कैयौं गाउँको मुहार फेर्ने कालीगण्डकी कोरिडोर – Nepal Press

कैयौं गाउँको मुहार फेर्ने कालीगण्डकी कोरिडोर

सपनाको राजमार्ग अब छिट्टै पूरा हुनेछ : प्रदीप ज्ञवाली

बुटवल । नेपालका विभिन्न बस्ती हुँदै भारत र चीन दुई छिमेकी मुलुकलाई सडक सञ्जालमार्फत जोड्नेगरी निर्माण भइरहेको कालीगण्डकी कोरिडोरले दुर्गमका कैयौं गाउँको मुहार फेरिएको छ ।

सुनौली नाकादेखि चीनसँगको नाका कोरोलासम्म पुग्ने गरी नेपालको गैंडाकोटबाट र बेनीबाट दुई खण्डमा कोरिडोर निर्माणको काम चलिरहेको छ । एमाले नेता प्रदीपकुमार ज्ञवालीको पहलमा निर्माण कार्यले गति लिएसँगै कोरिडोरका आधाभन्दा धेरै भाग अहिले कालोपत्रेमा स्तरोन्नति भइसकेको छ ।

नवलपरासी पश्चिमको गैंडाकोटबाट राम्दी हुँदै बाग्लुङको मालढुंगासम्म र त्यहाँदेखि माथि म्याग्दीको बेनीबाट जोमसोम-कागबेनी हुँदै कोरोलासम्म पुग्ने सडक निर्माण भइसकेको छ । कोरिडोरलाई दुई खण्डमा वर्गीकरण गरेर निर्माण भइरहेको छ ।

गैंडाकोट-राम्दी-मालढुंगा खण्डको करिब ८३ प्रतिशत काम पूरा भइसकेको छ । भने बेनी-जोमसाम-कोरोलासम्मको खण्डको झण्डै ८० प्रतिशत काम पूरा भएको छ । दुवै आयोजनाका योजना प्रमुख सीडीई शंकर पौडेल र जगत प्रजापति दुवैले अबको डेढ दुई वर्षभित्रमा कोरिडोर निर्माणको सबै काम पूरा हुने बताए ।

गैंडाकोट-राम्दी-मालढुंगा खण्ड १३१ किलोमिटर पर्छ । यो खण्डअन्तर्गत अहिले झण्डै १०७ किलोमिटर सडक पिच भइसकेको छ । समग्रमा मालढुंगासम्मको करिब २४० किलोमिटर सडकमध्ये ११२ किलोमिटर खण्ड कालोपत्रेमा स्तरोन्नति भइसकेको कारिडोरको गैंडाकोट कार्यालयका योजना प्रमुख सीडीई पौडेलले बताए ।

एमाले नेता तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली परराष्ट्रमन्त्री भएका वेलामा यो कोरिडोरलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक बजेट विनियोजन गरेका थिए । उनै नेता ज्ञवालीले २०७५ भदौ २५ गते रिडी-रुद्रबेनी सडक विस्तार गरी १० मिटरको बनाउने कार्यको पनि शुभारम्भ गरेका थिए । अहिले यो खण्ड आकर्षक सडक बनेको छ । यसले यो खण्ड हुँदै कैयौं गाउँमा सहज यातायात हुँदै आएको छ ।

कोरिडोरअन्तर्गतको रिडी–पालुङखोलासम्मको करिब ४२ किलोमिटर सडक विस्तार र स्तरोन्नति भइरहेको छ । यस्तै रिडी-रुद्रबेनी-हर्मिचौर जोड्ने खण्डको करिब २१ किलोमिटर सडक पनि झण्डै ५३ करोड बराबरको बजेटमा पिच भइरहेको छ । हर्मिचौरदेखि वीरबास खण्डका लागि करिब ४ अर्ब बराबरको बजेटमा काम गर्ने गरी ठेक्का व्यवस्थापनको काम अगाडि बढेको छ ।

रानीमहल-राम्दी र फलेबास-अर्मादी खण्ड नयाँ ठेक्कामा

कोरिडोरअन्तर्गत केही खण्ड अनकण्टार पहाड र भीरमा पर्दछन् । राम्दी-रानीमहल खण्ड अप्ठ्यारोमध्येमा पर्छ । यहाँ ट्रयाक खोलेर सडकको आकार तयार भइसकेको छ । तर, विस्तार र स्तरोन्नतिको काम बाँकी छ । यो खण्डको करिब १४ किलोमिटर सडकको विस्तार र स्तरोन्नतिका लागि बहुवर्षे नयाँ ठेक्का सुरु गर्ने प्रक्रियामा रहेको योजना प्रमुख सीडीई पौडेलको भनाइ छ ।

यस्तै पर्वतको फलेबास-अर्मादी खण्डको करिब १७ किलोमिटर खण्डको पनि नयाँ बहुवर्षे ठेक्का प्रक्रियामार्फत अगाडि बढाउने काम भइरहेको छ । यो क्षेत्रको करिब ५० किलोमिटरको सडक खण्डलाई कालीगण्डकी लोकमार्गका रुपमा वर्गीकरण गरी स्तरोन्नति र विस्तार गरिएको छ । कालीगण्डकी नदीको वारि र पारि दुवैतिरबाट सुनौली-कोरोला जोड्ने व्यवस्थित सडक निर्माण गर्नुपर्छ भन्दै झण्डै २० वर्षअघि एमाले नेता प्रदीपकुमार ज्ञवालीलगायतले संकल्प गरेका थिए । त्यसमध्ये २०६८ सालदेखि कोरिडोर विस्तार र स्तरोन्नतिको काम चलिरहेको छ ।

कोरोलासम्मको सबै सडक ग्राभेल

उत्तर-दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको महत्वपूर्ण कोरिडोरका रुपमा रहेको कालीगण्डकी कोरिडोरमा सबै खण्डको ट्रयाक खुलेको छ । योमध्येको महत्वपूर्ण क्षेत्र बेनी-जोमसोम-कोरोला खण्डको सबै भाग ग्राभेल भइसकेको छ । आयोजनाका योजना प्रमुख सीडीई प्रजापतिका अनुसार जोमसोम-कोरोलासम्मको १०० किलोमिटर सडक ग्राभेलमा स्तरोन्नति भइसकेको छ ।

मालढुंगादेखि कोरोलासम्मको करिब २०२ किलोमिटर सडकलाई चार खण्डमा बाँडेर विस्तार र स्तरोन्नतिको काम भइरहेको योजना प्रमुख प्रजापतिले बताए । समग्र खण्डको करिब ८० प्रतिशत काम पूरा भइसकेको र कालोपत्रेमा स्तरोन्नति गर्न बाँकी खण्डका लागि प्रक्रियासमेत अगाडि बढाइएको प्रजापतिको भनाइ छ । पहिरो र कालीगण्डकीमा आएको बाढीले क्षति भएको म्याग्दीको रुप्से र काब्रे भीरको खण्डबाहेक अन्यत्रको सडकस्तरीय र व्यवस्थित भएको छ । योमध्येको २७ किलोमिटर सडक कालोपत्रेमा स्तरोन्नति गरिएको छ ।

जोमसोमदेखि कोरोलासम्मको ११५ किमि सडक ग्राभेलमा स्तरोन्नति भएको छ । यस्तै कागबेनीदेखि कोरोलासम्मको १०२ किमी सडकलाई कालापत्रेमा स्तरोन्नति गर्न विभागमार्फत आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी छ । मालढुंगादेखि बेनीका बीचमा रहेको १३ किमि सडकखण्डमा कालोपत्रे गर्ने काम अबको एक वर्षमा पूरा गर्ने गरी अगाडि बढेको छ ।

८६ मध्ये ४० पुल निर्माण, ३२ जारी र १४ को ठेक्का हुँदै

कोरिडोरअन्तर्गतको दुबै खण्डमा साना-ठूला गरी झण्डै ८६ पुल पर्छन् । यी केही नयाँ, केही पुराना, केही बेलिब्रिज हुन् । कतिपय ठाउँमा पुल पहिल्यै बनिसकेका छन् भने कतिपय ठाउँमा नयाँ बनाइँदैछ । गैंडाकोट-राम्दी-मालढुंगा सडक खण्डमा झण्डै ५५ वटा पुल बनाउनुपर्नेछ । तीमध्ये २४ वटा पुलको निर्माण कार्य पूरा भइसकेको छ ।

यस्तै १६ वटा पुलको निर्माण चलिरहेको छ भने साना-ठूला गरी १६ वटा पुलको ठेक्का व्यवस्थापनको प्रक्रिया अगाडि बढेको छ । कोरिडोरको गैंडाकोट खण्डको कार्यालय प्रमुख पौडेलका अनुसार निर्माण भइरहेका पुल अन्तिम चरणमा पुगेको र ठेक्का बन्दोबस्तीको प्रक्रिया पनि तीव्र अगाडि बढेको छ ।

यस्तै बेनी-जोमसोम-कोरोला खण्डअन्तर्गत करिब ३० वटा पुल पर्छन् । योजना प्रमुख प्रजापतिका अनुसार यो खण्डमा हालसम्म १६ वटा पुल सञ्चालनमा छन् । बाँकी पुलको निर्माण प्रक्रिया अगाडि बढिरहेको छ ।

फेरियो गाउँको मुहार

भारतको सुनौली नाकादेखि चीनको सिमाना मुस्ताङको कोराला नाकासम्मका २३१ गाविस जोड्ने उत्तर दक्षिण कालीगण्डकी कोरिडोर ४३५ किलोमिटर छ । सरकारले तेस्रो राष्ट्रिय प्राथमिकताको आयोजनामा राखेर २० वर्षभित्र सम्पन्न गर्ने गरी गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पुग्ने गरी २०५९ सालदेखि निर्माण सुरु गरेको थियो ।

सडकको अनुमानित लागत करिब २५ अर्ब छ । दुबै खण्डमा गरी करिब १० अर्ब बराबरको काम भइसकेको छ । पहाडी भेगका कैयौं जिल्लाका दुर्गम क्षेत्रलाई यातायातको पहुँच बढाउँदै दुई ठूला छिमेकी देश चीनको हिमालदेखि पहाड र तराई हुँदै भारतसम्मको व्यापार विस्तार गर्न यो कोरिडोर महत्वपूर्ण रहेको कालीगण्डकीका अगुवा टीकाराम ढकालले बताए ।

२० वर्षअघिको सपनाको राजमार्ग अब पूरा हुनेछ : प्रदीप ज्ञवाली

वि. सं २०५७ सालमा सुरु भएको काम बीचमा त्यसै सेलाएको थियो । एमाले नेता ज्ञवालीले चासो दिँदै २०६६ सालमा हर्मिचौर खण्डको कामको शिलान्यास गरेसँगै कोरिडोरलाई तत्कालीन सरकारले प्राथमिकतामा राखेको थियो । आयोजना आव २०७८/०७९ सम्म सक्ने लक्ष्य थियो । तर, भूकम्प, नाकाबन्दी र कोरोना कहरका साथै प्रतिकूल मौसमका कारणले ढिलाइ भएको छ ।

‘अहिलेसम्म सकिनुपर्ने थियो अब ढिला हुन दिनेछैनौं’, नेता ज्ञवाली भन्छन्, ‘यो सपनाको राजमार्ग अबको केही समयमै पूरा गर्दै नागरिकको जीवनस्तरमा अर्काे आयाम थप्नेछौं ।’

रेशम मार्गका रूपमा परिचित कालीगण्डकी कोरिडोरको काम अन्तिम चरणमा पुगेको छ । बागलुङ र गुल्मीमा नेपाली सेनाले, पाल्पा र नवलपरासीमा कोरिडोरको आयोजना कार्यालयले साथै म्याग्दीमा डिभिजन सडकले काम अघि बढाएका थिए । हिमालदेखि भारतको त्रिवेणीसम्म नून बोक्ने रेशम मार्गमा यो कोरिडोर निर्माण भैरहेकाले यसको प्राचीन महत्व रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर