धनुषा २ मा छैन गठबन्धन: प्रतिस्पर्धामा छन् उमाशंकर, रामचन्द्र, गंगाराम र रामकृष्ण – Nepal Press

धनुषा २ मा छैन गठबन्धन: प्रतिस्पर्धामा छन् उमाशंकर, रामचन्द्र, गंगाराम र रामकृष्ण

जनकपुरधाम । मधेस प्रदेशका ३२ प्रतिनिधिसभा सीटमध्ये अधिकांशमा एमाले-जसपा र सत्ता गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ । तर, धनुषा क्षेत्र नम्बर २ मा गठबन्धन छैन । मुख्य चार दलका उम्मेदवार चुनावी मैदानमा उत्रेपछि प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ ।

२०७४ को चुनावमा यस क्षेत्रबाट झण्डै १५ हजार मतान्तरले तत्कालीन संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया विजयी भएका थिए । यो पटक नेकपा एमालेबाट भिडेका पूर्वमन्त्री अरगरिया सबै उम्मेदवारका प्रतिस्पर्धी बनेका छन् ।

नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र झा र जसपा उम्मेदवार गंगाराम यादवमात्र होइन, स्थानीय तहको मतको हिसाबले अगाडि रहेको कांग्रेसका रामकृष्ण यादवले समेत अरगरियालाई मुख्य प्रतिस्पर्धी ठानेका छन् ।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनअघि यो क्षेत्रबाट रामचन्द्रले दुई पटक निर्वाचन जितेका थिए । त्यतिवेला उनी नेकपा एमालेमा थिए । माओवादीबाट पहिलो र दोस्रो संविधानसभा सदस्यमा चुनाव लडेका उनी पराजित भए ।

पटक–पटक पार्टी परिवर्तन गर्दा उनको लोकप्रियता ह्वात्तै घट्यो । जनताले उनलाई सत्तास्वार्थीको आरोप लगाए । माओवादी, नयाँ शक्ति, पुनः माओवादी हुँदै उनी अहिले नेकपा एसमा रहेर चुनावी मैदानमा छन् । यो निर्वाचनमा छोरी अर्चना झा र जेठानी दिदी वीना ठाकुर ‘झा’लाई समेत बन्दसूचीमा राखेका कारण उनीमाथि ‘परिवारवाद’को आरोप लागेको छ । यसले उनलाई निर्वाचनमा घाटा हुने देखिन्छ ।

पहिलो र दोस्रो संविधानसभा सदस्यमा यो क्षेत्रबाट विजयको झण्डा फहराएका थिए कांग्रेसका रामकृष्णले । उनले मन्त्री पनि बन्ने अवसर पाए । तर, जनताको आकांक्षाबमोजिम उनले काम गर्न सकेनन् ।

मन्त्री बनेर पनि क्षेत्रको विकासमा योगदान नगरेको झोकमा जनताले उनलाई २०७४ को निर्वाचनमा पराजित गरेर सबक सिकाए । यो पटक उनी परिणाम उल्टाएर निर्वाचन जित्ने दाउमा छन् । तर, कांग्रेसको आन्तरिक किचलो उनको मुख्य चुनौती बनेको छ ।

जसपाका उम्मेदवार गंगाराम पूर्वएमाले नेता हुन् । एमालेले अरगरियालाई भित्र्याएलगत्तै गंगाराम जसपा प्रवेश गरे र टिकट पनि पाए । उनी अन्य उम्मेदवारको तुलनामा कमजोर देखिन्छन् । उनीमाथि भारतीय नागरिक रहेको आरोप लागेको छ । त्यस्तै निधन भइसकेकी उनकी जेठी श्रीमतीतर्फका छोरा अमित यादव भने एमाले उम्मेदवार अरगरियाको पक्षमा भोट मागिरहेका छन् ।

छोरा अमित अरगरियासँग गाउँ-गाउँमा गएर भोट माग्दा गंगाराम तनावमा छन् । छोरा अमितले गम्भीर आरोप लगाउँदै भाषण गर्दा पनि गंगारामले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

मधेसी दल त्यागेर मधेसविरोधी पार्टी एमालेमा गएको भन्दै अरगरियासँग पुराना समर्थक आक्रोशित छन् । अरगरिया भने चुनाव जित्नेमा ढुक्क छन् । उनी भन्छन्, ‘दूर दूरसम्म मेरो प्रतिस्पर्धामा कोही छैनन् । जनता भगवानले फेरि पनि दोब्बर मतले चुनाव जिताउनुहुन्छ ।’

केपी शर्मा ओलीको विकास एजेण्डा र देश समृद्ध बनाउने अठोटबाट प्रभावित भई उहाँलाई सघाउन एमालेमा गएको अरगरिया बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर