चुनावअघि खुलेका कलाकार : कसले कसलाई भोट मागे ? – Nepal Press

चुनावअघि खुलेका कलाकार : कसले कसलाई भोट मागे ?

काठमाडौं । भन्ने गरिन्छ, कलाकार राष्ट्रका गहना हुन् । जनताका साझा सम्पत्ति हुन् । त्यसैले उनीहरुले राजनीतिक विषयमा पक्षधरता लिनु जायज मानिँदैन । तर, सबै कलाकारले यो मान्यता स्वीकारेर बस्दैनन् ।

अरु देशमा जस्तै नेपालमा पनि थुप्रै कलाकार एउटा एउटा पार्टीको फेरो समातेर सक्रिय राजनीतिमा व्यस्त छन् । अनि कतिपय चाहीँ कलाकारितामै रहेर विभिन्न राजनीतिक पार्टीको पक्षपोषण गरिरहेका छन् । आमचुनाव २०७९ नजिकिँदै गर्दा धेरै कलाकारहरुको राजनीतिक पक्षधरता खुलेको छ । सामाजिक सञ्जालमार्फत कसैले पार्टीका लागि त कसैले व्यक्तिका लागि खुलेर भोट मागेका छन् ।

चुनाव आउन मात्र अब दुई दिन बाकीँ छ । आज प्रचारप्रसार गर्ने अन्तिम दिन । भोलिबाट मौन अवधि सुरु हुँदैछ । त्यसैले खुल्ने कलाकारहरु खुलिसके । यो अवधिमा नायक-नायिकादेखि गायकगायिका र डान्सरसम्मले सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक पक्षधरता खुलाएका छन् । भोट अपिल गर्ने क्रममा कोही घरदैलौ अभियानमा नै सामेल देखिए भने कोहीले भिडियोमार्फत आफ्नो मनपर्ने उम्मेद्वार र पार्टीलाई शुभकामना व्यक्त गरे । कोहीले सभामै प्रस्तुत भएर समर्थन जनाए त कोहीले पार्टीको गीतमा नाचेर हौसला प्रदान गरे ।

कुन कलाकारले कुन पार्टी र कुन उम्मेद्वारको पक्षमा आफ्नो र सम्पूर्ण देशवासीको अमूल्य मत मागे त ? आउनुस चर्चा गरौंः

करिश्मा मानन्धर

केही समय अघिमात्र एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर यतिबेला आफ्नो पार्टीका साथै राप्रपाबाट उठेकी अभिनेत्री रेखा थापाको लागि पनि भोट मागिरहेकी छिन् । आफू एमाले भएर अर्को पार्टीको उम्मेदवारलाई समर्थन जनाउँदा कतिपय त अचम्ममा परे । करिश्माले भने आफ्नो सामाजिक सञ्जालमार्फत कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै कलाकारिता नाताले थापाको लागि पनि भोट मागेकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका सम्वाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पु¥याउने हो । यो संघर्षमा सामेल योद्धा रेखा थापालाई भोट गर्न मोरङ जिल्लालाई आग्रह गर्दछु ।’

प्रदीप खड्का

राजनीतिक पार्टीलाई समर्थन गर्न र भोट माग्न सक्रिय भएर हिँडिरहेको कुनै एक कलाकारको नाम लिनुपर्यो भने अभिनेता प्रदीप खड्काको नाम पहिलो नम्वरमा आउँछ । केही दिन अघिमात्र खड्का अर्बपति विनोद चौधरीलाई भोट माग्न उनी नवलपरासी पुगेका थिए । बुधबार उनी अर्का उम्मेदवार गगन थापाको चुनावी घरदैलोमै उपस्थित देखिए । थापाले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा आफ्नो दाबेदारी प्रस्तुत गरेको भन्दै प्रदीपले उनको पक्षमा भोट मागिरहेका थिए । चौधरी र थापा दुवै कांग्रेस उम्मेदवार हुन् । फेरि आज उनले काठमाडौं-१ का उम्मेदवार पुकार बमलाई भेटेर समर्थन जनाएका छन् । बम राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका छन् ।

वर्षा सिवाकोटी

करिश्मा र प्रदीप पार्टीको लागि सक्रिय भएर हिडिँराख्दा अर्की अभिनेत्री वर्षा शिवाकोटी भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्न कोणसभामै पुगेकी थिइन् । पेप्सीकोलामा आयोजित कोणसभामा वर्षाले काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य रहेकी अधिवक्ता सोबिता गौतमलाई समर्थन जनाउँदै घण्टी उपहार दिइन् ।

आफू ललितपुर क्षेत्र नं. २ को मतदाता भएता पनि सोबिताले प्रस्तुत गरेका एजेन्डा, भिजन र सङ्कल्पहरू मन परेको कारण उनलाई हौसला प्रदान गर्न सभामै उपस्थित भएको उनको भनाइ थियो । कुनै पनि पार्टीको नभइ आफूले एक दक्ष उम्मेदवारलाई समर्थन जनाउनुपर्ने वर्षाको भनाई छ ।

रेश्मा घिमिरे

नायिका वर्षा सिवाकोटीले अधिवक्ता सोबिता गौतमलाई समर्थन जनाएको केही दिनमै मोडल रेश्मा घिमिरे पनि सोविताको चुनावी घरदैलो अभियानमा पुगिन् । ‘अब पालो युवा पिँढीको’ भन्दै रेश्माले सोवितासँगका तस्विरहरू आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गरिन् । उनले स्टाट्समार्फत नै गौतमलाई आफ्नो पूर्ण समर्थन रहने बताएकी छन् ।

केकी अधिकारी

अभिनेत्री केकी अधिकारी काठमाडौं क्षेत्र नं ४ का कांग्रेस उम्मेदवार गगन थापाका लागि अप्रत्यक्ष रूपमा भोट मागिरहेकी छिन् । प्रत्यक्ष रूपमा भोट दिनुस नभने पनि अधिकारीले आफ्नो सामाजिक सञ्जालमार्फत थापाको बयान गर्दै जितको अग्रीम शुभकामना दिएकी छिन् ।

उनी भन्छिन्, ‘मैले श्रद्धेय गगन थापा दाईलाई अलग-अलग समयमा विभिन्न माध्यमहरुबाट चिन्ने र बुज्ने मौका पाएकी छु । ती हरेक अमुल्य भेटहरुमा उहाँले दर्शाउनुभएको राष्टप्रतिको निष्ठा, नेपाली जनता प्रतिको सेवा तथा इमान्दारिता र संसद र संविधानप्रतिको लगाव र प्रतिबद्धता निकै नै प्रंशसनीय छ । लकडाउनजस्तो कठिन समयमा पनि एक असल जनप्रतिनिधिको रुपमा उहाँले देखाउनुभएको तदारुकता, साहस, संघर्ष र भूमिका हामी सबैको लागि प्रेरणादायी बनेको छ भन्दा अतियुक्त नहोला । नेपाली कला, साहित्य, संस्कुृति र चलचित्रप्रति पनि उहाँको विशेष अभिरुचि भएको मैले पाएकी छु । उहाँलाई जितको अग्रिम शुभकामना । ’

एलिना चौहान

नेपाली कांग्रेसका लागि भोट अपिल गर्नेमा पर्छिन्, नेपाली संगीत उद्योगकी चर्चित गायिका एलिना चौहान । आफ्नो सामाजिक सञ्जालमार्फ भिडियो पोष्ट गर्दै चौहानले कांग्रेसको लागि भोट मागेकी हुन् ।

उनले भिडियोमा प्रधानमन्त्री शेरबहादुर देउवा र देउवा पत्नी आरजु राणाबारे सुनेका सारा हल्लाहरु गलत लागेको र कलाकारको पक्षबाट सोच्ने देउवामात्र भएको दाबी गरेकी छिन् । उनले भनेकी छिन्, ‘सबैले उहाँहरुको नियत र आचरण खराब छ भन्नुहुन्थ्यो, तर त्यस्तो होइन रहेछ । खासमा हामी कलाकारहरुको मर्म कसैले बुझ्नुहुन्न जस्तो लाग्थ्यो । तर उहाँसँग भेटेर गफ गरिसकेपछि कोही रहेछ हाम्रो जस्तो महसुस भयो । उहाँले हामीलाई बोलाएर हाम्रो हितको कुुरा राख्नुभयो । त्यसैले मेरो भोट मात्र नेपाली कांग्रेसलाई ।’

कविता नेपाली

नेपाली सेलिब्रिटीहरु विभिन्न पार्टी र उम्मेदवारहरुको पक्षमा खुल्ने क्रममा चर्चित डान्सर वा भनौँ अहिलेकी भाइरल गर्ल कविता नेपालीले काठमाडौं ४ का एमाले उम्मेदवार राजन भट्टराईका लागि भोट अपिल गरेकी छन् । उनले एक भिडियो सन्देशमार्फत राजनलाई भोट हाल्न काठमाडौं ४ का जनतालाई अपिल गरेकी हुन् ।

संसदमा पठाउनका निम्ति राजन एउटा ‘पर्फेक्ट क्यान्डिडेट’ रहेको बताउँदै उनले भनेकी छन्, ‘हामीले राम्रो नीति निर्मातालाई छानेर भोट हाल्नुपर्छ । त्यसमाथि पनि हाम्रो देशको वैदेशिक कूटनीति एकदमै कमजोर छ । विश्व शक्तिहरूसँग सन्तुलित सम्बन्ध कायम गर्नका लागि हामीसँग परराष्ट्र विज्ञहरू चाहिन्छ । यसमा एमालेका राजन भट्टराई एकदमै राम्रो एक्सपर्ट हुनुहुन्छ । त्यसैले उहाँलाई भोट हालेर जिताउन अपिल गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *