प्रदीप भट्टराईसँग संवादः धेरै अगाडि बढ्नु छ, गाडी चढ्न केको हतार ? – Nepal Press

प्रदीप भट्टराईसँग संवादः धेरै अगाडि बढ्नु छ, गाडी चढ्न केको हतार ?

बाबु बनेपछि बाबुको कथा लेख्न प्रेरणा मिल्यो

काठमाडाैं ।  ‘हिट डाइरेक्टर’ को पहिचान बनाएका प्रदीप भट्टराईले पछिल्लो चलचित्र ‘महापुरुष’ बाट आफ्नो छवि थप मजबुत बनाएका छन् । यो चलचित्रले तेस्रो हप्तासम्म आइपुग्दा पनि हलहरुमा दर्शक तानिरहेको छ ।

सर्लाहीको हरिवन निवासी भट्टराईले यसअघि ब्याक टु ब्याक तीनवटा हिट फिल्म दिएका थिए । चौथो फिल्म पनि हिट भएपछि उनको चर्चा चुलिएको छ । उनलाई धमाधम नयाँ चलचित्रका लागि अफरहरु आउन थालिसकेका छन् ।

सरल र शालिन स्वभावका भट्टराई सेन्स अफ ह्यूमर निकै राम्रो भएका निर्देशक हुन् । त्यसैले उनका हरेक चलचित्रमा दर्शकले हाँसोको प्रधानता हुन्छ । महापुरुषमा भने उनले दर्शकलाई हसाउन मात्र नभएर रुवाउन पनि सफल भए । यद्यपि, दर्शक रुवाएर पैसा कमाउने ध्येयन नराखेको उनी बताउँछन् ।

यिनै जल्दाबल्दा निर्देशक भट्टराईसँग चलचित्र ‘महापुरुष’ माथि केन्द्रीत रहेर गरिएको यो कुराकानीः

महापुरुषमा किन नयाँ अनुहारलाई नै नायक–नायिका रोज्नुभयो ?

खासमा हामीले नयाँ नायक–नायिका राख्ने भनेर राखेका होईनौँ । न त हामीलाई नेपाल सरकारले यस चलचित्रमा चाहीँ नयाँ नै राख्नुपर्छ है भनेर आदेश दिएको थियो । छान्दा उहाँहरु नयाँ पर्नुभएको हो । हामीलाई त पुरानै भए पनि हुन्थ्यो ।

हामीले यस चलचित्रको लागि खुल्ला अडिसन राखेका थियौँ जहाँ हामीले नयाँको मात्र नभएर पुराना, चलेका र महङ्गा नायक–नायिकाहरुसँग पनि अडिसन लिएका थियौँ । हामीले यस क्षेत्रका लगभग सबैजनाको अडिसन लिएका थियाँै भन्दा फरक पर्दैन । सायद उहाँहरुको भाग्य होला हामीसँग जोडिनु । अन्तमा उहाँहरु फाइनल हुनुभयो ।

मलार्ई के लाग्छ भने, फिल्म क्षेत्रमा यो नयाँ भन्ने शब्द नै हुँदैन । किनकी नयाँ चलचित्र र त्यहाँ उसले निभाउनुपर्ने चरित्र जस्तोसुकै चलेका कलाकारहरुको लागि पनि नयाँ नै हुन्छ । हरिवंश आचार्य दाइले यस्तो चरित्र पहिलोपटक यस चलचित्रमा निभाउनुभएको छ । मतलब यो उहाँको लागि पनि नयाँ नै हो ।

नयाँ नायक–नायिका राख्दा पारिश्रमिक कम दिनुपर्छ भनेर त होइन ?

होइन नि । खासमा नयाँ कलाकारहरु राख्नु त एकदमै जोखिमपूर्ण कार्य हो । चलेको कलाकार राख्दा केही नभएपनि सुरुवाती व्यापार राम्रो हुन्छ भन्ने आश हुन्छ । नयाँलाई त बजारमा कसले चिन्छ र रु नयाँलाई राखेर उसलाई बजारमा चिनाउँदा पुराना कलाकारहरुलाई दिने पारिश्रमिकभन्दा बढी खर्च हुन्छ । अनि त्यति १०, १५ लाखको लोभले तीन करोडको घाटा व्यहोर्न कसलाई मन हुन्छ र ?

चलचित्र रिलिज भएको अलिक दिन त मेरो, हरिवंश दाई र मदनकृष्ण दाईको नामले पनि दर्शकहरु हलसम्म आइदिनुहुन्छ होला भन्ने लागेर हामीले यति जोखिम उठाएका हौं । पैसाको लोभ केही होइन । मात्र त्यो चरित्रमा उहाँहरु फिट हुनुभएकाले हामीले उहाँहरुलाई राखेका हौँ ।

उहाँहरुलाई कसरी फेला पार्नुभयो ? के आधारमा छनोट गर्नुभयो ?

हामीले उहाँहरुलाई अडिसनबाटै छानेका हौँ । छनौटको थुप्रै आधारहरु हुन्छन् । जस्तो, अडिसनको केही दिनअघि हामी उहाँहरुलाई चलचित्रको विशेष–विशेष भूमिका रहेको सिनहरु दिन्छौँ । अडिसनको समयमा उहाँहरुले त्यही भूमिकामा रहेर अभिनय गर्नुपर्ने हुन्छ । हामी उहाँहरुलाई यो गर, त्यो गर पनि भन्दैनौँ । उहाँहरुलाई जस्तो आउँछ, त्यस्तै हामीमाझ प्रस्तुत गर्नुहुन्छ ।

यो एउटा आधार हो छनोटको । अर्को भनेको चरित्रमा उसको उमेर र अनुहारले साथ दिन्छ वा दिँदैन हेर्नुपर्यो । र, मुख्य कुरा भनेको मान्छे कस्तो छ बुझ्नुपर्यो । मान्छेको कला अलि थोरै होस्, त्यसमा केही फरक परेन, तर उसको बानीव्यहोरा भने राम्रो हुनुपर्यो । ट्यालेन्ट छ, तर स्वभाव राम्रो छैन भने त्यो मान्छेको के काम रु ट्यालेन्ट ५० प्रतिशत भए पनि बानी चाहीँ १०० प्रतिशत राम्रो भएको मान्छेसँग काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

कला भनेको निखारिँदै जाने कुरा हो । जन्मिदै कोही सिद्ध हुँदैन । हामीले खोजेको चरित्रमा उहाँहरुलाई एकदमै नजिक पायौँ, त्यसैले उहाँहरुलाई चलचित्रमा राख्यौँ ।

तपाई आफैँ यति ह्यान्डसम हुनुहुन्छ । आफैंलाई चाहीँ स्क्रिनमा देखिन रहर लागेको छैन ?

हाहा । खासमा मलाई मेरो चलचित्र नचलोस् भन्ने लाग्दैन । म खेलेँ भने फेरि हल रित्तो होला । मलाई चाहीँ लेखन र निर्देशनमा नै मज्जा लाग्छ । अझै दुई–चारवटा अरु चलचित्रहरु बनाउँ । दश–बाह्रवटा अरु चलचित्रहरु राम्रो होस् । अनि चाहीँ बरु तपाईले भन्नुभएको जोखिम उठाउँला । अब चाहीँ फिल्म नचले पनि हुन्छ भन्ने भएपछि खेलौँला नि ।

चलचित्रको कथा लेख्न कति समय लाग्यो ?

ठ्याक्कै भन्नुपर्दा तीन वर्ष लाग्यो । हाम्रो लागि यो एकदमै संवेदनशील कुरा थियो । एक त हामीले नभोगेको कुरा । त्यसमाथि कथालाई पर्दामा उतार्दा चलचित्रलाई न्याय दिन सकिएला या नसकिएला भन्ने डर ।

‘महापुरुष’ धेरै रिसर्च गरेर बनेको चलचित्र हो । बुढाबुढीको अगाडी बसेर, उहाँहरुको कहानी सुनेर कोरिएको कथा हो यो । जसले पहिले नै भोगिसक्नुभएको छ, उहाँहरुसँग कैयौँ दिन बसेर, रेकर्ड गरेर पर्दामा उताएिको उहाँहरुको भोगाई हो यो । हाम्रो चलचित्रमा बोलिएका धेरैजसो संवादहरु उहाँहरुबाटै लिइएका छन् । त्यसैले पनि धेरै समय लाग्यो ।

धेरै पनि नभनौँ । किनकी विदेशतिर वर्षौ वर्ष लाएर एउटा चलचित्र लेख्नुहुन्छ । उहाँहरुको अगाडि हाम्रो त एकदमै कम हो । सामान्य भाषामा भन्नुपर्दा धेरै मेहेनत लागेर बनेको चलचित्र हो ‘महापुरुष’ ।

के कुराले यस्तो कथा लेख्न प्रेरित गर्यो ?

अगाडिका तीन चलचित्रहरु बनाइसकेपछि हामी प्राविधिक हिसाबमा त पोख्त भयौँ, तर मलाई भने सधैँ केही कुरामा चुकेजस्तो लाग्थ्यो । यो कथा हामीेले एकजना बुवाको मुखबाट अगाडी नै सुनिसकेका थियौँ । तर यसमा खासै ध्यान दिन पाएका थिएनौँ । मैले उहाँको कथाले भरिएको चार–पाँच घण्टाको अडियो पनि सुनेको थिएँ । तर कहिल्यै पनि यस कथामा आधारित रहेर चलचित्र बनाउनुपर्छ भन्ने सोच दिमागमा नै आएन ।
तीनवटा चलचित्र बनाइसकेपछि आफैँमा एक परिपक्वता आउँदो रहेछ । जब म आफैँ बुवा भएँ । अनि मलाई बुवाको कथा लेख्न मन लाग्यो । जब–जब म मेरो छोरालाई हेर्थें, तब–तब मलाई त्यो बुवाको कथा याद आउँथ्यो । यसरी नै बिस्तारै कोरिएको भाव हो ‘महापुरुष’ । खासमा यो चलचित्र बन्न जरुरी पनि थियो । कमसेकम यसले मनभरि दुख, पिडा लुकाएर समाजले के भन्ला भन्ने डरमा निसासिएको व्यक्तिको कथा पर्दामार्फत प्रस्तुत गरेको छ ।

‘महापुरुष’ एक चलचित्र मात्र होइन । यो मनमा पिडा लुकाएर महापुरुष बन्न खोज्ने पुरुषको वेदना हो ।

तपाईंको आफ्नै नजरमा महापुरुषका कमजोरीहरु के के हुन् ?

मेरोलागि एकचोटी कुनै चलचित्र बनिसकेपछि, सकियो । म कमीकमजोरी केलाउने काम गर्दिन । पछाडि फर्केर किन बाँच्नु क्या ? एकचोटी जे भयो, भयो । कसैले आएर मेरो कमीकमजोरी निकालिदिनुहुन्छ भने, म त्यसलाई सहर्ष स्विकार्छु । तर चलचित्र तयार भइसकेपछि चलचित्रमा के–के कमीकमजोरीहरु भए भनेर म हेरेर बस्दिनँ ।

हिट निर्देशकको रुपमा कहलिनुभएको छ, अब तपाईंलाई चलचित्रको निर्देशन गराउँदा कति पारिश्रमिक दिनुपर्ला ?

सर्वप्रथम त, मैले अहिलेसम्म त्यसरी पारिश्रमिक लिएर काम गरेको नै छैन । अस्ति भर्खरै चाहिँ ‘निउँ’ भन्ने चलचित्र साइन गरेँ । एक त हामी एउटै चलचित्रमा धेरै समय लगाएर काम गर्छौं । एउटै चलचित्रमा धेरै समय खर्च हुने भएपछि हामीलाई पनि यो क्षेत्रमा बाँच्न गाह्रो हुने नै भयो । घरपरिवार हेनुपर्यो । बालबच्चा छन् । आफ्नो खर्च भन्यो । फेरि आफ्नो मात्र सोचेर पनि भएन । हाम्रो क्षेत्र त्यस्तो जसले जति डिमान्ड गर्यो, त्यति पुर्‍याइदिन सक्ने क्षमता भएको भइसकेको पनि छैन ।

जे होस् घर टर्ने हिसाबको लिन्छु । अहिलेसम्मका मेरा सबै कामहरु मैले एकल भन्दा पनि सेयरमा गर्दै आएको हो । त्यसैले यति नै पारिश्रमिक चाहीँ भन्न सकिन्न ।

तपाईंले साइन बाइक चढेको विषयलाई लिएर निकै ट्रोल हुनुभयो । अब महापुरुषले तपाईंलाई गाडी चढाउला ?

गाडीमात्र हैन मैले प्लेन पनि चढेको छु । आफ्नो नभएको मात्र हो । भाडा तिरेपछि काठमाडौँमा बस्ने घर त आफ्नै हो भन्छन् । हामीले के चढ्यौँ, के चढेनौँ भन्दा पनि हामीले चढेको त्यो कुराले हामीलाई दुख दिनु भएन । म गाडी चढ्न जति पनि सक्छु । तर गाडी चढ्न र सम्पत्ति जोड्न मात्र मैले काम गरेको होइन ।

दुईचार वर्ष अझैँ काम गरौँ । अझै अलि पैसा कमाऊँ । पैसा कमायो भन्नेबित्तिकै गाडी नै चढनुपर्छ भन्ने छैन नि । पैसा र भौतिक वस्तुहरूको मात्र पछि लागियो भने त अबको केही समयमा करियर ध्वस्त हुन्छ । मन लाग्दा गाडी चढ्न कुनै ठूलो कुरा होइन । अझैँ केही समय मलाई गाडी चढ्न हतार छैन ।

निर्देशकलाई दर्शक रुवाउँदा बढी खुशी मिल्दोरहेछ कि हँसाउँदा ?

मलाई त सकेसम्म कसैलाई रुवाएर खानु नपरोस् जस्तो लाग्छ । ‘महापुरुष’ हेरिसकेपछि अधिकांश दर्शकहरु हलबाट रुँदै निस्किनुभएको थियो । त्यसरी दर्शकहरुलाई रुवाउने हाम्रो कुनै मनसाय नै थिएन । हामीले उहाँहरुलाई रुँदै निस्किएको देखेपछि ‘सरी’ पनि भनेका थियौँ । तर उहाँहरुले उल्टै हामीलाई आशिर्वाद दिँदै खुसीको आँशु झरेको बताउनुभयो। हामीले बोल्न नसकेको कुरा चलचित्रमा उतारेकोमा भन्दै उल्टै धन्यवाद दिनुभयो । केही ठाउँमा हामीले हाम्रो दर्शकहरुलाई जरुर रुवाएका छौँ, तर अधिकाशं दृष्यहरुमा हामीले हसाउने प्रयास गरेका छौँ ।

चलचित्रमा नव–कलाकारहरु राख्नुभएको छ । हिरोलाई अभिनय गराउन गाह्रो भयो कि हिरोइनलाई ?

सबैलाई । निर्देशक भइसकेपछि धेरै कुरामा गाह्रो हुन्छ । छायांकन अघि वा पछि, कलाकारहरुले चलचित्रको कुन भागमा वा भनौँ, कुन भूमिकामा कस्तो अभिनय गर्ने अथवा कस्तो मुडमा रहने भन्ने कुराको आभाष एउटा निर्देशकलाई अलि धेरै हुन्छ । केही यताउता गडबड भयो भने सबैलाई सच्याउन लाउनुपर्ने हुन्छ । अब त्यस्तो बेलामा मदनकृष्ण दाई र हरिवंश दाई जस्तो अग्रज व्यक्तित्वहरुलाई फेरि गर्न लाउनुपर्यो भने त, त्यो जस्तो गाह्रो के होला र ? त्यसैलाई सबैलाई नै गाह्रो भएको थियो ।

छायांकनको कुनै पनि समयमा नवकलाकारहरु राखेर गलत गरेजस्तो महसुस भयो कि भएन ?

भएन । किनकी हामीले उनीहरुलाई कसैको लैलैमा लागेर राखेको थिएनौँ । त्यत्रो मानिसहरुको भिडबाट यसले चाहीँ गर्न सक्छ है भन्ने कुरामा विश्वस्त भएर राखेका थियौँ । हामीले उनीहरुलाई साइन पनि त्यत्तिकै गराएका होइनौँ । चलचित्र साइन गर्न मात्रै उनीहरुले लगभग एक वर्ष कुरेका छन् । त्यो बीचमा पनि हामीले उनीहरुलाई धेरै चलचित्र सम्बन्धित कार्यहरु गर्न लगाएका थियौँ । कहिले कुन सिनमा, कहिले कुन सिनमा अभिनय गरेर भिडियो पठाउन लाउँथ्यौँ ।

अरुण र अन्जना मेहेनत गरेर आएका कलाकारहरु हुन् । छायांकनको समयमा कहिलेकाहीँ कुनै–कुनै दृष्यहरुमा चाहीँ अझै राम्रो गर्न सकिन्थ्यो भन्ने भएको थियो । तर छ्या कस्तोलाई राखेछु भन्ने चाहिँ कहिल्यै पनि मनमा आएन ।

महापुरुष चल्नुको मुख्य कारण यी तीनमध्ये कुन होला ? हरिवंशको ब्रान्ड र अभिनय, फिल्मको कथावस्तु र प्रस्तुति, तपाईंको निर्देशन ।

तीनवटै कुराले गर्दा हो । मेरो निर्देशनले मात्र चलचित्र राम्रो हुन्छ भन्ने हैन । हरिवंश–मदनकृष्णको ब्राण्डले काम गर्यो होला । कथावस्तु पनि ठीकै बन्यो होला । मैले गरेको निर्देशनले मात्र वा भनौँ हरिवंश–मदनकृष्णको अभिनयले मात्र दर्शकको मन नछुन पनि सक्थ्यो होला । यहाँ कुनै एक छानेर अरु हटाउनै मिल्दैन ।

बरु म चौथो विकल्प जोड्न चाहन्छु । चलचित्रमा जुन कथा प्रस्तुत गरिएको छ , त्यो चाहीँ दर्शकहरुको मनसँग जोडिएर हो । एउटा कनेक्सन महसुस भएर हो । त्यसैले तपाईले भन्नुभएको तीनवटा र मैले जोडेको यो एउटा कारणले ‘महापुरुष’ चलेको हो ।


प्रतिक्रिया

One thought on “प्रदीप भट्टराईसँग संवादः धेरै अगाडि बढ्नु छ, गाडी चढ्न केको हतार ?

  1. चलचित्रको बिषय उठान अत्यन्त सुन्दर छ तर पात्रहरु गहिराईमा पुग्दैनन् । साधनस्रोत र समयको कमीले होकी ?
    यस्तै राम्रा चलचित्रहरु बनाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर