अबको ३/४ दिन कुनै पनि उम्मेदवारको जन्म दिन र पूजापाठ नपरोस् : प्रमुख निर्वाचन आयुक्त थपलिया – Nepal Press

अबको ३/४ दिन कुनै पनि उम्मेदवारको जन्म दिन र पूजापाठ नपरोस् : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सकेसम्म कुनै पनि उम्मेदवारको भोलि र पर्सि जन्मदिन नपरोस् भन्ने कामना गरेका छन् । निर्वाचन आयोगले निर्वाचनको स्थिर समयको पूर्व सन्ध्यामा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो कामना गरेका हुन् ।

कसैको मौन अवधिमा नै जन्मदिन वा अरु कुनै पूजापाठ र पार्टी परेमा के गर्ने भन्ने पत्रकारको प्रश्नमा थपलियाले जवाफ दिदैँ भने, ‘मानौ कसैको भोलि वा पर्सि नै जन्मदिन परेछ । धुमधामले जन्मदिन मनाउँछु भनेछ । बाहिर निस्किन पाएन । घर भित्रको के हुन्छ आयोगले घरभित्रको कुरालाई हेर्न पनि हुँदैन होला । यसमा पनि तपाईहरुको सुझाव पाउँ । यही बेला मेरो जन्मदिन छ भनेर बाहिर धुमधाम पार्टी दिन्छु पार्टी गर्छु भन्न पाएन । उम्मेदवारले मात्र नपाउने हो । अरुले मनाउन पायो है फेरि अरुको विषयमा मैले भनेको छैन । उम्मेदवार, राजनीतिक दल वा निर्वाचनमा प्रभाव पार्ने व्यक्ति । सकेसम्म यो ३/४ दिन भित्र जन्मिएका नपरुन् भन्ने अपेक्षा छ परिहाल्यो भने पनि भित्रै बसेर जसले जे गर्नुछ गरुन् । गरेको कुरा पनि फोटो खिचेर फेरि सामाजिक सञ्जालमा नहालुन् । ४ गतेपछि त उहाँलाई हामीले स्वतन्त्र छोडिहाल्छौं ।’

राजनीतिक दलका उम्मेदवार र मत माग्ने मान्छेलाई सकेसम्म ३/४ दिनको समयावधिमा खुला रुपमा पूजापाठ पनि नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियाले आग्रह गरेका छन् । उनले भने, ‘ठूला ठूला पूजाआजा ५ गतेपछि गरे भैगो । अलिकति तुलसीको आहुती दिने खत्र्याक खुत्रुक छ भने आफ्नै घर परिवारका मान्छे खुसुक्क बसेर गरे भैगो । यस्तामा हामी रोकावट गर्दैनौं। कसैले त्यस्तो दुस्साहस नगर्ला । त्यो पनि राजनीतिक दलको उम्मेदवार र मत माग्ने मान्छेले नगरिदिए हुन्छ । ४ दिन पूजा नगर्दैमा भगवान रिसाउँदैनन् । त्यसलाई मिलाएर भगवानसित आफैं कुरा मिलाउनु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर