सक्रिय ओलीका लागि प्रतिगमन नै महँगो – Nepal Press

सक्रिय ओलीका लागि प्रतिगमन नै महँगो

दुईपटक किड्नी फेरेको स्वास्थ्य संवेदनशीलताका बाबजुद पनि यति सक्रिय र पार्टी नै जीवन हो भनेर खट्ने कुनै नेता छन् भने तीमध्येका एक अग्रणी नेता एमाले अध्यक्ष केपी ओली हुन् । जनतामा र कार्यकर्तामा अत्यधिक आकर्षण पैदा गर्ने समकालीन नेता उनै हुन् । मिडिया फोकसका दृष्टिले उनी जल्दाबल्दा र ‘टप मोस्ट इन्टरभ्यूयी’ हुन् ।

पाँच दिनपछि हुँदै गरेको संघीय र प्रदेश निर्वाचनमा झापा ५ को आफ्नो क्षेत्रमा ‘सेफ जोन’मा रहेका अध्यक्ष ओलीलाई देशव्यापी पार्टी जिताउने चुनौती छ । त्यसैले उनी एकैदिन पाँचवटासम्म सभा भ्याइरहेका छन् । क्षेत्र सम्बद्ध नेताहरूसहित ती सभामा पुगेपनि ओलीबाहेकको गन्ती कतै हुनसकेको छैन । सपना देखाउने, सपना ‘बेच्ने’ स्वाभाविक राजनीतिक नेतृत्वकर्म ओली एक्लैले सम्पन्न गरेका छन् । ओलीले आम विश्वास दिलाएजस्तो १५० सीटको ‘टार्गेट’ एमालेको पूरा हुन्थ्यो भने उनीसँग कम्तिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली आफ्ना लागि ढुक्क भएर पार्टी अभियानमा हिँड्नुपर्थ्यो ।

तर, ओली विकल्पका यी एमाले नेतृत्वहरू आफ्नै चुनावी क्षेत्रमा ‘रेड जोन’मा छन् । आफूलाई छाडेर पार्टीलाई समय दिन भ्याएकै छैनन् उनीहरूले । ओली त विश्वास बोल्छन् । उनलाई लागेकै छैन कि देशमा एमालेबाहेक कोही हावी हुनसक्छ । तर, सम्भावना भएका, दूरदर्शी र वैचारिक उल्लेखित नेताहरू ओलीकै कारण जीतको चुनौतीमा परेका हुन् । भीम रावल र घनश्याम भुसाल जस्ता दसबुँदेका प्राधिकारहरूलाई ओलीले फालिदिए पनि बाँकी बचेका सुरेन्द्र पाण्डे, योगेश भट्टराई, भीम आचार्य जस्ता नेताहरू अन्तरपार्टी चुनावी असहयोगले गुम्सिरहेका छन् । मधेसमा पार्टी प्रवेशको त्यत्रो लहरबीच प्रभु साह जस्ता हस्तीले अन्तिममा दिएको धोका मधेसमा एमालेले इतिहास, वर्तमान र भविष्यमा कहिल्यै पाउन नसकेको÷नसक्ने स्तरको क्षति हो ।

माओवादी केन्द्रबाट आएका जति पनि नेता छन्, कमसेकम ती एमालेमा कमाउने अवसरका लागि मात्रै जोडिएका हुन् । टोपबहादुर रायमाझीको के हो, कसो हो बाँकीको कुनै चुनावी अनुमोदनयोग्य धरातल देखिँदैन । आफ्नो पूर्वपार्टीले दक्षिणपन्थी करार गरेको एमालेसँग प्रचण्डले पार्टी एकताको साहस नगरेको भए ती अहिले पनि प्रचण्ड भक्त भएर एमाले प्रतिगामी र दक्षिणपन्थी नै हो भनिरहेका हुन्थे । माधव-झलनाथले नेतृत्व गरेको एमालेबाट विभाजित एकीकृत समाजवादीले त गठबन्धनमा भएरै एमालेलाई देशव्यापी कमोवेश चुनौती दिएकै छ ।

भीम रावल र घनश्याम भुसाल जस्ता दसबुँदेका प्राधिकारहरूलाई ओलीले फालिदिए पनि बाँकी बचेका सुरेन्द्र पाण्डे, योगेश भट्टराई, भीम आचार्य जस्ता नेताहरू अन्तरपार्टी चुनावी असहयोगले गुम्सिरहेका छन् ।

त्यसैले वाम-लोकतान्त्रिक गठबन्धनको पक्षमा देशव्यापी लहर निर्माण भएको आंकलन ओलीले नपत्याए पनि धरातलमा भने त्यो अनुभूत हुँदैछ ।

स्थानीय चुनावको भोट आधारित आम समर्थकको अंक गणितीय बहुमत भएरमात्र होइन- ओली नेतृत्वका प्रतिगामी कदम, एमालेभित्रको आन्तरिक असन्तुष्टि, एमालेले गठबन्धनमा सामेल गरेका राजावादीहरूको परिवर्तन उल्ट्याउने नियत र स्वतन्त्र भनेर सामाजिक सञ्जालमा हल्लाखल्ला गर्नेहरूको उत्ताउलो अनि अपारदर्शी स्रोतसहितको भड्किलो तामझामले वाम-लोकतान्त्रिक गठबन्धन जीतको सन्निकट पुगेको देखिँदैछ ।

सुरक्षा स्रोतहरूले समेत गठबन्धनले सहज जित्ने आन्तरिक निष्कर्ष निकालेका छन् ।

मूल कुरो त तत्कालीन नेकपाले झण्डै दुईतिहाइ बहुमत पाएर बनेको केपी ओलीले नेतृत्व गरेको अघिल्लो सरकारका प्रतिगामी, कम्युनिष्ट आन्दोलन-एकीकृत पार्टी-जननिर्वाचित संसद समाप्त पार्ने राजनीति-अस्थिर र निरंकुश कदमको विकल्प राजनीतिक स्थायित्वको आम अपेक्षाले हालको वाम-लोकतान्त्रिक गठबन्धन सापेक्ष मजबुत बनेको देखिएको हो । एकलौटी तानाशाहीकरणका सट्टा लोकतान्त्रिक संस्कार, विकासको भ्रष्टीकरणका सट्टा जनआधारित दिगो विकास र आजसम्मका राजनीतिक-सामाजिक उपलब्धि समाप्त पार्ने नियतका सट्टा यसलाई जोगाउँदै समाजवादउन्मुख बन्ने सन्दर्भले समेत जनतामा वाम-लोकतान्त्रिक गठबन्धनप्रति बढी भरोसा देखिएको छ ।

त्यसो त एमालेसँग विकासका सस्ता नारा दिने तर, आफू नेतृत्व हुँदा राष्ट्रिय प्राथमिकतामा परेका योजना वा राष्ट्रियता वा देशभक्तिका अनिवार्य सन्दर्भहरूलाई भजाएर, भ्रष्टीकरण गरेर बोल्नेबाहेक यो चुनावमा कुनै एजेन्डा नै छैन । ओली पार्टीका लागि जति खटे पनि उनका राजनीतिक नियतहरू उदाङ्गो भैसकेका छन् । के महसुस हुँदैछ भने ठूलो भ्रम निर्माण गरेर उनी केबल आफ्नो महत्वाकांक्षी स्वत्वको लागि अन्तिम बल गर्दैछन् । त्यसैले उनले राजेन्द्र लिङदेन र कमल थापा जस्ता राजावादी-हिन्दूवादीहरू, हिजो आफैंले भारतभक्त तथा साम्प्रदायिक करार गरेका शक्तिहरू र क्रिश्चियन मिसिनरीहरूसँग गठबन्धन बनाएका छन् । आम रूपमा परेको छ कि ओली गठबन्धनको सत्ताबाहेक अर्काे स्वार्थ नै छैन

ओली पार्टीका लागि जति खटे पनि उनका राजनीतिक नियतहरू उदाङ्गो भैसकेका छन् । के महसुस हुँदैछ भने ठूलो भ्रम निर्माण गरेर उनी केबल आफ्नो महत्वाकांक्षी स्वत्वको लागि अन्तिम बल गर्दैछन् ।

तिनै ओली र उनको गठबन्धन वाम-लोकतान्त्रिक गठबन्धनलाई औचित्यहीन र अपवित्र भनिरहेका छन् । आजसम्मका राजनीतिक परिवर्तनका लागि मिलेर लडेका शक्तिहरू आफूले ल्याएको परिवर्तनलाई जोगाएर समुन्नति र स्थिरताका लागि गठबन्धन भएर अगाडि बढ्नुभन्दा बढी औचित्यको राजनीतिक सन्दर्भ अर्काे हुन सक्दैन । त्यसैले आफ्नै बहुमतसमेत टिकाउन नसक्ने ओली एमालेलाई फेरि त्यस्तै हर्कतका लागि बहुमत दिने ? फेरि प्रतिगमनका लागि बहुमत दिने ? यही स्वाभाविक प्रश्नले जनतामा जबरजस्त घर गर्दा एमालेमा छट्पटी निर्माण भएको छ ।

अझ एमालेका ठूल्ठूला भनिएका सभामा उपस्थित जनता र कार्यकर्ताहरूले ओलीविरुद्ध सार्वजनिक ‘हुटिङ’ गरेका छन् । कैलाली र दैलेख सभाको हुटिङले एमालेभित्र कसरी असन्तुष्टिको आगो बलेको छ भन्ने देखाउँछ । ओलीको एकलौटी रवैयाको विरोध गर्दै नेता भीम रावलको पक्षमा कार्यकर्ताहरू खडा हुँदा त्यसलाई चित्तबुझ्दो साम्य गर्नु सट्टा ओली झन उग्र भएका दृश्याङ्कन आएका छन् ।

चुनावको वेलासमेत आफ्ना सहकर्मीका विरुद्ध जनता-कार्यकर्ताप्रति उग्र हुनुपर्ने ओली बाध्यताले एमालेको संसदमा वैधानिक उपस्थितिको हविगत के हुँदैछ भन्ने कुराको सामान्य संकेत गर्दछ । सभाहरूमा मात्र होइन, मिडियासँगका अन्तर्वार्ताहरूमा समेत ओलीले संयमता गुमाएको देखिँदैछ । ‘ग्यालेक्सी फोर के’ टीभीमा रमेश प्रसाईंसँगको र ‘एपी वान’ टीभीमा टीकाराम यात्रीसँगको उनको प्रतिवाद सभ्य समाजमा, सभ्य नेताबाट अपेक्षा गरिएभन्दा प्रतिकूल छ ।

उता राप्रपासहितका राजावादीहरू चाहिँ गणतन्त्रले के दियो ? अब हामी राजनीतिक परिवर्तनलाई नै उल्ट्याइदिन्छौं भनेर झापादेखि जुम्लासम्म बर्बराइरहेका छन् । परिवर्तन उल्ट्याउने, विकासको गतिलाई निमिट्यान्न पार्ने, राजावाद र हिन्दूवादका खारेज भैसकेका अन्धता थोपरेर आफ्नो लुटको स्वर्ग फर्काउने- यो उत्ताउलो नियत फेरि अर्काे खुनखराबाको उद्देश्य बोकेको डरलाग्दो नियत हो । एमालेसमेत त्यही नियतसँग मिलेकाले जनताले यी दुवै पक्षबाट आफूलाई आधारभूत रुपमै पृथक गरेको संकेत देखिँदैछ । ओलीले राजेन्द्र लिङदेन जस्ता राजभक्तको विजयलाई आफ्नो इज्जतको सवाल भन्नु र हिन्दूवादी कमल थापाले एमालेको झण्डा बोक्नु कम्युनिष्ट-समाजवादी कर्मपथ होइन ।

आफ्नै बहुमतसमेत टिकाउन नसक्ने ओली एमालेलाई फेरि त्यस्तै हर्कतका लागि बहुमत दिने ? फेरि प्रतिगमनका लागि बहुमत दिने ? यही स्वाभाविक प्रश्नले जनतामा जबरजस्त घर गर्दा एमालेमा छट्पटी निर्माण भएको छ ।

चुनावको रस्साकस्सीबीच पीँध नभएका लोटाजस्ता भूईंमा न भाँडाका रवि लामिछानेसहितका स्वतन्त्र नामका आदर्शीहरूसमेत दलहरूको विकल्प बन्ने हवाई कल्पनामा रुमल्लिएका छन् । त्यस प्रवृत्तिलाई भने ओलीले उचित जवाफ दिएका छन् । एपी वान टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘पत्रकार बन्दै गरेको… एउटा काँचो युवालाई मन (राजनीति) पर्‍यो ! उसलाई सर्वज्ञ हुँ जस्तो लाग्यो । एउटा के गल्ती गर्‍यो । दुईदिन जेल बस्यो । त्यहाँ सेलिब्रेटीहरू आए । हा हु गरे । उसलाई लाग्यो कि म संसार पपुलर भएँ । अब नेपालमा मैं हुँ सबकुछ भनेर उसले आफूलाई प्रधानमन्त्री डिक्लिएर गर्‍यो । यो तमासा हो । यसलाई सिरियस्ली लिनु जरुरी छैन ।’

हुन पनि स्वतन्त्रहरूको उत्ताउलो प्रचार र प्रचार स्रोतको बाढी हेर्दा लाग्छ, यसका लागि देशी-विदेशी सशक्त गिरोहहरूको पूरापूर फन्डिङ छ । तर, न कुनै राजनीतिक मार्गचित्र न त व्यक्तिगत वा सामूहिक सामाजिक निष्ठा ! २०७४ को चुनावमा जसरी रवीन्द्र मिश्रको हल्ला भएको थियो, त्यस्तै हल्ला हुँदै अन्ततः मिश्र जसैगरी पतनमा पुग्ने संकेत स्वतन्त्रहरूको रवैयाले देखाएको छ ।

तर, यो विचार सन्दर्भ हो, एमाले गठबन्धन प्रवृत्तिको ! ओलीको यति ठूलो सक्रियताबीच समग्र एमाले ‘रेड जोन’मा छ । यसमा कम्युनिष्ट आन्दोलन भनेर खटेका नेता-कार्यकर्ताको कुनै दोष छैन, दोष छ त केवल ओली महत्वाकांक्षाको !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *