विश्वकपमा ‘गोल’, जसले बनायो विजेता – Nepal Press

विश्वकपमा ‘गोल’, जसले बनायो विजेता

दोहा । फुटबलमा गोलले तय गर्छ, विजेता । जसले बढी गोल गर्छ, उसैको यात्रा अघि बढ्छ, विजेता हुन्छ । जतिसुकै राम्रो खेले पनि विपक्षीभन्दा बढी गोल गर्न नसक्दासम्म उसको यात्रा अगाडि बढ्दैन ।

विश्वकप फुटबलको २१ संस्करणसम्म २ हजार ५ सयभन्दा बढी गोल भएका छन् । चार वर्षअघि रुसमा सम्पन्न विश्वकपमा १६९ गोल भएको थियो । एकै विश्वकपमा यो सबैभन्दा बढी गोल भएको भने होइन । सन् २०१४ र १९९८ को विश्वकपमा सर्वाधिक समान १७१ गोल भएको थियो ।

यी दुवै संस्करणमा समान ६४ खेलमा यी गोल भएका थिए । सबैभन्दा कम गोल भएको प्रतियोगिताका रुपमा सन् १९३० र १९३२ को संस्करण रहे । यी दुईमा ७० गोल भएको थियो । तर, सन् १९३० विश्वकपमा १८ र १९३२ को संस्करणमा १७ खेल थिए ।

विश्वकप इतिहासमा सबैभन्दा बढी गोल ब्राजिलले गरेको छ । ब्राजिलले २२९ गोल गरेको छ । ब्राजिलका ८० जना खेलाडीले यी गोल गरेका हुन् । सबैभन्दा बढी गोल व्यहोर्ने टोली भने जर्मनी हो । जर्मनीले १२५ गोल खाएको छ ।

एकै संस्करणमा सबैभन्दा बढी गोल गर्ने टोली हंगेरी रहेको छ । हंगेरीले सन् १९५४ को विश्वकपमा २७ गोल गरेको थियो । सबैभन्दा बढी गोल व्यहोर्ने देश दक्षिण कोरिया हो । दक्षिण कोरियाले सन् १९५४ को संस्करणमा १६ गोल खाएको थियो ।

एकै खेलमा सबैभन्दा बढी गोल व्यहोर्ने टोली भने एल साल्भाडोर रहेको छ । एल साल्भाडोरले सन् १९८२ को विश्वकपमा हंगेरीसँग १०-१ गोलको हार व्यहोरेको थियो । एकै खेलमा सबैभन्दा बढी गोल भएको खेल सन् १९५४ मा अस्ट्रेलिया र स्वीट्जरल्यान्डबीचको थियो । जुन, खेलमा ७-५ गोलको नतिजासहित कुल १२ गोल भएको थियो ।

विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोसको नाममा छ । उनले सन् २००२, २००६, २०१० र २०१४ को विश्वकप खेल्दै कुल १६ गोल गरेका छन् ।

एकै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान फ्रान्सका जस्ट फोन्टाइनको नाममा छ । उनले सन् १९५८ को विश्वकपमा १३ गोल गरेका थिए । एकै खेलमा सर्वाधिक गोल गर्ने खेलाडी रुसका ओलेग सालेन्को हुन् । उनले सन् १९९४ को विश्वकपमा क्यामरुनविरुद्ध ५ गोल गरेका थिए ।

सन् १९३८ को विश्वकपमा पोल्यान्डका अन्स्र्ट विलियम्स्कीले ब्राजिलविरुद्ध ४ गोल गरे पनि उनको टोली पराजित भएको थियो । अतिरिक्त समयमा धकेलिएको त्यस खेल ब्राजिलले ६-५ गोलले जितेको थियो ।

विश्वकपमा शानदार पुनरागमन भएको इतिहास पनि छ । सन् १९५४ को विश्वकपमा स्वीट्जरल्यान्डविरुद्ध ३-० गोलले पछाडि रहेर पनि अस्ट्रियाले उक्त खेल ७-५ गोलले जितेको थियो ।

सन् १९६६ को विश्वकपमा उत्तर कोरियाविरुद्ध ३-० गोलले पछाडि रहेको पोर्चुगल अन्ततः ५-३ गोलले विजयी भएर अगाडि बढेको थियो । सन् १९६२ को विश्वकपमा कोलम्बिया तत्कालीन सोभियत युनियनसँग ३-० गोलले पछाडि रहेर पनि ३-३ गोलको बराबरी गर्न सफल भएको थियो ।

सन् २००२ को विश्वकपमा उरुग्वे सेनेगलविरुद्ध ३-० गोलले पछाडि रहेर पनि खेल ३-३ गोलको बराबरी गर्न सफल भएको थियो । विश्वकपको फाइनलका हकमा सन् १९५४ को संस्करणमा तत्कालीन पश्चिम जर्मनीले हंगेरीविरुद्ध २-० गोलले पछाडि रहेर पनि अन्ततः ३-२ गोलको नतिजासहित उपाधि जितेको थियो ।

विश्वकपमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी टर्कीका हाकान सुकुर हुन् । उनले सन् २००२ मा दक्षिण कोरियाविरुद्ध खेल सुरु भएको ११ सेकेन्डमा गोल गरेका थिए । त्यसअघि चेकोस्लोभाकियाका भाकलाभ मासेकले सन् १९६२ मा मेक्सिकोविरुद्ध १६ सेकेन्डमा गोल गरेका थिए । विश्वकपको पहिलो गोल गर्ने खेलाडी फ्रान्सका लुसियन्ट लाउरेन्ट हुन् । उनले सन् १९३० को विश्वकपमा मेक्सिकोविरुद्ध १९औं मिनेटमा गोल गरेका थिए ।

विश्वकपमा सबैभन्दा बढी पेनाल्टी पाउने टोली स्पेन हो । स्पेनले हालसम्म १८ वटा पेनाल्टी पाएको थियो । तीमध्ये १५ वटामा गोल गरेको थियो । सबैभन्दा बढी पेनाल्टी मिस गर्ने टोली ब्राजिल रहेको छ । ब्राजिलले ४ पटक पेनाल्टी मिस गरेको छ । सबैभन्दा बढी पेनाल्टी सेभ गर्ने टोली पनि ब्राजिल नै रहेको छ ।

ब्राजिलले हालसम्म ४ पटक पेनाल्टी सेभ गरेको छ । विश्वकपको इतिहासमा सबैभन्दा बढी पेनाल्टी भएको संस्करण चार वर्षअघि रुसमा सम्पन्न हो ।

त्यतिवेला २९ वटा पेनाल्टी दिइएको थियो । जसमा २२ वटामा गोल भएको थियो भने ७ वटामा गोल हुन सकेको थिएन । त्यसअघि एकै विश्वकपमा १८ वटासम्म पेनाल्टी दिइएको थियो । सन् २००२ को विश्वकपमा उक्त कीर्तिमान बनेको थियो ।

यस्तै, विश्वकप फुटबलको इतिहासमा ५२ वटा आत्मघाती गोल भएको छ । आत्मघाती गोल गरेका टीमले ७ खेलमात्र जितेको छ । यस्तै ८ खेल बराबरी भएको छ । चार वर्षअघिको रुस विश्वकपमा १२ गोल आत्मघाती रहेको थियो । एकै विश्वकपमा सबैभन्दा बढी आत्मघाती गोल भएको संस्करण थियो यो । त्यसअघि सन् १९९८ को विश्वकपमा ६ वटा आत्मघाती गोल भएको थियो ।

विश्वकप इतिहासमा पहिलो आत्मघाती गोल सन् १९३० मा भएको थियो । पहिलो विश्वकपमा मेक्सिकोका मानुयल रोसासबाट चिलीविरुद्ध खेल्नेक्रममा आत्मघाती गोल भएको थियो । विश्वकपमा हालसम्म मेक्सिकोबाट ४, बुल्गेरियाबाट ३ तथा स्पेन, अस्ट्रेलिया, मोरक्को, दक्षिण कोरिया, स्वीट्जरल्यान्ड, सर्विया, नेदरल्यान्ड्स, नाइजेरिया, ब्राजिल, रुस र पोर्चुगलबाट २-२ पटक आत्मघाती गोल भएको छ । अन्य २३ देशबाट पनि एक एकपटक आत्मघाती गोल भएको छ ।

सन् १९३४, १९५०, १९५८, १९६२ र १९९० को संस्करणमा भने आत्मघाती गोल भएको थिएन ।

विश्वकपमा भएका ‘ह्याट्रिक’

प्रायः हरेक विश्वकपमा कोही न कोहीले ह्याट्रिक गरिरहेको तथ्यांकले देखाउँछ । रुस विश्वकपमा क्रिस्टियानो रोनाल्डो र ह्यारी केनले एक–एक वटा ह्याट्रिक गरेका थिए । विश्वकपमा एकै खेलाडीले दुईपटकसम्म ह्याट्रिक गरेको इतिहास छ । यस्तो सफलता प्राप्त गर्ने चार जना खेलाडी छन् ।

सान्दोर कोक्सिसले सन् १९५४, जस्ट फन्टाइनले सन् १९५८, गर्ड मुलरले सन् १९७० र गाब्रियल बाटिस्टुटाले सन् १९९४ र १९९८ मा दुईवटा ह्याट्रिक गरेका थिए । सन् १९६६ को विश्वकप फाइनलमा इङ्ल्यान्डका जियोफ हस्र्टले पश्चिम जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए । विश्वकप फाइनलमा ह्याट्रिक भएको त्यही एकमात्र हो ।

पहिलो ह्याट्रिक गर्ने खेलाडी अमेरिकाका बर्ट पेटेनाउड हुन्, यी अमेरिकी खेलाडीले सन् १९३० मा पाराग्वेविरुद्ध गोल गरेका थिए । सबैभन्दा छिटो ह्याट्रिक पूरा गर्ने खेलाडी हंगेरीका लास्लो किस हुन् ।

उनले सन् १९८२ को विश्वकपमा एल साल्भाडोरविरुद्ध ८ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । त्यस खेलमा सब्स्टिच्युट खेलाडीका रुपमा उत्रिएका किसले ६९, ७२ र ७६ औं मिनेटमा गोल गरेका थिए । सबैभन्दा बढी सन् १९५४ को विश्वकपमा ८ वटा ह्याट्रिक भएको थियो ।

विश्वकपका गोलरक्षक

गोल त्यतिवेला हुन्छ जुनवेला गोल लाइन पार भएर पोस्टभित्र छिर्छ । तर, यो काम सजिलो हुँदैन । विश्वका बलिया टोली र एकसेएक स्ट्राइकर गोलका लागि संघर्ष गरिरहेका देखिन्छन् । किनभने गोलपोस्टमा पर्खाल जसरी बसिरहेका हुन्छन् गोलरक्षक ।

विश्वकप इतिहासमा एकै प्रतियोगितामा सबैभन्दा कम गोल व्यहोर्ने गोलरक्षक स्वीट्जरल्यान्डका पास्कल जुबरबुल्हर हुन् । उनले सन् २००६ को विश्वकपमा एक गोल पनि व्यहोरेनन् । तर पनि स्वीट्जरल्यान्ड प्रि-क्वार्टरफाइनलमा टाइब्रेकरमा पराजित भएर बाहिरिएको थियो । स्वीट्जरल्यान्डले समूहगत चरणमा दुई जीत र एक बराबरी खेलेको थियो ।

प्रि–क्वार्टरफाइनलमा युक्रेनसँग पेनाल्टी सुटआउटमा पराजित भएर बाहिरिएको थियो । पेनाल्टी सुटआउटमा भने स्वीट्जरल्यान्डका सुरुका तीनवटा प्रहार विफल भएको थियो । सुरुको प्रहार रोकेका जुबरबुल्हरले त्यसपछिका लगातार तीन प्रहारमा गोल व्यहोरेका थिए ।

विश्वकप जित्दाका गोलरक्षकमध्ये सन् १९९८ मा फ्रान्सका फाबियन बार्थेज, सन् २००६ मा इटालीका जियाँलुइगी बुफोँ र सन् २०१० मा स्पेनका इकर कासिलासले त्यतिवेला समान २-२ गोल व्यहोरेका थिए ।

विश्वकपको एकै खेलमा धेरै गोल व्यहोर्ने गोलरक्षक एल साल्भाडोरका लुइस गुएभारा मोरा हुन् । सन् १९८२ को विश्वकपमा हंगेरीले उनलाई पार गरेर १० गोल गरेको थियो । एकै विश्वकपमा धेरै गोल व्यहोर्ने गोलरक्षक दक्षिण कोरियाका हङ डुक युङ हुन् ।

उनले सन् १९५४ को विश्वकपमा १६ गोल व्यहोरेका थिए । विश्वकपमा सबैभन्दा बढी खेलमा गोल नव्यहोर्ने इङ्ल्यान्डका पिटर सिल्टन र फ्रान्सका फाब्रियन बार्थेज हुन् । उनीहरुले १० खेलमा एक गोल पनि व्यहोरेनन् । लगातार सबैभन्दा धेरै समय गोल नव्यहोर्ने इटालीका वाल्टर जेंगा हुन् । सन् १९९० को विश्वकपमा विपक्षीले उनीविरुद्ध लगातार ५१७ मिनेटसम्म गोल गर्न सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर