कति ?

काठमाडौं । सरकारले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष, सुरक्षित र भयरहित बनाउनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्रालयले निर्वाचन पूर्वको सुरक्षा, निर्वाचन अवधिको सुरक्षा र निर्वाचन पश्चातको सुरक्षाका लागि सुरक्षा अंगहरुलाई परिचालन गरिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा गृहसचिव विनोद प्रकाश सिंहले निर्वाचनका लागि ७५ हजार नेपाली सेना, नेपाल प्रहरी ७१ हजार भन्दा बढी, सशस्त्र प्रहरी ३५ हजार, अनुसन्धान विभागका दुई हजार र म्यादी प्रहरी १ लाख १५ हजार गरी करिब ३ लाखको जनशक्ति निर्वाचनको सुरक्षामा खटाइएको जानकारी दिए ।

उनले निर्वाचनलाई सफल बनाउनका लागि निर्वाचन विरोधी गतिविधिमा आफूहरूले शून्य सहनशीलताको नीति लिएको बताए । निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन त्यस्ता व्यक्ति र समूहमाथि निगरानी बढाएको उनले बताए । उनले निर्वाचनको समयमा साना हातहतियार प्रयोग गरी सुरक्षामा चुनौती हुने देखिएकाले प्रशासन कार्यालयमार्फत वैद्य हतियार एक हजार ८५४ थान र अवैध हतियार १७१ थान संकलन गरिएको बताए ।

त्यस्तै, प्रत्येक निर्वाचन क्षेत्रमा सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको र आचारसंहिताको अनुगमन गर्ने प्रवक्ता सिंहले बताए । त्यस्तै, मौन अवधिदेखि मतगणना सुरु नभएसम्मका लागि देशैभर मादकपदार्थ बेचबिखनमा प्रतिवन्ध लगाइएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर