अष्ट्रेलियामा नेपालको प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल सिड्नी’ हुँदै – Nepal Press

अष्ट्रेलियामा नेपालको प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल सिड्नी’ हुँदै

सिड्नी । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपालको प्रवर्द्धनात्मक नेपाल फेस्टिभल शनिवार हुने भएको छ । शनिवार १९ नोभेम्बरका दिन नेपालीहरूको घना बसोबास रहेको क्षेत्र बरउडको केन्द्र बरउडपार्कमा नेपाल फेस्टिभल गर्न लागिएको हो ।नेपाल फेस्टिभलमा नेपाली कला, संस्कृति, पहिरन, वाद्यवादनका साथै खाना, संगीत र पर्यटकीय स्थलहरूको प्रचार गरिनेछ ।

अष्ट्रेलियाको सिड्नीमै नेपालको झल्को दिनका लागि नेपाल हाउस निर्माण गरिने महोत्सवका संयोजक एवं गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले सम्पूर्ण तयारी पूरा भएको र शनिवार दिनभर मनोरञ्जनात्मक कार्यक्रमका साथै खानाका स्टलहरू, नेपाली व्यवसायीहरूले पाएको सफलताका कथाहरू नेपाल फेस्टिभलमा हेर्न पाइने बताए ।

औपचारिक उद्घाटन कार्यक्रममा अष्ट्रेलियाका राजनीतिक दलका प्रतिनिधिहरू पनि सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुनका लागि नै अष्ट्रेलियाका विभिन्न राज्यबाट समेत नागरिक समाजका अगुवाहरू सिड्नी आइपुगेका छन् ।

अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरूको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटाले यस किसिमको कार्यक्रम हरेक शहरमा गरेर यहाँको समुदायमा आफ्नो उपस्थिति जनाउने कार्य उदाहरणीय भएको बताए ।

उनले भने, ‘सन् २००६ बाट एनआरएनहरुले सिड्नीबाटै नेपाल फेस्टिभल सुरु गरेका थिए । अहिले यो सबै राज्यमा फैलिसकेको छ । अष्ट्रेलियाको बहु सांस्कृतिक समाजले यस्ता मेला महोत्सवलाई सम्बन्धित देशको खानाको स्वाद, पहिरन र सांस्कृतिक विविधता बुझ्ने अवसरको रूपमा लिने हुनाले नेपालको पर्यटन प्रबद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्छ । नेपाल गइसकेका अष्ट्रेलियनहरुले नेपालको झल्को यहाँ पाउँछन् भने नेपाल नगएकाहरूले जाने प्रोत्साहन महोत्सवमा पाउँछन् जस्तो लाग्छ ।’

यस पटकको नेपाल फेस्टिभलमा ५५ वटा स्टलहरू राखिएको छ भने यीमध्ये ९ वटा स्टल नेपाली खानाका परिकारहरूको रहेको छ ।

रेमिट्यान्सका अन्तर्राष्ट्रिय कम्पनी, अष्ट्रेलियाको सरकारी बैंकसहितका व्यापारिक घरानाहरूले नेपाल फेस्टिभलमा आफ्नो उपस्थिति जनाएका छन् ।

नेपाल फेस्टिभलका उपसंयोजक एवं एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल पछिल्लो समयमा अष्ट्रेलियन समुदायमा नेपालप्रतिको चासो बढेको पाइएको बताउँछन् ।

उनी भन्छन्, ‘नेपालीलाई मेहनती भनेर धेरैले चिनेका छन् । काम गर्ने ठाउँमा हाम्रो फेस्टिभल हुँदैछ त्यहाँ नेपाली स्वाद पस्कन्छौँ भन्दा उनीहरू मम चाख्न जानुपर्छ भन्दै आउने गर्दछन् । यस्तै नेपाली गीत संगीतले पनि उनीहरूलाई आकर्षित गर्ने गरेको छ ।’

यस पटकको नेपाल फेस्टिभलमा अष्ट्रेलियाका नेपालीमूलका कलाकारहरूका साथै नेपालको चर्चित गायक दीपक बज्राचार्य र रिदम ब्यान्ड, गायक प्रकाश सपुत, हास्य कलाकार सन्दीप क्षेत्री लगायतको प्रस्तुति समेटिएको छ ।

मञ्च र सांस्कृतिक कार्यक्रमको संयोजन गरिरहेकी एनआरएन अष्ट्रेलियाको ओसेनिया क्षेत्रीय महिला संयोजक उषा बारिया नेपाल फेस्टिभलमा सहभागी हुने दर्शकहरूले सम्पूर्ण मनोरञ्जन प्राप्त गर्ने बताउँछिन् ।

उनी भन्छिन् ‘अष्ट्रेलियामा अधिकांश नेपालीहरू विद्यार्थीको रूपमा आउनुभयो । उहाँहरू जति नै व्यस्त भए पनि नेपाली गीत संगीतलाई मन पराउनुहुन्छ र त्यसमै रमाउनुहुन्छ । यस पटक हामीले सबै उमेर समूहका नेपालीहरूलाई समेट्नका लागि त्यही अनुरूप कलाकार छनोट गरेका छौँ । शनिवार दिनभरि नेपाली गीत संगीतले बरउडको पार्क घन्किनेछ । तपाईंहरुलाई निम्तो छ । सकेसम्म एकजना विदेशी साथी पनि साथैमा लिएर आउनुभयो भने अझ रमाइलो हुनेछ ।’

महोत्सवको सुरुवातमा भने नेपाली पोसाकमा सजिएर विभिन्न झाँकीसहितको नेपाल फेस्टिभल परेड आयोजना गरिनेछ ।

परेड संयोजक सन्ध्या शाहले कुमारी, शिव पार्वती सहित नेपाली पोसाकमा सयौं नेपालीले परेडमा सहभागिता जनाउने निश्चित भइसकेको जानकारी दिएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर