एमाले उम्मेदवारको दाबी- अर्जुन नरसिंहले पञ्चायतदेखि नगरेको काम हामीले ३ वर्षमा गर्‍यौँ – Nepal Press

एमाले उम्मेदवारको दाबी- अर्जुन नरसिंहले पञ्चायतदेखि नगरेको काम हामीले ३ वर्षमा गर्‍यौँ

नुवाकोट । नेकपा एमालेका उम्मेदवारहरूले सत्ता गठबन्धनका उम्मेदवार अर्जुन नरसिंह केसीले २०३८ सालदेखि चुनाव जितेर गर्न नसकेका काम आफूहरूले ३ वर्षमा गरेको भन्दै पञ्चायतकालीन उम्मेदवारहरूसँग कुनै एजेण्डा नभएको दाबी गरेका छन् ।

सदरमुकाम विदुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार नारायण खतिवडा र प्रदेशसभाका उम्मेदवार केशव पाण्डेले पञ्चायतकालकै व्यक्तिहरू बहुदल र गणतन्त्रमा पनि उम्मेदवार बनिरहेको बताए ।

नुवाकोट-२ मा प्रतिनिधिसभामा कांग्रेसका अर्जुन नरसिंह केसी र प्रदेशसभामा रामप्रसाद ढुंगाना उम्मेदवार छन् । संयोग नै मान्नुपर्छ पन्चायतकालमा २०४४ सालमा केसी जिल्ला पञ्चायतको सभापति र ढुंगाना उपसभापति थिए । अहिले ढुंगाना माओवादीबाट उम्मेदवार छन् ।

सभामा खतिवडाले वर्तमान सरकार जनताको अभिभावक बन्न नसकेकोले चुनावपछि एमाले नेतृत्वको सरकार बनाउन एमालेलाई मत दिन आग्रह गरे ।

गठबन्धनका उम्मेदवार अर्जुन नरसिंह केसीप्रति खतिवडाले प्रश्न गर्दै पटक पटक मन्त्री हुँदा केही गर्न नसकेको आरोप लगाए । उनले एमाले नेतृत्वको ३ वर्षे सरकारले नुवाकोटका अधिकांश विद्यालय भवन र स्वास्थ्य चौकी बनाएको दाबी गरे ।

उनले एमाले नेतृत्वको सरकारले १० वर्षदेखि प्रचण्डका घरबेटी ठेकेदारले नबनाएको पासाङल्हामु मार्ग बनाउने दाबी समेत गरे । विदुर नगरबासीले मुवाव्जा नपाएको कुरा आफूले संसद्मा उठाएको तर वर्तमान देउवा सरकारले नगरवासीलाई मुआब्जा नदिएको उनको आरोप थियो । मुआव्जा ओली सरकार बनेपछि पाउने बताए ।

कार्यक्रममा केशव पाण्डेले नुवाकोटमा बिसौँ वर्ष मन्त्री बन्दा गर्न नसकेका विकाश आफू डेढ वर्ष प्रदेश मन्त्री बन्दा धेरै काम गरेको बताए ।र प्रदेश सभाका अर्का उम्मेदवार विजय लोप्चनले पनि सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर