‘गठबन्धन सत्तास्वार्थको गठजोडमात्र, विकास र समृद्धिका लागि एमालेकै सरकार’ – Nepal Press
नेपाल टक

‘गठबन्धन सत्तास्वार्थको गठजोडमात्र, विकास र समृद्धिका लागि एमालेकै सरकार’

एमाले महासचिव शंकर पोखरेल भन्छन्- राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिकाका लागि दाङबासीले मलाई जिताउनुहुन्छ

दाङ । एमाले महासचिव शंकर पोखरेल २८ वर्षअघि २०५१ सालमा दाङ क्षेत्र नम्बर ३ मा कांग्रेस नेता दीपक गिरीलाई पराजित गरी सदनमा छिरे । उनी २०५६ मा कांग्रेस नेता कृष्णकिशोर घिमिरेसँग पराजित बने । पहिलो संविधानसभा चुनावमा समानुपातिक संसद बनेर सञ्चारमन्त्री बनेका पोखरेल दोस्रो संविधानसभामा कांग्रेसका बुद्धिराम भण्डारीसँग हारे । ७४ मा दाङ-२ को प्रदेशसभा १ बाट चुनाव जितेर उनी लुम्बिनी प्रदेशको मुख्यममन्त्री बने ।

एमालेभित्र वैचारिक नेताको छवि बनाएका पोखरेलसँग गरिएको कुराकानी नेपाल टकमा :

– तपाईँ हेभिवेट उम्मेदवार भएकै कारण पनि दाङ-२ आम चासो छ । प्रचार अभियान कसरी अगाडि बढाउनुभएको छ ?

मंसिर ४ को निर्वाचन देशको राष्ट्रियता, समृद्धि, सुशासन र विकासको आधार तयार गर्ने एउटा राष्ट्रिय पर्व हो । त्यसैले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई लिएर हामी जनताको घरदैलोमा पुगेका छौँ, जनताको अभूतपूर्व साथ समर्थन पाइएको अवस्था छ । हामी उत्साहित छौं । एकातिर समृद्ध नेपाल सुखी नेपालीको अभियानबारे जनतालाई जानकारी गराउने अर्कोतिर जनताका सुझाव लिने काम भइरहेको छ । यो अभियानमा सिंगो नेकपा एमाले, नेता, कार्यकर्ता, शुभचिन्तक खटिनुभएको छ । आम मतदाताहरू पनि समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई मंसिर ४ मा सार्थक बनाउने दिन पर्खेर बस्नुभएको छ । हामी सकेसम्म सबै बस्तीमा पुग्ने प्रयास गरिरहेका छौँ ।

– स्थानीय तहको निर्वाचनको मतभार हेर्दा गठबन्धन बलियो देखिन्छ । एमालेको जितको आधार के हो ?

पहिलो कुरा त दाङ जिल्लाका लागि राष्ट्रिय राजनीतिमा कसले भूमिका खेल्न सक्छ भन्ने कुरा आम दाङबासीले बुझिसक्नुभएको छ । किनकी एउटा सबल नेतृत्व राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुँदा जिल्लामा के हुन्छ र भूमिकामा रहँदा के भयो भन्ने कुरा धेरै टाढा जानुपर्छ जस्तो मलाई लाग्दैन । गठबन्धनमा सहभागी दलको संयुक्त सरकारले बुटवल पुर्‍याएको प्रदेशको राजधानी जिल्लामै फर्काउन हाम्रो भूमिका, नेकपा एमालेको भूमिका सबैमाझ जगजाहेर नै छ । तसर्थ सबल नेतृत्व र राष्ट्रिय राजनीतिमा कसले पहलकदमी लिनसक्छ र ऊबाट जिल्ला र राष्ट्रकै विकासमा फाइदा पुग्छ भन्ने कुरा मतदाता आफैँले भनिरहँदा जितको आधार खोजिरहनु पर्दैन । दोस्रो कुरा राजनीतिक नेतृत्वमा आएदेखि नै दाङको विकासमा पार्टीले खेलेको भूमिका पनि हो । पछिल्लो पटकमात्रै म मुख्यमन्त्रीको भूमिकामा रहँदा दाङको विकासमा गरेको योगदान कम रह्यो भन्ने मलाई लाग्दैन ।

फाइल तस्बिर ।

हामीले बनाएका रोड मिडियामा भाइरल भइरहेका छन् । हिजो हामीलाई पानीमुनिका पुल भएको जिल्ला भनेर व्यङ्ग्य गर्थे मान्छेहरूले । आज हामीले पुलैपुलको जिल्लाकारूपमा चिनिन सफल भएका छौँ । हिजो रिफर सेन्टरका रूपमा चिनिने अस्पतालहरू अहिले दर्जनवढी विशेषज्ञ सेवासहितका अस्पताल घोराही र तुलसीपुरमा छन । आयुर्वेद अस्पताल, कोभिड विशेष अस्पताल, जिल्लामा प्राविधिक शिक्षा, कृषि आधुनिकीकरण, परम्परागत दामोदरमार्गको स्तरोन्नति यस्ता दर्जनौं विकासका काम छन् । जुन सबल नेतृत्व हुँदा एमालेले गरेर देखाउँछ भन्ने कुरा हामीले पुष्टि गरेर देखाएका छौं । अर्को कुरा एमालेमात्रै राष्ट्रियता, विकास, समृद्धिका पक्षमा उभिन्छ भन्ने कुरा मतदाताले बुझिसकेकाले जित्ने आधार बलियो छ ।

– दोस्रो संविधानसभामा कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित हुनुभएको थियो । अहिले त कांग्रेस, माओवादीसहितका दल तपाईँविरुद्ध छन् । कसरी चुनाव जित्नुहुन्छ ?

त्यतिबेला म संसदमा नहुँदा दाङ विकासका दृष्टिकोणले कति पछाडि पर्‍यो भन्ने कुरा दाङबासीले राम्रोसँग अनुभूति गर्नुभएको छ । अर्को कुरा गठबन्धन पार्टी हो र ? त्यो त सत्ता स्वार्थको गठजोडमात्रै हो । जनतालाई मल चाहिँदा बेखबर हुने, महंगी बढेर जनताले किनेर खान नसक्ने अवस्था आइसक्यो । बैंकमा पैसा सकिएर ऋण नपाउने अवस्था आइसक्यो । मुद्रा सञ्चिति घटेर विदेशबाट जनताका दैनिक जीवनमा चाहिने वस्तु खरिद गर्न नसकिने अवस्था भइसक्यो । सीमामा नेपाली मारिँदा चुइँक्क बोल्न नसक्ने गठबन्धनलाई जनताको साथ हुन्छ र ? जनता स्थिर सरकार, विकास र समृद्धिको पक्षमा छन । तर, स्थिर सरकार निर्माण गर्ने हैसियत एमालेबाहेक अरुमा देख्नुभएको छ र ? गठबन्धनले जित्दा पनि बन्ने भनेको मिलिजुली सरकार नै हो । १७, ४१, ७९ सीटमामात्रै लड्ने गठबन्धन दलले स्थिर र बलियो सरकार बनाउन सक्छन भन्ने वैज्ञानिक आधार छ र ? यो देशमा एकल बहुमतको स्थिर सरकार बनाउने हैसियत एमालेसँगमात्रै छ । किनकि, हामीले प्रत्यक्षमामात्रै १४० भन्दा बढी सीटमा उम्मेदवार खडा गरेका छौं । मिलीजुली सरकार हुँदा सरकार ढाल्ने र बनाउनमै समय बित्छ भन्ने कुरा त सबैलाई थाहा छ नि ।

– सत्तागठबन्धनलाई छाडेर तपाईँलाई जनताले मत किन दिने ?

पहिलो कुरा दाङको विकास र समृद्धिका लागि मत दिने हो । हामी आउँदा काम हुन्छ भन्ने कुरा पुष्टि गरेर देखाएका छौं । कसैले गर्न नसकेको देशको गुमेको भूमि नेपालको चुच्चे नक्सामा समेटेर देखाएका छौं । अब फिर्ता ल्याउँछौँ । हामी हुँदा ठेकेदारले मल नल्याउँदा पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले बंगलादेशको प्रधानमन्त्रीसँग सीधा कुरा गरेर किसानलाई मल उपलब्ध गराउनु भएकै हो । तर, अहिले हामी नहुँदा किसानले मल किन पाएनन् त ? सरकारको पहलमा ल्याउन सकिँदैनथ्यो र ? त्यसैले हामी काम गरेर देखाउँछौ । हाम्रै नेतृत्वले वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमामा, सुत्केरी भत्ता, रोजगारमा आधारित सामाजिक सुरक्षा कोष ल्याएको हो । मुख्य कुरा राष्ट्रिय स्वाभिमान र स्वाधीनताको रक्षाका लागि एमालेलाई मत दिनुपर्छ । हाम्रै कारणले दाङ फिर्ता गरिएको राजधानी व्यवहारमा कार्यान्वयन गर्नका लागि मत दिने हो । त्यसैगरी भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई पुर्जा उपलव्ध गराउनका लागि, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबै नागरिकको पहुँच स्थापित गर्नका लागि, जनताका आधारभूत आवस्यकता पूर्तिका लागि र समुन्नत दाङ निर्माण तथा समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न एमालेलाई मत दिनुपर्छ ।

– तपाईँको मुख्य चुनावी एजेण्डा के हुन् ?

दाङको समग्र विकासका लागि एमालेको तर्फबाट हामीले भर्खरै पाँच वर्षका २३ प्रतिज्ञा र २ सय ३५ अठोट सार्वजनिक गरेका छौं । केन्द्रमा पनि २० ग्यारेन्टीका रूपमा पार्टीको संकल्प पत्र सार्वजनिक गरिसकेको अवस्था छ । एजेण्डागत विवरण धेरै छन् । तर, समृद्ध दाङ एमालेको अभियान हो । त्यस्तै समृद्ध नेपाल सुखी नेपाली एमालेको अभियान हो । यही आकांक्षा पूरा गर्न गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, स्वरोजगार र उद्यम विकास, किसानलाई प्रोत्साहन, सिँचाइ, सडक, पुललगायतका भौतिक पूर्वाधार निर्माण हाम्रो प्राथमिकताको विषय हो । हिजो हामी व्यवस्था परिवर्तनका लागि लड्यौं । गणतन्त्र ल्यायौं । धर्मनिरपेक्षता, सामानुपातिक समावेशीता, राज्यको पुनरसंरचना गरेर राजनीतिक कोर्ष पूरा गर्‍यौं । अहिलेको समय विकास र समृद्धिको हो । त्यसका लागि देशमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ । जसले स्थिर सरकार निर्माण गरेर देश र जनताको हितमा काम गरोस् । एमाले त्यही अभियानमा छ ।

– तपाईँ मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको स्थायी राजधानी तपाईँकै गृह जिल्ला दाङ तोकियो । फेरि लुम्बिनी नै फिर्ता लैजाने भनेर केही नेताले सार्वजनिक रूपमै बोलिरहेका छन् । यो सम्भव छ ?

कानूनतः प्रदेशको राजधानी पटकपटक तोक्ने विषय होइन । एकपटक निर्णय गर्न नसकेर त कतिपय ठाउँमा नामाकरण हुनसक्या छैन । त्यसकारणले दाङ तोकिएको राजधानी फेरि रूपन्देही लैजान सम्भव छैन । कसैले फेरि राजा ल्याउँछौँ भन्नु र लुम्बिनी प्रदेशको राजधानी रूपन्देही फिर्ता लैजान्छौँ भन्नु उस्तैउस्तै हो जस्तो मलाई लाग्छ । कसले के प्रसंगमा के बोले मलाई थाहा भएन । बुझक्ड नेताहरूले हाइफोथेटिकल कुरा नबोलेको भए राम्रो हुन्थ्यो ।

प्रस्तुति : गणेश आचार्य


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर