दलहरू राजधानी कार्यान्वयनको मुद्दा उछाल्दै, मतदातामा आशा भन्दा आशङ्का बढी – Nepal Press
मतदातासँग नेपाल प्रेस

दलहरू राजधानी कार्यान्वयनको मुद्दा उछाल्दै, मतदातामा आशा भन्दा आशङ्का बढी

कैलाली । गोदावरी नगरपालिका ४ मा स्थानीय बिन्दा देवी रावतको गोदावरी पुल नजिकै चार कोठे सामान्य घर छ । आफ्नो क्षेत्रमा सुदूरपश्चिम प्रदेशको राजधानी आउने भएपछि आफ्नो दुई कोठा भाडामा जाने र केही आर्थिक स्रोत बढ्ने अपेक्षा गरेकी थिइन् । रावतले यस्तो अपेक्षा गरेको चार वर्ष पुरा भयो तर, उनको चाहना पुरा भएन ।

फेरी उम्मेदवारहरू उनका घर नजिक पुग्दै छन् र भन्दै छन् ‘राजधानी गोदावरीमै हुन्छ ’। चार वर्ष पछि फेरी राजधानीको कुराले उनलाई यस पटक भने त्यही आसा दिलाएको छैन ।

‘घोषणा भएको राजधानी पनि भएन । अझै फेरी यही हुन्छ भन्दै भोट माग्न आइरहेका छन्’ उनले भनिन्, ‘चार वर्ष पहिले मेरो घर पनि भाडमा जाला भन्ने आसा पलाएको थियो । अब त त्यही आसा पनि मरिसकेको छ।’

संघीय संरचना भन्दा पहिले यहाँको क्षेत्रीय सदरमुकाम दिपायलमा थियो । प्रदेश सरकारले २०७५ असोज १२ गते गोदावरीमा राजधानी तोकेको थियो । तीव्र विवाद र विरोधका बिच तोकेको राजधानी अहिले सम्म कार्यान्वयन हुन सकेन । अहिले फेरी उहाँ उम्मेदवारहरू राजधानी निर्माण गर्ने भन्दै मत मागिरहेका छन् ।

स्थानीय ईश्वरी पन्त पनि उम्मेदवारहरूको यस्तो आश्वासनबाट त्यति उत्साहित छैनन् । ‘तोकिएको राजधानी त बन्न सकेको छैन अब फेरी यही बन्छ भन्ने हामीलाई विश्वास छैन’ उनले भनिन्, ‘अहिले उम्मेदवारहरू आएर दाबी गर्छन् । हामीलाई त्यति विश्वास लाग्दैन ।’ चार वर्ष पहिले राजधानी आफ्नो क्षेत्रमा तोकिदा विकासले गति पाउने र रोजगारी सृजना हुने अपेक्षा गरेकी पन्त फेरी जनतालाई उम्मेदवारले छल्न नहुने बताउँछिन् ।

गोदावरी मन्दिर नजिकै जङ्ग बहादुर विष्टको सानो पसल छ । अहिले फ्याट्ट फुट्ट ग्राहक आइरहने त्यो पसलमा विष्टले ठुलै लगानी गर्ने सोचेका थिए । ‘ अब राजधानी भयो व्यापार बढ्छ भनेर पसल ठुलो गर्ने योजना थियो । तर, दुवै सपना अधुरो भयो ’ उनी भन्छन् ‘अहिले पनि नेताहरू त्यही विषय लिएर फकाउन आउनु हुन्छ ।’

यी त यहाँका प्रतिनिधि पात्र मात्रै हुन् । प्रदेश सरकारले घोषणा गरेको चार वर्ष सम्म पनि कुनै संरचना निर्माण नहुँदा अहिले गोदावरीमा तोकिएको राजधानी नै अन्योलमा परेको बताउँछन् अधिकांश स्थानीय ।

गोदावरीमा राजधानी तोकिएपछि अस्थायी राजधानी भएकै क्षेत्रमा करोडौँ खर्च गरेर संरचनाहरू मर्मत गरिएका छन् । यता धनगढीमा संरचना तयार गर्दै जाने गोदावरीमा जंगल बढ्दै जाने हुँदा पनि यहाँका स्थानीय राजधानी कार्यान्वयनमा अझै सकस हुने देख्छन् । तर, उनीहरूको भावना भने तोकिएकै क्षेत्रमा राजधानी निर्माण सुरु हुनुपर्छ भन्ने छ ।

राजधानीलाई चुनावी मुद्दा मात्र नबनाएर निकास दिन यहाँका मतदाता उम्मेदवारलाई सुझाव दिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर