विशाल भट्टराई भन्छन्- विगतको १४ हजारभन्दा बढी मतान्तरलाई घट्न दिएको छैन – Nepal Press
नेपाल टक

विशाल भट्टराई भन्छन्- विगतको १४ हजारभन्दा बढी मतान्तरलाई घट्न दिएको छैन

'सिंहदरबारमा खोटाङलाई चिनाएँ, अहिलेसम्म कहीँ चुकेको छैन'

खोटाङ । नेकपा एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराई खोटाङबाट २०७० सालको दोस्रो संविधानसभा सदस्य र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भए । यसबीचमा एमालेको प्रमुख सचेतकको भूमिका निर्वाह गरिसकेका भट्टराई आसन्न मंसिर ४ गतेको निर्वाचनमार्फत ह्याट्रिक गर्ने दाउमा छन् । भट्टराईसँग गरिएको कुराकानी नेपाल प्रेसको नेपाल टकमा :

– खोटाङबाट फेरि तपाईँको उम्मेदवारी किन ?

मलाई नेकपा एमालेले विश्वास गरेर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खोटाङबाट उम्मेद्वार बनाएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा हामी निर्वाचित भएपछि सर्वप्रथमतः संविधान निर्माणमा बढी ध्यान गयो र मुलुकको इतिहासमा जनताको छोरा निर्वाचित भएर संविधान बनाउन सफल भइयो । त्यो नै हाम्रो ठूलो उपलब्धि हो । त्यो बेला संविधान निर्माणलाई मात्र ध्यानमा राखिनँ । जिल्लाको विकासको लागि पनि उत्तिकै समय दिएँ ।

२०७४ को निर्वाचनमा पनि मलाई पार्टीले एमालेको उम्मेद्वार बनायो र जितपश्चात मेरो कार्यकालमा निकै ठूला र उपलब्धिमुलक काम भएका छन्, कतिपय सम्पन्न भएका छन् र कतिपय निर्माणकै चरणमा छन् । ती काम पूरा गर्न र खोटाङे जनतालाई विकास र जिल्लाको समृद्धिको लागि मेरो उम्मेदवारी हो । र, अघिल्लो निर्वाचनमा मैले जे वाचा गरेर भोट मागेको थिएँ, ती कुरा निष्ठाको साथ पूरा गर्ने कोसिस गरेको छु ।

– दुईपटक खोटाङबाट चुनाव जित्नुभयो । के के काम गर्नुभयो ? फेरि खोटाङे जनताले तपाईँलाई किन जिताउनुपर्ने ?

मैले जति अवधि राजनीति गरेँ, कहिल्यै झूट कुरा गरेको छैन । मैले निष्ठाको राजनीति गरेको छु । पहिलो पटक निर्वाचित भएँ, संविधान निर्माणमा समय गयो । जिल्लाको विकासको सुरूवाति काम गरियो । दोस्रोपटक सदनमा जिल्लाका महत्वपूर्ण कुरा उठाएँ, खोटाङको नाम चिनाउन सफल भएँ । संसद भनेको नीति नियम बनाउने थलो भएकाले पनि बढी नीति नियम बनाउन समय लाग्यो । नीति निर्माण तहमा खोटाङ पनि छ, खोटाङबासीको आवश्यकता पूरा गर्न राज्यले महत्व दिनुपर्छ भन्ने अनुभूति दिलाउन सफल भएको छु । जिल्लाको भाग्यवस एमालेको तर्फबाट प्रमुख सचेतक हुने मौका पाएँ । जिल्लाको विकासमा सदन र सिंहदरबारमा पनि निरन्तर खबरदारी गरिरहेँ ।

मेरो पालामा जिल्लामा धेरै काम भएको छ । म निर्वाचित हुनुअघि लामिडाँडामा एउटा मात्र पक्की पुल थियो । अहिले २० वटा पक्की पुल निर्माण भएका छन् । दर्जन बढी पुल सर्भे र टेण्डरको प्रक्रियामा छन् । तीनवटा विमानस्थल पिच भएर सञ्चालनमा छन् । एक मिटर सडक ढलान भएको थिएन । आज जयरामघाटदेखि चखेवासम्मको सडक पिच सकिन लागेको छ । दिक्तेलबजार ढलानको काम आधाभन्दा बढी सकिएको छ । हरेक टोलटोलमा पुग्ने सडक निर्माण भएको छ । अहिले १० वटै पालिकामा सहज हिसाबले सडक यातायातबाट पुग्न सकिन्छ ।

गर्नसक्ने कामका लागि मात्र म यो गर्छु भनिरहेको छु । जिल्लामा निर्माण भएका सडकहरू, सदरमुकामबाट पालिका जोड्ने सडकहरू, अन्तर जिल्ला र पालिका जोड्ने सबै सडक कालोपत्रे गर्ने प्रतिबद्धता गर्न चाहन्छु । जिल्ला अस्पतालमा निर्माण भइरहेको ५० शय्याको भवन निर्माण सम्पन्न गर्दै विशेषज्ञ डाक्टरसहितको सेवा सुचारू गराउनेछु । सबै पालिकामा पक्की भवन निर्माण सम्पन्न हुनेछन् ।

स्वास्थ्य क्षेत्रको कुरा गर्दा बिरामी हुदाँ त के मृत्यु हुँदा पोष्टमार्टम गर्न समेत बाहिरी जिल्लाबाट डाक्टर झिकाउनुपर्थ्यो । अहिले जिल्लाको १० वटै पालिकामा २४ घण्टा स्वास्थ्य उपचार हुन्छ । जिल्ला अस्पताल, चिसापानी र ऐसेलुखर्कमा डाक्टरको अभाव भएको छैन । कुनै दिन स्वास्थ्यकर्मी अभावले स्वास्थ्य संस्था बन्द भएको छैन । यो हाम्रो लागि ठूलो उपलब्धि हो । मेरै पहलमा जिल्ला अस्पतालमा ५० शय्या क्षमताको भवन निर्माण हुँदैछ । रावाबेँसी, ऐसेलुखर्क, साकेला, दिप्रुङ, हलेसी र चिसापानीमा १५ शय्याको आधारभूत अस्पताल बनिरहेको छ । यो पनि हाम्रो लागि ठूलो उपलब्धि हो ।

हरेक पालिकामा बैंक स्थापना भएको छ । सदरमुकामबाट हुने एमआरपी बनाउने बाहेक सबै काम पालिकाबाट हुन थालेको छ । ऐसेलुखर्क र खोटाङबजारबाट नागरिकता बनाउने ब्यवस्था भएको छ । नागरिकता बनाउन पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छ । पालिका-पालिकामा सुरक्षाको हिसाबले प्रहरी चौकी स्थापना गरिएको छ ।

खानेपानीको हिसाबले हेर्ने भने पनि धेरै ठूलो काम भएको छ । ठूला-ठूला खानेपानीका आयोजना सञ्चालन भइरहेकाछन् । मेवा दोभान-साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी आयोजना, विजयखर्क लिफ्टिङ खानेपानी आयोजना, दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासे खानेपानी आयोजना, मात्तिम गुणस्तरीय खानेपानी आयोजना र खोटाङबजार गुणस्तरीय खानेपानी आयोजना निर्माण सुरू भएको छ । हलेसी क्षेत्रमा पर्ने दुधकोशी लिफ्टिङ खानेपानी आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यी बाहेक प्रदेश सरकार र स्थानीय स्तरमा नगरपालिका तथा गाउँपालिकाबाट पनि टोलटोलमा खानेपानीका योजनाहरू सञ्चालन भईरहेकाछन् । सदरमुकाम दिक्तेलमा भने रम्भा खोला माझ खोला सानाशहरी खानेपानी आयोजना निर्माण भई मिटर सिष्टमले हरेक घर-घरमा खानेपानी पुगेको छ ।
विद्युतको क्षेत्रमा ठुलो काम भएको छ । म निर्वाचित हुनुअघि छिटफुट सदरमुकाम आसपास मात्र विद्युत विस्तार थियो तर अहिले जिल्लाको १० स्थानीय तहमा पुगेको छ । केही वडाबाहेक सबै वडा र टोलटोलमा विद्युत विस्तार भएको छ । बाँकी अधुरो विद्युत विस्तारको काम दुई वर्षभित्र पुर्‍याउने वचनबद्धता गर्दछु । हामीले विद्युतको क्षेत्रमा एउटा ठूलो सफलता हासिल गरेका छौँ । त्यो हो दुधकोशी जलाशययुक्त आयोजना । यो देशकै गौरवको आयोजना हो । म निर्वाचित भएपछि सुरू गरेको हो । अहिले मुआब्जा वितरणको काम अघि बढेको छ । यो आयोजनालाई सम्पन्न गराउन पनि एमालेले जित्नु पर्नेछ ।

शिक्षाको क्षेत्रमा पनि ठूलो परिवर्तन भएको छ । जिल्लाका अधिकांश विद्यालय धुलोमुक्त बनेका छन् । ८० प्रतिशत बढी विद्यालयमा नयाँ पक्की भवन बनेका छन् । गुणस्तरीय शिक्षालाई ध्यानमा राखेर लाईब्रेरी स्थापना, कम्प्यूटर शिक्षा शिक्षकको क्षमता वृद्धिका तालिमलगायतमा ध्यान दिएर काम गरेको छु ।

कृषि क्षेत्रमा पनि उत्तिकै खबरदारी गरेको छु । गरेका काम सबै बताउँदा लामो हुन्छ । अहिले हरेक नागरिकले देखिने गरी कृषि क्षेत्रमा काम गर्नुभएको छ । यीलगायत कोभिडको बेला होस् या जुनसुकै बेला जनताको मनमनमा बसेर काम गरेको छु । कोही बिरामी पर्दा होस् या भोको हुँदा थाहा पाएसम्म सहयोग गरेको छु । १० स्थानीय तह र ७९ वडासँगको सहकार्यमा काम गरेको छु । भएका कामको जस लिन्छु र हुन बाँकी कामको अपजस खेप्दै पूरा गर्ने प्रतिबद्धता पनि खोटाङे जनतासामु गर्दछु ।

– तपाईँका जित्ने आधारहरू के-के हुन् त ?

मेरो जित्ने आधारहरू मैले अहिलेसम्म गरेको काम नै हो । धेरै त माथि आइसकेका छन् । जनता र जनप्रतिनिधिको सम्बन्ध जोडिएर गएको छ । चुनाव जितेपछि अधिकांश समय जिल्लामा बसेर जनताको काम गरेको छु । हरेक जनताको घर-घर गएको छु । कहीँ चुकेको छैन, जनताको विश्वासको पात्र बनेको छु । पहिला मैले १४ हजार बढी मत ल्याएको थिएँ । त्यो मत घट्न दिएको छैन । यसपटक भारी मत ल्याएर जित्ने विश्वास लिएको छु ।

– फेरि जित्नका लागि एजेण्डा चाहिँ के-के छन् ?

मैले भन्ने गरेको छु, ढाँट्ने र झूटो आश्वासन दिने काम मबाट हुँदैन । गर्नसक्ने कामका लागि मात्र म यो गर्छु भनिरहेको छु । जिल्लामा निर्माण भएका सडकहरू, सदरमुकामबाट पालिका जोड्ने सडकहरू, अन्तर जिल्ला र पालिका जोड्ने सबै सडक कालोपत्रे गर्ने प्रतिबद्धता गर्न चाहन्छु । जिल्ला अस्पतालमा निर्माण भइरहेको ५० शय्याको भवन निर्माण सम्पन्न गर्दै विशेषज्ञ डाक्टरसहितको सेवा सुचारू गराउनेछु । सबै पालिकामा पक्की भवन निर्माण सम्पन्न हुनेछन् । पालिकामा मेरै पहलमा १५ बेडको आधारभूत अस्पताल निर्माण सुरू भएका छन्, निर्माण बाँकी रहेका अस्पतालको कामलाई यसै वर्ष बजेट व्यवस्था गरी निर्माणको काम सुरू गरिनेछ । मेरै कार्यकालमा जिल्लाका १० स्थानीय तहमा सुविधा सम्पन्न आधारभूत अस्पताल निर्माण गरी सेवा सुरू गराउनेछु । व्यवसायिक अलैँची खेतीलाई प्राथामिकतामा राखेर जिल्लाको विकासमा जोड दिनेछु । र, अन्तमा के भन्न चाहन्छु भने सूर्य चिन्हमा मतदान गरी दिएको भोट खेर जान दिने छैन । खोटाङको शिर सधैँ उच्च राख्नेछु । पाँच वर्षभित्र समृद्ध खोटाङ बनाउने प्रतिबद्धता जनाउन चाहन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर