सिन्धुपाल्चोकमा म, मोहन बस्नेतसहित छ वटै सिट गठबन्धनले जित्छ : माधव सापकोटा ‘सुबोध’ – Nepal Press

सिन्धुपाल्चोकमा म, मोहन बस्नेतसहित छ वटै सिट गठबन्धनले जित्छ : माधव सापकोटा ‘सुबोध’

काठमाडौं । सिन्धुपाल्चोक हरेक निर्वाचनमा चर्चाको शिखरमा रहने गर्दछ, बहुदलीय व्यवस्थाका हरेक निर्वाचनमा सिन्धुपाल्चोक विशेष चर्चामा हुने गर्दछ । पशुपति शम्शेर, अमृत बोहरा, अग्नि सापकोटालगायत देशका प्रमुख राजनीतिक पार्टीका शीर्ष नेताहरुको गृह जिल्ला भएकाले पनि हरेक पटकको निर्वाचनमा सिन्धुपाल्चोक चर्चामा नै रहने गरेको छ ।

मंसिर–४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नै सिन्धुपाल्चोक-१ विशेष चर्चामा थियो । मोहनबहादुर बस्नेतले टिकट पाउने की माओवादीले पाउने । यही अन्यौलका बीचमा गठबन्धनबाट टिकट ल्याउन सफल भए माओवादीका माधव सापकोटा ‘सुबोध’ ।

यो क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोध र एमालेका उम्मेदवार सरेश नेपालबीच प्रतिस्पर्धा छ । सभामुख अग्निप्रसाद सापकोटाले असोज २२ गते सिंहदरबारमा पत्रकार सम्मेलन गरेर नियमिततामा क्रमभंग भन्दै मंसिर ४ को चुनावमा नउठ्ने जानकारी गराए । जिल्ला पार्टीले गरेको सिफारिस अनुसार माओवादीले ४० वर्षका युवा नेता सुबोधलाई उम्मेदवारका रुपमा अघि सार्यो ।

देशभर युवा र नयाँ उम्मेदवारको माग भइरहँदा सिन्धुपाल्चोक १ मा उनी चुनावी अभियान र घरदैलोमा छन् । सुबोध माओवादी पार्टीको पोलिटब्यूरो सदस्य छन् । जनयुद्धकालीन राजनीतिक पृष्ठभूमि भएका उनी स्पष्ट, निर्भिक र समन्वयकारी नेताका रुपमा स्थापित छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरिरहेका सुबोध कोणसभा, घरदैलो, मतदाता भेटघाट हुँदा वा सञ्चारमाध्यमहरुमा बोल्दा प्रतिस्पर्धी उम्मेदवार वा दलका विषयमा नकारात्मक टिप्पणी गर्दैनन् ।

कांग्रेस नेता मोहन बस्नेतसँग छोटो समयमा सुमधुर सम्बन्ध बनाएका उनले मतदाता भेटघाट र घरदैलोका क्रममा बस्नेतको पलाँतीस्थित घरमै बास बसेर राजनीतिक संस्कृतिको राम्रो सन्देश दिए । चुनावको पूर्वसन्ध्यामा गठबन्धनका साझा उमेदवार माधव सापकोटासँग गरिएको कुराकानी ।

पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा हुनुहुन्छ, कस्तो लागिरहेको छ ?

म आफैं चुनावी मैदानमा नहोमिए पनि जिल्लामा चुनावी परिचालन र व्यवस्थापनको गहिरो अनुभव छ । २०६४ साल, २०७० साल र २०७४ सालको तीन वटै चुनावमा सभामुख अग्निप्रसाद सापकोटाको चुनाव परिचालन र व्यवस्थापनमा नेतृत्वदायी भूमिकामा थिएँ । २०७९ वैशाख ३० को–को स्थानीय चुनावको कमाण्ड सम्हालेको थिएँ । उम्मेदवार नै भएर मैदानमा जाँदा आम नागरिकले म र गठबन्धनका उम्मेदवारहरुप्रति देखाएको स्नेहलाई नजिकबाट अनुभूत गरेको छु ।

तपाईं २०७४ को चुनावमा जसलाई जिताउन हिँड्नु भयो आज उहाँसँगै प्रतिस्पर्धामा हुँदा कस्तो महसुस गर्नु भएको छ ?

तत्कालीन राजनीतिक परिस्थिति अलग थियो, लामो व्याख्या नगरी भन्नुपर्दा त्यसबेला जुन उद्देश्यका साथ हामीसँगै हिँडेका थियौं, त्यो पूरा हुन सकेन । बीचमै नयाँ राजनीतिक कोर्स सुरु भयो । त्यसबेलाको राजनीतिक समझदारीअनुसार इमानदार भएर जिताउन मेहनत गरेको थिएँ, अहिले हामी प्रतिस्पर्धामा छौं, मेरो बा को उमेरको हुनुहुन्छ, उहाँलाई मेरो सम्मान छ ।

घरदैलो र मतदाता भेटघाटमा हुनुहुन्छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

यहि भूगोलमा २५ वर्ष यता निरन्तर राजनीति र समाजसेवामा रहेको युवालाई उम्मेदवारका रुपमा पाउँदा सिन्धुपाल्चोक क्षेत्र नं १ का मतदाता हर्षित छन् । म मात्रै नभएर गठबन्धनका सबै उम्मेदवार उत्साहित छौं । निर्वाचन क्षेत्रका मतदाताले जितको चिन्ता नगर्नुहोस्, भावी योजना बनाउन लाग्नुहोस् भनेर सुझाव दिएका छन् । सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीका कुरा आएका छन् । आफूलाई मत हाल्ने मतदातासँग नियमित भेट होस् भन्ने चाहना छ । हामीले संघीय संसदको सदस्यको भूमिका, प्रदेशसभा सदस्यको भूमिकाबारे स्पष्ट गर्दै गर्न सकिने कामबारे बताएका छौं । यस क्षेत्रको विकास र परिवर्तनका लागि अग्रजहरुको पहलमा निर्मित आधारहरुको जगमा टेकेर अघि बढ्ने संकल्प गरेका छौं । एजेण्डामा केन्द्रित छौं ।

भनेपछि चुनाव जितिन्छ भन्ने तपाईँको निष्कर्ष हो ?

हो, लोकतान्त्रिक वाम गठबन्धनले मलाई साझा उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ, यस्तो अवस्थामा जितका लागि शंका गरिरहनु आवश्यक छैन । हामी जित मात्रै होइन फराकिलो मतान्तरसहितको जित निकाल्ने कुरामा सचेततापूर्वक निश्चिन्त छौं ।

स्थानीय चुनावको मतका आधारमा माओवादी तेस्रो शक्तिका रुपमा रह्यो, क्षेत्र नं १ मा गठबन्धन पनि नाम मात्रैको भन्ने टिप्पणी छ, अनि त्यत्रो आत्मविश्वास कसरी ?

सिन्धुपाल्चोक जिल्लामै र क्षेत्र नं १ मा पनि अहिलेको लोकतान्त्रिक वाम गठबन्धन उदाहरणीय कसिलो छ । गठबन्धनको आवश्यकता र औचित्यका बारेमा गाउँ वस्तिका आम नागरिकले भन्न सक्ने भएका छन् । हामीलाई आम नागरिकले जय नेपाल र लाल सलामको सम्बोधन गरेर स्वागत, सत्कार, सम्मानसहित जितका लागि शुभकामना व्यक्त गरिरहेका छन् ।

फरक फरक राजनीतिक पृष्ठभूमिबाट आएका दलहरुबीचको अन्तरघुलनमा केही समय लागेको पक्कै हो । गठबन्धन बलियो नभैदिए हुन्थ्यो भन्ने चाहना राख्नेहरुबाट आएका टिप्पणीको अब खास अर्थ छैन । मेरो मात्रै होइन, क्षेत्र नं १ को कबाट मसिना खड्का, खबाट सरल सहयात्री पौडेल, क्षेत्र नं २ बाट मोहन बहादुर बस्नेत, २ को कबाट युवराज दुलाल सरद र २ को खबाट कृष्ण कुमार तामाङ समिरसहित हामी गठबन्धनका साझा उम्मेदवारहरु छ जनाले नै सानदार मतका साथ चुनाव जित्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर