सुकुम्वासीलाई सडकमा उतार्छु, सिंहदरबारसँग लड्छुः रेखा थापा (भिडिओ) – Nepal Press

सुकुम्वासीलाई सडकमा उतार्छु, सिंहदरबारसँग लड्छुः रेखा थापा (भिडिओ)

विराटनगर । कलाकारिताबाट राजनीतिमा हाम्फालेकी अभिनेत्री रेखा थापा आगामी प्रतिनिधिसभा चुनावका लागि मोरङको क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी छन् । उनको उम्मेदवारीले यहाँको चुनावी माहोल फरक र रोचक बनिरहेको छ ।

यसअघि गठवन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको भएपनि रेखाको प्रवेशपछि प्रतिस्पर्धा त्रिपक्षीय बनेको देखिन्छ । रेखा स्वयम् आफ्नो चुनावी माहोललाई लिएर उत्साहित छिन् । राप्रपाले प्रत्यक्ष चुनाव जित्नसक्ने आफ्ना उम्मेदवारहरुको सूचीमा राखेको छ रेखालाई ।

नेपाली चलचित्रमा नम्बर १ अभिनेत्रीको ट्याग भिरेकी रेखा के यो चुनावमार्फत राजनीतिको खुड्किलो उक्लिन सक्लिन् त ? त्यसको लागि त नतिजाकै प्रतिक्षा गर्नुपर्छ । मौन अवधि सुरु हुने अघिल्लो दिन नेपालप्रेसले उनीसँग गरेको कुराकानी यहाँ प्रस्तुत छः

तपाईंको चुनाव प्रचार-प्रसार कसरी चलिरहेको छ ?

असाध्यै राम्रोसँग चलिरहेको छ । २६ दिन २६ वटा वडामा हामीले घरदैलो कार्यक्रम गरेका छौं । गएका ठाँउहरुमा असाध्यै राम्रो भएको छ । कति स्थानहरुमा हामी पुग्न सकेनौं । किनभने यो क्षेत्र ठूलो छ । म पुग्न नसकेका घरका मतदातासँग माफी माग्न चाहन्छु । चाहेर पनि म तपाईंहरुकोमा पुग्न सकेको छैन । हामी धेरैभन्दा धेरै घरहरुमा पुग्न चाहन्थ्यौं तर सकिएन । म पुनः माफी माग्छु । जहाँ गयौं, त्यहाँ अत्यन्तै राम्रो भएको छ ।

यहाँ रिल लाइफबाट रियल लाइफमा आएर चुनावी दौडमा हुनुहुन्छ । यी दुईमध्ये कुन सजिलो रैछ ? बेकारमा यता आएछु जस्तो त भएको छैन ?

मैले बनाएको चलचित्र होस् या अभिनय गरेको चलचित्र । मेरा चलचित्रले रमाइलो मात्रै दिँदैनन् । सन्देश पनि दिएका छन् । मेरा हरेक चलचित्रका कन्टेन्टहरु समाज परिवर्तनका लागि छन् । म समाज परिवर्तनको परिकल्पना गर्ने नेपाली नागरिक हुँ । समाजका वेथितिविरुद्ध मेरा कन्टेन्टहरु छन् । त्यसैले अहिले यो क्षेत्र उ क्षेत्र भन्ने नै छैन ।

राजनीति जस्तो हुनुपर्ने हो, त्यस्तो नभएका कारण म राजनीतिमा आएको हो । यो देशको राजनीतिले मेरो पुस्तालाई डिस्टर्व गरेको छ । मलाई पनि दख्खल दिएको छ । राजनीति जस्तो हुनुपर्ने हो त्यस्तो नभएर जनताका असन्तुष्टीहरु छन् । ती असन्तुष्टीको सम्बोधन मैले नगरेर कसले गर्ने हो ? यसको विरुद्ध आवाज मैले नउठाएर कसले उठाउने हो ? मेरो पुस्ताको बाध्यता ठानेर म राजनीतिमा आएको हो । मलाई अहिले यही क्षेत्रमा सन्तुष्टी छ । रमाइलो लागिरहेको छ ।

रिलमा आवज उठाँउदा र राजनीतिमा आएर उठाउँदा के फरक पाउन भयो ?

व्यवहारमा रमाइलो लाग्यो । फिल्डमा मानिसहरुसँग भेटेर ‘आइकन्ट्याक्ट’ गर्न पाइरहेको छु । यहाँबाट परिवर्तन तत्काल सम्भव देखिएको छ । रुपान्तरण तत्काल सम्भव हुँदो रहेछ । राजनीति अजीवको कुरा रैछ भन्ने लागेको छ । राजनीतिले नेपाली जनतालाई बदनाम गराएको छ । नेपाली जनता परिवर्तन चाहँदैनन् भन्ने देखाइँदैछ । तर नेपाली जनता परिवर्तन चाहँदा रहेछन् । पार्टीको झण्डामुनि बस्ने केही विचौलियाहरुले पैसाको चलखेल गरेर भोट डाइर्भट गरिरहेका छन् । विचौलियाले पैसाको भरमा जनतालाई कब्जा गरेर राखेका छन् ।

मैले मेरो चलचित्रमा देखाएको छु । दमन वास्तविकतामा छ । अहिले पनि केही विचौलियाहरुले जनतालाई दमन गरेर राखेको मैले पाएँ । पैसाको बलमा जनतालाई दमन गरेको मैले भेटेँ, देखेँ । मैले देखेको दृष्य के हो भने अहिले पनि पैसाको बलमा जनताको भोट डाइभर्ट गरिरहेका छन् । तर मैले देखेको दृष्यलाई परिवर्तन गर्न चाहन्छु । यसैका लागि म चुनावी मैदानमा छु ।

तपाईंले अघि सारेका सात प्रतिबद्धता एउटा सांसदको स्थानबाट पूरा गर्नसक्ने खालकै छैनन् । एकदमै महत्वकांक्षी योजना अघि सार्नु भएको छ नि ?

कसरी पुरा हुन सक्दैन ? मैले युवासँग रेखा भनेको छु । म युवासँग नभएर कोसँग छु ? युवा साथीहरुको कुरा गर्न मैदानमा आएको हो । यो देशमा रोजगारी सृजना गर्ने हो । यही मुलुकमा काम गर्ने वातारण बनाउने हो । रेमिट्यान्सले धानेको मुलुकको विकल्प के हो ? हामीले विद्रोह नगरेर कस्ले गर्ने हो ? युवाको भावना युवाले बुझ्दैन ?

हामीले रोजगारी सृजना गर्ने योजना बनाएका छौ । मैले ४६ सालदेखि यही सपना देखेर आएको हो । तर पुरा भएन । पूरा गराउनका लागि म आएको हो । म परम्परागत राजनीति गर्न आएको होइन । सुरुमै परम्परागत राजनीति गर्ने मानिसलाई जस्तो प्रश्न नगर्नुस् । काम गर्ने अनुमति त दिनुपर्यो नि । म युवाहरुको अधिकार सुनिश्चत गर्न, लडाईं लड्न आएको हो । मैले काम गर्ने मौका त पाउनु पर्यो नि सम्भव छ कि छैन भनेर देखाउन त । काम गर्ने अनुमति नै नपाई कसरी म प्रुभ गरेर देखाउन सक्छु ? मैले काम गर्ने मौका त पाउनु पर्यो नि ?

यहाँले भूमिहीनलाई जग्गाको स्वामित्वको कुरा गर्नुभएको छ ? त्यो कसरी सम्भव हुन्छ ?

यो मुद्दा त मैले बच्चैदेखि उठाएको हो । सुकुम्वासीलाई कहिलेसम्म भोट बंैक बनाउने ? मेरो परिवार आफैं सुकुम्बासी परिवार हो । मेरो वुवाले पनि धनीपूर्जाका लागि कांग्रेसलाई जिताउनु भयो । एमालेलाई जिताउनु भयो । धनीपूर्जा पाइन्छ कि भनेर माओवादीलाई जिताएर पठाउनु भयो । यही धनीपूर्जाका लागि जिताएको हो । तर सुकुम्वासीलाई आश्वासन दिने र समस्या समाधान नगर्ने मात्रै देखिए ।

यो राजनीति केका लागि ? सुकुम्वासीको भावनामाथि खेलवाड गरेर भोट जित्ने अनि उनीहरुको सात पुस्ता पोस्नका लागि मात्रै सुकुम्वासीले भोट दिनुपर्ने ? सुुकुम्वासीको भोटबाट जित्ने अनि समस्या समाधान नगर्ने ? यो राजनीतिको लीला कहिलेसम्म चल्ने ? मैले यो समस्या समाधान गर्न विज्ञहरुसँग सल्लाह गरेको छु ।

मैले यो समस्या समाधान गर्नका लागि स्थानीय तहसँग सहकार्य र सिंहदरबारसँग संघर्ष गर्ने योजना बनाएको छु । म हरेक घरबाट दुई-चार जना सुकुम्वासी लिएर यो समस्या समाधान गर्न आन्दोलनमा जाने छु ।

तपाईंले प्रतिवद्धतापत्रमा भन्नु भएको छ- यहाँहरुले मत बदल्नुहोस्, म क्षेत्र बदल्छु । अब यहाँ आफैं त बदलिनु हुन्न नि ? केही समयअघि माओवादीमा हुनुहुन्थ्यो अहिले राप्रपाबाट चुनावी मैदानमा हुनुहुन्छ ।

यो प्रश्न मलाई कति वर्ष सोध्नुहुन्छ ? रेखा थापा भएका कारण, महिला भएका कारण यो सोधिरहनु भएको छ ? गठबन्धन भनेर ठगबन्धन गर्नेहरु, टाउकोको मोल तोक्नेहरु, आज कांग्रेस र माओवादीको झण्डा बोक्नेहरुलाई यो प्रश्न सोध्नु हुन्छ कि सोध्नुहुन्न ?

डाक्टर सुनिल शर्मा माओवादी हुनुहुन्थ्यो । उहाँ कांग्रेसमा आएको ८ वर्ष पनि भएको छैन । उहाँलाई यो प्रश्न गर्नुहुन्छ कि गर्नु हुन्न । उहाँ त माओवादीमा त्यत्रो हंगामा गरेर आउनु भएको होइन ? उहाँले माओवादीको आडमा नोवेल अस्पताल कब्जा गरेको होइन ? मैले सुनेको हो । अब उहाँ चुनाव हार्नु भो भने कता जानु हुन्छ भनेर सोध्नु हुन्छ ?

म जति बेला युवा थिएँ । त्यो बेला म मतदाता पनि थिइनँ । युवाहरु परिवर्तनको पक्षमा थिए । परिवर्तनका लागि शुभेच्छुक थिए । अहिले मलाई मनिषा दिदीले मत मागिरहनु भएको छ । एमालेको सदस्य भएर पनि करिश्मा दिदीले मलाई मत मागिरहनु भएको छ । के उहाँहरु राप्रपा हो ? त्यसैले मलाई यस्तो अवमूल्यन गर्ने प्रश्न नसोध्नुस् । म हिजो पनि राप्रपा थिएँ, आज पनि राप्रपा छु, भोलि पनि राप्रपा नै रहन्छु ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर