नेकपा एसको पहिलो परीक्षा: चौंथो पार्टीको लक्ष्य छोला कि ओलीले भने झैं होला ? – Nepal Press

नेकपा एसको पहिलो परीक्षा: चौंथो पार्टीको लक्ष्य छोला कि ओलीले भने झैं होला ?

गठबन्धनको आडले यी नेता सहज स्थितिमा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार नेपाल प्रेससँगको अन्तर्वार्तामा भनेका थिए, ‘माधव नेपालले पार्टीले बनाइदिएको हैसियत बिर्सेर एउटा पसल खोल्नुभएको छ । एमाले, कांग्रेस, माओवादी, जसपा, राप्रपा भएपछि एकदेखि पाँचौंसम्म त आउने उहाँको सम्भावना नै भएन । उहाँको प्रतिस्पर्धा राष्ट्रिय पार्टीभन्दा बाहिरकै हो ।’

ओली यतिमा रोकिएनन् । उनले नेकपा एसको आयु मंसिर ४ गतेसम्म मात्रै भएको भन्दै गल्ती स्वीकारेर फर्किनेलाई क्षमा दिएर पार्टीभित्र उचित जिम्मेवारी दिनेसमेत बताए ।

‘देश, जनता र पार्टीलाई विजयी बनाउने काममा लाग्नुस् । ४ गते माधव नेपालको पार्टीमा खिस्रिक पर्नुपर्ला । हिजो गल्ती गरेको भए पनि तपाईंहरुलाई क्षमा दिएर यथोचित जिम्मेवारी दिएर अगाडि बढ्छ’, उनको भनाइ थियो ।

ओलीले पछिल्लो समय चुनावी सभालाई सम्बोधन गर्दै माधव नेपाल नेतृत्वको नेकपा एस आगामी निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसक्ने दाबी गर्दै आइरहेका छन् ।

एमालेबाट विद्रोह गरेर पहिलोपटक नेकपा एस प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिँदैछ । सो पार्टी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनको आडमा चुनाव लडेको थियो । गठबन्धनकै सहयोगमा पोखरा महानगर र हेटौंडा उपमहानगरको नेतृत्वमा जितेर चार लाख २२ हजार ७३७ मत ल्याएको थियो ।

स्थानीय तह निर्वाचनमा गठबन्धनले धोका दिएको भन्दै अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत नेताहरु असन्तुष्ट बनेका थिए । तर, उनीहरुले पार्टीको अस्तित्व जोगाउन भए पनि गठबन्धनको विकल्प खोज्न सकेनन् ।

आगामी निर्वाचनअन्तर्गत १९ सीटमा उम्मेदवारी दिएको नेकपा एसले २० लाखभन्दा धेरै मत ल्याउने अध्यक्ष नेपालको दाबी छ । सत्ता गठबन्धनसँगको सीट बाँडफाँटका क्रममा प्रतिनिधिसभामा २० सीट पाए पनि रूपन्देही २ का उम्मेदवारको मनोनयन खारेज भएको थियो । राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ एक सीट जितेर समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत कटाउनुपर्छ ।

‘चौंथो शक्ति बन्नेछौं’

नेकपा एसका उपमहासचिव गंगालाल तुलाधर आफ्नो पार्टी संसदको चौथो शक्ति बन्ने दाबी गर्छन् ।

उनी भन्छन्, ‘गठबन्धन भएपछि हामी प्रत्यक्षमा पनि कमजोर हुने अवस्थामा छैनौं । हामीले देशभर चुनावी माहोलबारे बुझिरहेका छौं । समानुपातिकमा पनि राम्रो मत ल्याउँछौं ।’

पहिलो पटक चुनावमा सहभागी हुन लागेको भए पनि पार्टीको देशभर बलियो संगठन निर्माण भइसकेको उनको दाबी छ । ओलीले राष्ट्रिय पार्टी बन्दैन भनेर भन्नुको अर्थ नभएको उनले बताए ।

स्थानीय तहमा जस्तो अहिले ‘भोट ट्रान्सफर’ मा समस्या नहुने कांग्रेसका प्रवक्ता प्रकाशशरण महत बताउँछन् ।

उनले भने, ‘हामीले गठबन्धनबारे देशभरको अवस्थाबारे बुझेको छौं । अहिले गठबन्धन मजबुत भएको छ । भोट ट्रान्सफरमा कुनै समस्या छैन । त्यसैले गठबन्धनको बहुमत आउनेमा ढुक्क छौं ।’

गठबन्धन तल्लो तहसम्म बलियो भएकाले कुनै दलको पनि कमजोर नतिजा नआउने उनको विश्वास छ ।

माधव नेपाल ढुक्क, कहाँ कहाँ सहजता ?

नेकपा एसले आगामी निर्वाचनका लागि १९ ठाउँमा उम्मेदवारी दिएको छ । उसले आफूले उम्मेदवारी दिएको सबै क्षेत्रमा जीत सुनिश्चित भएकोसमेत दाबी गर्दै आएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार १९ उम्मेदवारमध्ये रौतहट १ मा अध्यक्ष नेपाल सुरक्षित देखिएका छन् । उनीविरुद्ध एमालेले गौर नगरपालिकाका पूर्वमेयर अजयकुमार गुप्तालाई मैदानमा उतारेको छ ।

गठबन्धनको मतले नेकपा एसका उम्मेदवार बलिया देखिए पनि भारी मात्रामा ‘भोट ट्रान्सफर’ गर्नुपर्ने चुनौती छ । इलाम १ मा नेकपा एसका सम्मानित नेता खनालविरूद्ध एमालेका महेश बस्नेत भिड्दैछन् । यहाँ कांग्रेस र एमालेको हाराहारी मत छ । तर, नेता खनाललाई जीत सुनिश्चत गर्न एमालेसँगै कांग्रेसको भारी मात्रामा भोट ट्रान्सफर गर्नुुपर्नेछ ।

मकवानपुर २ मा विरोध खतिवडा सुरक्षित देखिन्छन् । आफ्नो मत कम भए पनि गठबन्धनको मत भने एमालेको भन्दा अत्यधिक छ । उनीविरुद्ध एमालेका महेश बर्तौला चुनावी मैदानमा छन् ।

सत्ता गठबन्धनको साथ पाउँदा धादिङ १ मा पनि बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई जित्न सहज भएको आँकलन गरिएको छ । उनीविरुद्ध भूमि त्रिपाठी एमालेका उम्मेदवार छन् ।

दाङ १ मा मेटमणि चौधरीलाई केही सहज देखिएको छ । त्यहाँ एमालेले शान्ता चौधरीलाई अगाडि सारेको छ । उनीहरु पुराना सहकर्मी हुन् ।

सल्यानमा नेकपा एसका प्रकाश ज्वाला एमालेका गुलाबजंग शाहसँग प्रतिस्पर्धामा छन् । त्यहाँ पनि गठबन्धन धेरै मतले अगाडि देखिन्छ ।

अछाम १ मा शेरबहादुर कुँवरविरुद्ध एमालेका झपट बोहोरा प्रतिस्पर्धामा छन् । भीम रावलले टिकट नपाएपछि एमालेको तीव्र असन्तुष्टि र गठबन्धनको अग्रताको कारणले कुँवरको जीतलाई सहज आँकलन गरिएको छ । एमाले उम्मेदवार बोहोरा माओवादी पृष्ठभूमिका भएकाले एमालेमा तीव्र असन्तुष्टि छ ।

यस्तै डोटीमा प्रेम आलेलाई पनि गठबन्धनको आडमा केही सहज देखिएको छ । पूर्वमन्त्रीसमेत रहेका आलेसँग एमालेकी गौरी वली मैदानमा छिन् । डोटीमा गठबन्धन अगाडि भए पनि आलेलाई बागी उम्मेदवारको डर कायमै छ ।

डोल्पामा पनि नेकपा एसका धनबहादुर बुढालाई सहज देखिएको छ । त्यहाँ एमालेका गणेशबहादुर शाही उम्मेदवार छन् ।

कहाँ-कहाँ चुनौती ?

काठमाडौं ८ नेकपा एसका जीवनराम श्रेष्ठ चुनावी मैदानमा छन् । यसअघि पनि यही क्षेत्रबाट जितेका श्रेष्ठ एमाले छाडेपछि गठबन्धनबाट चुनावी मैदानमा होमिएका छन् । उनलाई पनि मत ट्रान्सफर गर्न मुस्किल देखिएको छ । त्यहाँ एमालेका शिवसुन्दर राजवैद्य प्रतिस्पर्धामा छन् ।

बझाङमा नेकपा एसका भानुभक्त जोशीलाई एमालेका ऐन महरले चुनौती दिँदैछन् । त्यहाँ पनि कांग्रेसकै भर पर्नुपर्ने भएकाले सहज परिस्थिति देखिँदैन । दैलेख १ मा पनि अत्यधिक मात्रामा कांग्रेसकै मत चाहिने भएकाले अम्मरबहादुर थापालाई सहज छैन । उनीविरुद्ध एमालेका रवीन्द्रराज जोशी मैदानमा छन् ।

पाल्पा २ बाट पटक-पटक निर्वाचित हुँदै आएका सोमप्रसाद पाण्डेलाई एमालेका ठाकुर गैरेले चुनौती दिँदैछन् । पाण्डे एमालेमा हुँदा अवसर नपाएका गैरेले पहिलो पटक संसदीय चुनावमा भाग लिएका हुन् । एमालेको पकड भएकाले नेकपा एसबाट पाण्डेलाई दोहोरिन सहज नभएको विश्लेषण हुने गरेको छ ।

यस्तै गुल्मी २ मा पनि सहकर्मीबीच नै प्रतिस्पर्धा हुँदैछ । नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले पहिलो पटक एमाले सचिव गोकर्ण विष्टसँग प्रतिस्पर्धा गर्दैछिन् । यो क्षेत्रमा एमालेका विष्टले निरन्तर जित्दै आएका छन् ।

कास्की २ मा नेकपा एसका श्रीनाथ बरालले एमालेकी विद्या भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन् । भट्टराई यसअघि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

२०७४ मा एमालेबाट तनहुँमा जितेका किसान श्रेष्ठ अहिले नेकपा एसमा छन् । उनी अहिले आफ्नो क्षेत्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई छाडेर बारा ४ मा गएका छन् । त्यहाँ एमालेका एकवाल मियाँसँग प्रतिस्पर्धा गर्दैछन् । मियाँ हालैमात्र लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका हुन् ।

यस्तै ललितपुर २ मा यसअघि जितेका कृष्णलाल महर्जनलाई यसपटक गठबन्धनबाट पनि चुनाव जित्न सहज छैन । त्यहाँ एमालेका प्रेमलाल महर्जन उम्मेदवार छन् ।

उदयपुर २ मा एकीकृत समाजवादीले उपमहासचिव जगन्नाथ खतिवडालाई उम्मेदवार बनाएको छ । यहाँ खतिवडाविरुद्ध अम्बरबहादुर रायमाझी र सिराहा ४ मा धर्मनाथप्रसाद साहसँग जसपाका वीरेन्द्र महतो चुनावी मैदामा छन् । दुवै क्षेत्रमा नेकपा एसलाई जीत निकाल्न हम्मेहम्मे पर्ने आँकलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर