सरेश नेपाललाई पाँच प्रश्न: अर्को पार्टीको भोट पाएर चुनाव जित्ने सपना पूरा होला ? – Nepal Press

सरेश नेपाललाई पाँच प्रश्न: अर्को पार्टीको भोट पाएर चुनाव जित्ने सपना पूरा होला ?

मंसिर–४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति जति नजिकिँदै छ, त्यती नै सिन्धुपाल्चोकको चुनावी माहौल गर्मागर्मी छ । एकातिर सत्ता गठबन्धनका प्रमुख दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र जनमोर्चा को गठ जोड रहेको छ भने अर्कातिर नेकपा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ ।

चुनाव अघि नै सिन्धुपाल्चोक विशेष चर्चामा थियो, कारण सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ । गठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेस र माओवादी दुवैले यही क्षेत्रमा दाबी गर्दे आएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधव सापकोटाको कडा दाबी थियो ।

अन्ततः क्षेत्र नम्बर १ मा गठबन्धनबाट टिकट ल्याउन सफल भए माओवादी केन्द्रका माधव सापकोटा । आफ्नो क्षेत्र छाडेर २ नम्बरमा पुगे मोहनबहादुर बस्नेत ।

मनोनयनपछि एक साता कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र माओवादीका पोलिटब्युरो सदस्य माधव सापकोटा बिच संवाद नै भएन । तर अहिले भने दुवैबिच राम्रो ‘टिमवर्क’ रहेको गठबन्धनको दाबी छ ।

वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत परिणाम हेर्ने हो भने सापकोटालाई जित्न कुनै समस्या नै देखिएको छैन । किन भने कांग्रेसको ३४ हजार मत रहेको छ भने माओवादीको झण्डै १९ हजार मत रहेको छ, त्यसमा समाजवादीको २ हजार मत जोड्दा ५६ हजार बढी मत रहेको छ । तर एमालेले स्थानीय चुनावमा वडाध्यक्षहरूले पाएको मत जम्मा २७ हजार मात्रै रहेको छ ।

एक्लै निर्वाचनमा होमिएका एमाले उम्मेदवार एवं केन्द्रीय सदस्य सरेश नेपाल यतीबेला गठबन्धनका लागि भारी हुदैछन् । २०४८ सालदेखि जनप्रतिनिधिको भूमिकामा रहेका नेपाल अक्सर ग्रामीण क्षेत्रमा नै हुने गर्दछन् । उनकै भाषामा आफू सधैँ गाउँमा नै जनताको दुःख, सुखमा साथ दिइरहेको दाबी गर्छन् । चुनावी रणनीतिमा माहिर नेपाल अहिले पनि गठबन्धनलाई पछि पार्दे चुनाव जित्नेमा ढुक्क छन् ।

एमालेको पुरा साथ, काँग्रेसको भरोसा र माओवादीहरूको समेत मतमा आफू चुनाव जित्ने नेपालको दाबी रहेको छ । निर्वाचनको दिन जति नजिकै छ त्यति नै गठबन्धन र एमाले बिचमा कडा टक्कर देखिँदै आएको छ ।

पटक–पटक जनताबाट अनुमोदित एवम् अनुभवी नेता नेपाल र सापकोटाबीचको प्रतिस्पर्धा रोचक छ । पूर्वसभामुख अग्निप्रसाद सापकोटा र कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतका कारण चर्चामा रहेको यो क्षेत्रमा गठबन्धनभित्रको बिबादकाबीच सुबोध उम्मेदवार भएका हुन् । विवादका कारण यहाँ गठबन्धन बलियो हुन सकेको छैन । जसको फाइदा उठाउँदै चुनाव जित्ने दाउमा छन्, एमालेका सरेश नेपाल । प्रस्तुत छ, यसै परिवेशबीच एमाले उम्मेदवार नेपालसँग नेपाल टकका लागि दिनेश थापाले गरेको कुराकानी

१. चुनावको मिति नजिकिँदै छ । कस्तो पाउनुभएको छ माहोल ?

निश्चय नै प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको संघारमा आइपुगेका छौँ हामी । देशैभर झैं सिन्धुपाल्चोकमा पनि चुनावी माहोल रौनकमय छ । यहाँ पनि सत्ता स्वार्थका लागि बनेको गठबन्धन र राष्ट्रवादी शक्ति नेकपा एमालेबीच प्रतिस्पर्धा भइरहेको छ । र, एमालेको तर्फबाट सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा मैले प्रतिस्पर्धामा भाग लिएको छु । निर्वाचनका लागि हामीले गरेका घरदैलो कार्यक्रमका क्रममा हामीले जनताबाट जुन खालको माया, सद्भाव र साथ पायौँ, योबाट हामी निकै खुसी छौँ । उहाँहरूको एमालेप्रतिको आकर्षणले प्रमाणित गर्छ कि, सिन्धुपाल्चोक प्रतिनिधिसभा– १ र यसअन्तर्गतका दुवै प्रदेशसभामा एमालेको जितलाई कसैले रोक्न सक्दैन ।

२. तपाईँ एमालेको जित निश्चित छ भन्नुहुन्छ तर गठबन्धनमा आबद्ध दलको मत जोड्दा एमालेको भन्दा दोब्बर देखिन्छ । यो अवस्थामा कसरी निश्चित हुन्छ जित ?

तपाईँले कहिलेको, के तथ्यांकका आधारमा त्यसो भन्नुभयो थाहा भएन । यदि स्थानीय तह निर्वाचनको मतलाई आधार मानेर भन्नुभएको हो भने त्यस्तो भन्ने स्थिति म देख्दिनँ । स्थानीय निर्वाचनमा स्थानीय मुद्दा र उम्मेदवारका कारण मत यताउता हुन्छ । अझ वडाध्यक्षलाई आउने मतलाई पार्टीले भन्दा पनि व्यक्तित्वले धेरै फरक पार्ने प्रष्ट छ । त्यसैले स्थानीय चुनावको तथ्यांकका आधारमा संसदीय चुनावको मत आँकलन गर्न सकिँदैन । र, गरे पनि मिल्दैन ।

३. माओवादी त दुवै दलको मत जोड्दा २० हजारभन्दा बढी भोटले चुनाव जित्ने निष्कर्षका साथ ढुक्क छ नि !

त्यो उहाँहरूको कुरा हो । तर म दाबीका साथ भन्छु कि, सबै कांग्रेसले माओवादीका उम्मेदवारलाई भोट हाल्दैनन् । एक त हाम्रो पार्टी नेकपा एमालेप्रति नै जनआकर्षण बढ्दो छ । र, आफ्नो उम्मेदवार नभएका कारण नेपाली कांग्रेसनिकट जनताले मलाई सहानुभूतिपूर्वक भोट दिने निश्चित छ । राजनीतिक दलका हिसाबले भन्दा पनि विगतमा मैले जनप्रतिनिधि हुँदा पूर्वाग्रही नभई गरेको जनसेवाका कारण पनि जनताले मलाई मत दिनेमा ढुक्क छु । किनकि, मलाई विश्वास छ यहाँका नागरिकको विवेकप्रति ।

४. राजनीतिक रूपमा गठबन्धन हुँदाहुँदै अर्को पार्टीबाट भोट आएर चुनाव जित्छु भन्ने कुरा त आत्मरति जस्तो मात्रै भएन र ?

त्यस्तो होइन । खासमा सिन्धुपाल्चोकमा गठबन्धन नै छैन । घोषणा नभएको मात्रै हो, यहाँ गठबन्धन भत्किसकेको छ । प्रष्ट छ कि, यहाँ नेपाली कांग्रेसले नै गठबन्धनविरुद्ध बागी उम्मेदवार उठाएको छ ।

त्यससँगै गठबन्धनभित्र निकै आन्तरिक कलह भएको कुरा त सञ्चारमाध्यममै आइसकेको छ । यसबाट प्रष्ट हुन्छ कि, सिन्धुपाल्चोकमा गठबन्धन भत्किसक्यो । एमालेको जित निश्चित भइसक्यो । माओवादी भित्रका धेरै साथीभाइहरू मसँग निरन्तर समर्पकमा हुनुहुन्छ,उहाँहरूले यो पटक माओवादी भित्रको परिवारवाद अन्त्यका लागि तपाइलाई सहयोग गर्छु भन्नु भएको छ, समाजवादीका धेरै साथीहरू पुरानो घरमा नै फर्किसक्नु भएको छ, अन्य दलका नेता कार्यकर्ताहरूले पनि सहयोग गर्ने विश्वास दिलाउनु भएको छ । एमालेको ऊर्जाशील कार्यकर्ता र बलियो संगठन अनि अरू दलहरूको समेत सहयोग ले हाम्रो पार्टीले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ र दुवै प्रदेशमा चुनाव जित्ने निश्चित छ ।

५. एमालेभित्रकै अन्तर्विरोधका कारण चुनाव हार्ने खतरा छ भन्ने हल्ला सुनिन्छ नि ?

यो प्रतिस्पर्धीहरूले सुनियोजित रुपमा चलाएको हल्ला मात्रै हो । यसमा कुनै सत्यता छैन । अहिले नेकपा एमालेभित्र कुनै पनि गुट, उपगुट छैन । कुनै अन्तर्विरोध छैन । सिंगो पार्टी कमिटी र सबै नेताहरू पार्टीका उम्मेदवारलाई जिताउन लाग्नुभएको छ । यसपालि विगतमा भन्दा पनि एमाले थप मजबुत र शक्तिशाली भएको छ । उमाले सिन्धुपाल्चोकका अभिभावक अमृतकुमार बोहरा,पोलिटब्युरो सदस्य अरुण नेपाल लगायत एमालेका पुराना,पाका नेताहरू मात्रै होइन नयाँ उदयीमान नेता कार्यकर्ताहरू पनि यो चुनावी माहौलमा सँगै हुनुहुन्छ । यो निर्वाचन कुनै व्यक्तिले जित्ने हार्ने भन्दा पनि यो नेकपा एमालेले जित्ने हो, फोहोरी गठबन्धन विरुद्धको शक्तिले जित्ने भएकाले हाम्रो सम्पूर्ण पार्टी पंक्ति एक ढिक्का भएर चुनावी मैदानमा होमिएको छ ।


प्रतिक्रिया

One thought on “सरेश नेपाललाई पाँच प्रश्न: अर्को पार्टीको भोट पाएर चुनाव जित्ने सपना पूरा होला ?

  1. अरू पार्टीले पनि भोट हाल्छन् भनेको हो । आफैं जित्न नसक्ने भएर त गठधबन्धन गरेका छन् नि ठगबनधनले ।एमाले यिनलाई एक्लै पछार्न काफी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर