रुपन्देही २ मा जनमुक्तिका केशवलाई समर्थनको भ्रम छरेको भन्दै लौरो अभियानको आपत्ति – Nepal Press

रुपन्देही २ मा जनमुक्तिका केशवलाई समर्थनको भ्रम छरेको भन्दै लौरो अभियानको आपत्ति

प्रवक्ता रोहन भन्छन्- सत्तागठबन्धनले कुप्रचार गरेर हाम्रो बदनाम गर्न खोज्दैछ

काठमाडौं । ‘लौरो अभियान’ का नामले परिचित हाम्रो नेपाली पार्टीले आफूहरूको अभियानलाई बदनाम गराउने नियतले भ्रामक हल्ला चलाइएको भन्दै आपत्ति जनाएको छ ।

हाम्रो नेपाली पार्टीका प्रवक्ता ई. डिल्लिश्वोर कार्की ‘रोहन’ ले विज्ञप्ति निकाल्दै कुनै दल वा गठबन्धनका उम्मेदवारलाई समर्थन, तालमेल गरेको भनेर आइरहेका समाचारहरू निराधार रहेको बताएका छन् ।

रुपन्देही २ मा सत्तागठबन्धनका उम्मेदवार जनमुक्तिका केशवबहादुर थापा मगरलाई लौरो अभियानको समर्थन रहेको भनी मिडियाबाजी गरेपछि आफूहरू प्रष्टीकरण दिन बाध्य भएको प्रवक्ता कार्कीले नेपाल प्रेसलाई बताए । थापा एमालेका विष्णु पौडेलका मुख्य प्रतिस्पर्धी हुन् ।

‘सत्ताको आडमा गठबन्धनले कुप्रचार गरेको छ । यसबाट हाम्रो अभियानमाथि अविश्वास गराउन खोजिएको छ’, उनले भने ।

‘हाम्रो लौरो अभियानले स्वतन्त्र उम्मेदवारबाहेक कसैलाइ पनि समर्थन गर्ने कुरा हाम्रो सिद्दान्तमै नरहेको हुनाले देशैभरि जहाँजहाँ हाम्रा लौरो उम्मेदवारहरू हुनुहुन्न त्यहाँ हामीले स्वतन्त्रहरूलाई समर्थन गरिसकेको र गर्न बाँकी ठाउँमा समेत सक्षम स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्नेबारे छलफल भइरहेको कुरा अवगत गराउँछौं’, हाम्रो नेपाली पार्टीको विज्ञप्तिमा भनिएको छ ।

महामन्त्री तुलसिराम भुसालको नाममा गठबन्धनका उम्मेदवारलाई समर्थन गरिएको भनेर प्रचार गरिएको भन्दै भुसाल हाम्रो नेपाली पार्टीको तथा लौरो अभियानको साधारण सदस्यसमेत नरहेको साथै चिन्दै नचिनेको प्रवक्ता कार्कीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर