श्री गुरुङको दाबी- मेरो जितको आधार कङ्क्रिट र परिपक्व एजेण्डा (भिडिओ) – Nepal Press

श्री गुरुङको दाबी- मेरो जितको आधार कङ्क्रिट र परिपक्व एजेण्डा (भिडिओ)

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार श्री गुरुङ अन्य उम्मेदवारभन्दा आफ्ना एजेण्डा यथार्थमा आधारित भएकाले जित पक्का भएको दाबी गर्छन् । भन्छन्, ‘मैले अगाडि सारेको एजेण्डा अरु भन्दा फरक छ । कङ्क्रिट छ । मैले अनुभवको आधारमा एजेन्डाहरू जनतामाझ लगेको छु । जनताले विश्वास गर्छन् ।’

स्थानीय तह निर्वाचनपछि राजनीतिमा युवाहरू स्वतन्त्र रूपमा उदाइरहेका बेला प्रतिनिधिसभामा उम्मेदवारी दिएको गुरुङ पेसाले व्यवसायी हुन् । उनी पत्रकारितामा पिएचडी गरिरहेका छन् ।

पर्यटनको विकास र विस्तारबाट नै देशको गरिबी र बेरोजगारीको समस्या हल गर्ने भएकाले आफ्नो प्रमुख र एक मात्रै एजेण्डा आत्म निर्भर नेपाल भएको गुरुङको भनाई छ ।

उनी भन्छन्, ‘मेरो एक मात्रै एजेण्डा आत्म निर्भर नेपाल हो । यसका लागि पर्यटन प्रवर्द्धन, ऊर्जा र प्रविधिको विस्तार मुख्य कुरा हुन् । पर्यटनले सबैभन्दा बढी गरिबी र बेरोजगारीको समस्या हल गर्छ भन्ने मेरो धारणा हो ।’

स्वतन्त्र हैसियतको सांसदले प्रतिनिधिसभामा ठूलो भूमिका खेल्न नसक्ने टिप्पणीमा गुरुङ भन्छन्, ‘नीति निर्माणको तहमा स्वतन्त्र र दलको सांसदले अगाडि बढाएको प्रस्तावको हैसियत बराबर हुने भएकाले त्यस्ता भन्न मिल्दैन । अहिलेको अवस्थामा कुनै पनि दलसँग बहुमत पुग्ने अवस्था नभएकाले ४, ५ दल मिलेर बन्ने सरकारमा एउटा प्रस्ताव पारित गर्न सबैको सहमति चाहिने अवस्था रहेको उनको भनाई छ । सोही प्रक्रियाले स्वतन्त्र उम्मेदवारका प्रस्ताव पनि अगाडि बढ्ने उनले बताए ।

भिडिओ : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *