दाङ ३ (१) का प्रदेशसभा उम्मेदवार घनश्याम पाण्डेलाई चार प्रश्न – Nepal Press

दाङ ३ (१) का प्रदेशसभा उम्मेदवार घनश्याम पाण्डेलाई चार प्रश्न

तुलसीपुरको उपमेयर र मेयर भएर गरेका काम नै मैले जित्ने आधार हुन्

– चुनावी प्रचारप्रसार कसरी अघि बढेको छ ?

नेकपा एमालेले विगतमा सत्तामा हुँदा र आन्दोलनमा हुँदा गरेका कामलाई हामीले सम्पादन गरेका उत्कृष्ट कार्यहरु छन् । ती कार्यलाई आम मतदाता र आम सरोकारवालासँग संवाद गर्ने, छलफल गर्ने अभियान चलाएका छौं । पार्टीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने लक्ष्य छ । सोही योजनाअनुसार थप योजनाहरु मतदाता, बुद्धिजीवी, शिक्षक, किसान तथा अन्य समुदायबाट संकलन र राय सुझाव लिने काम गरेका छौं । अर्कोतर्फ पार्टीका नेता, कार्यकर्ता, जनसंगठनबाट पनि व्यवस्थित र स्वचालित रुपमा प्रचारको कार्य सम्पादन भइरहेका छन् ।

– तपाईंको उम्मेदवारी किन ?

खासगरी नेकपा एमालेको तर्फबाट उम्मेदवारी हो । हाम्रो पार्टी, अध्यक्ष र महासचिवलाई विभिन्न बहानामा चारैतिरबाट राजनीतिक घेराबन्दी भइरहेको छ । नेकपा एमालेका विरुद्धमा जसरी मोर्चाबन्दी भएको छ, यसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यलाई अवरोध सिर्जना गरेको छ । गठबन्धनले देशलाई बन्धनमा पारेको छ । त्यसैले मंसिर ४ गते हुने निर्वाचनमार्फत् देशलाई गठबन्धनमुक्त बनाउन मेरो उम्मेदवारी हो ।

– तपाईंलाई किन मतदाताले भोट दिने ?

हामीलाई मतदान किन गर्ने भने पहिलो ‘असल नीति र विधि निर्माण गर्ने, सधैंका लागि सबैका लागि ।’ जस्तो हामीले वृद्धभत्ता, सामाजिक भत्ताको व्इवस्था गरेका छौं । त्यसलाई हाम्रो नेतृत्वमा समयानुकूल वृद्धि गर्दै लगेका छौं । आम नागरिकलाई सम्मान गर्ने गरेका छौं । तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी भत्ता, स्मार्ट छोरी भत्ता, प्राविधिक र गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, युवालाई रोजगारी र स्वरोजगारको ग्यारेन्टी गर्ने । लुम्बिनी प्रदेशलाई मातृ शिशु मृत्युदरलाई शून्यमा झार्ने । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षालाई ग्यारेन्टी गरेर काम गर्नेछौं ।

दोस्रो, सुशासन, शीघ्र र मुस्कानसहितको सेवा प्रदान गर्ने प्रयत्न गर्नेछौं । हामीले जनताले चाहेको, आवश्यक पर्ने सेवालाई अनलाइनमार्फत् प्रदान गर्ने व्यवस्था गर्छौं । हाम्रो घोषणापत्रमा घोषणा पनि गरेका छौं । जनताले कार्यालय खोज्दै जाने होइन अनलाइनमार्फत् सेवा दिने हो । सेवाग्राहीलाई शीघ्र सेवा दिने प्रयत्न गर्नेछौं ।

तेस्रो, हामीले तीव्र विकास गर्ने लक्ष्य राखेका छौं । तीव्र विकासमार्फत् तीव्र आर्थिक विकास गर्ने लक्ष्य राखेका छौं । अहिले देश आर्थिक रुपमा संकटमा रहेको छ । यसैलाई ध्यानमा राखेर लुम्बिनी प्रदेशको पहिलो अधिवेशन समृद्धिको अधिवेशन हुनेछ । हामीले समृद्धिको अधिवेशन बनाउनेछौं । लुम्बिनी प्रदेशको संसदलाई जनताको विषय बोल्ने थलोका रुपमा विकास गर्नेछौं । त्यसका माध्यमबाट आर्थिक समृद्धि गाउँ÷गाउँमा सडक, खानेपानी, यातायात, बिजुली बत्ती, सुरक्षित घर बनाउने, शिक्षाका लागि विद्यालयका भवन निर्माण गर्नेछौं । लुम्बिनी प्रदेशलाई शैक्षिक हबका रुपमा विकास गर्नेछौं ।

औद्योगिक ग्राममार्फत् साना तथा मझौला उद्योगको विकास गर्ने व्यवस्था गर्नेछौं । जल, जंगल र जमिनलाई उपयोग गरेर आर्थिक विकास गर्ने लक्ष्य राखेका छौं । यही लक्ष्यमार्फत् समृद्ध लुम्बिनी प्रदेशलाई समृद्ध बनाउनेछौं । थारु समुदायका थारु महतवा, भल्मन्साका लागि कानून निर्माण गरी भत्ताको व्यवस्था गर्ने, महिलाका लागि मासिक रुपमा प्याडको व्यवस्था गर्नेछौं ।

– तपाईंले जित्ने आधार के के हुन् ?

मैले चुनाव जित्नलाई कुनै समस्या नै छैन । यसअघि बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पनि गठबन्धन नै थियो । हामीले त्यो निर्वाचनमा जितेका हौं । अहिले पनि हामी गठबन्धनका विरुद्ध चुनावमा छौं । यसपटक पनि हामीले चुनाव जित्ने पक्का छ । गठबन्धनप्रति कसैको आकर्षण छैन । जनता नेकपा एमालेप्रति यो पार्टीका नेताप्रति आकर्षित छन् । मैले २०५४ मा उपमेयर र २०७४ मा मेयरमा निर्वाचन जितेको हुँ ।

मेरो निर्वाचन क्षेत्रमा रहेका ११ वटा वडाका अधिकांश घरका मालिकसँग मेरो सीधा सम्पर्क छ । त्यसैले जनताले प्रत्यक्ष र समानुपातिकतर्फ मत दिन्छन् भन्ने विश्वास हामीले लिएका छौं । गठबन्धनका उम्मेदवार कस्ता छन् ? सबैले थाहा पाएकै छन् । उनीहरुले के काम गरे सबैलाई भन्नुपर्छ र ? हामीले तुलसीपुरको नेतृत्व गर्दा मेट्रो कलेज बनायौं, मेट्रो अस्पताल बनायौं । सुत्केरी हुने महिलाका लागि भत्ताको व्यवस्था गरेका छौं । तुलसीपुरको मातृ मृत्युदर शून्यमा झार्‍यौं । यस्ता धेरै काम गरेका छौं ।

हाम्राविरुद्ध गलत प्रचार गरेर चुनाव जित्ने कसैले दिवा सपना नदेखेकै राम्रो । मैले हिजो उपमेयर, मेयर भएर गरेका काम, सामाजिक अभियन्ता तथा सामुदायिक वनको आन्दोलनमार्फत् गरेका काम सबैले देखेकै छन् । अनि मैले चुनाव हार्ने सवाल आउँछ त ?

प्रस्तुति : गणेश आचार्य


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर