भोजपुर प्रदेशसभाका एमाले उम्मेदवार प्रेम भन्छन्- मतदाताले मलाई साझा उम्मेदवारको रूपमा हेरेका छन् (भिडिओ) – Nepal Press
नेपाल टक

भोजपुर प्रदेशसभाका एमाले उम्मेदवार प्रेम भन्छन्- मतदाताले मलाई साझा उम्मेदवारको रूपमा हेरेका छन् (भिडिओ)

'कांग्रेस-माओवादी गठबन्धन सत्ताका लागि बनाएको भर्‍याङमात्र'

भोजपुर । भोजपुर प्रदेशसभा २ मा नेकपा एमालेबाट मैदानमा होमिएका छन्- खड्गबहादुर कार्की । उनी प्रेम कार्कीका नामले परिचित छन् । विभिन्न संघस्थामा विकास र सामाजिक परिचालनको काम गर्दै राजनीतिमा छिरेका उनी यतिबेला घरदैलोमा व्यस्त छन् ।

२०२७ सालमा साविकको वासिखोरा गाविस-७ वाक्चाखामा जन्मिएका प्रेम हाल रामप्रसादराई गाउँपालिका-८ का वासिन्दा हुन् । भोजपुरलाई विकास र समृद्धिको बाटोतर्फ डोर्‍याउन आफ्नो उम्मेदवारी भएको उनले बताए ।

निर्वाचन क्षेत्रमा सबै ठाउँमा पुगिसकेपछि मतदाताले कृषि, सडकको स्तरोन्ति, आर्थिक समृद्धि, शिक्षा तथा स्वास्थ्यको प्रभावकारिता र पूर्वाधारको कुरा उठाएको कार्कीले सुनाए ।

कार्कीले एमालेको संगठन बलियो भएको साथै अन्य दलका मतदाताले पनि आफूलाई साझा उम्मेदवारको रूपमा हेरेको बताएका छन् । गठबन्धनका उम्मेदवारहरू एजेण्डा र गन्तव्यविहीन भएर अन्य विपक्षी दल र उम्मेदवारलाई गाली गर्नेबाहेकको काममा नलागेको उनको टिप्पणी छ ।

नेपाल प्रेससँग भिडिओ वार्तामा कार्कीले भने, ‘सबै युवा साथीहरूले मलाई रुचाएको पाएको छु । मञ्चमा गएर म कसैलाई गाली गर्दिनँ । मेरा एजेण्डा अघि सारेको छु । मेरो यो शैलीलाई तारिफ गरिरहनुभएको छ ।’

हेर्नुस् विस्तृत भिडिओ वार्ता

कार्कीले स्थानीय तहको मतभारलाई हेरेर गठबन्धन र एमालेबीच तुलना नगर्न आग्रह गरे । उम्मेदवार, जनतासँगको एजेण्डा अहिलेसम्मको त्याग र पछिल्ला दिनमा आफ्नै क्षेत्रमा काम गर्न सक्ने/नसक्ने रूपमा जनताले हेरिरहेकोले आफ्नो जितको बलियो आधार भएको उनले बताए ।

वैचारिक, सैद्धान्तिक केही हिसाबले नमिल्ने कांग्रेस-माओवादी गठबन्धन सत्ताका लागि बनाएको भर्‍याङमात्र भएको कार्कीले टिप्पणी गरेका छन् ।

चुनावी मैदानमा डेब्यूको रूपमा उत्रिएका कार्की एमाले प्रदेश कमिटी सचिवालय सदस्यसमेत हुन् । उनको प्रतिस्पर्धा गठबन्धनबाट उम्मेदवार कांग्रेसका जिल्ला सभापति विनोद बान्तवासँग हुँदैछ । एमाले-माओवादीको एकता प्रक्रियासँगै नेकपामा आएका उनी पछि एमालेमै बसे । उनले माओवादीको आफ्नो उम्मेदवारसमेत नभएकाले पूर्वसहकर्मीले भोट दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर