पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले रोचक बन्दै सिन्धुपाल्चोक-२ ‘१’ – Nepal Press

पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले रोचक बन्दै सिन्धुपाल्चोक-२ ‘१’

सिन्धुपाल्चोक । माओवादी युद्धकालमा सिन्धुपाल्चोकका अमान सिं तामाङ लाई सबै ले ‘अमान बा’ भनेर सम्बोधन गर्दथे । लामो समय भुमिगत जीवन बिताएका तामाङ माओवादी द्वन्द्वकालीन समयमा जिल्ला जनसरकार प्रमुख समेत भएका थिए ।

२०४८ को स्थानीय निर्वाचनमा तत्कालिन कुभिण्डे गाविसबाट उपाध्यक्षमा निर्वाचित भएका तामाङ २०७४ को स्थानीय निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिकाबाट मेयरमा निर्वाचित भएका थिए ।

बैशाखमा सम्पन्न भएको दोस्रो स्थानीय तहको निर्वाचनमा उनी पुन चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर भएर आफूँले सुरुवात गरेको योजना र अभियानलाई पुरा गर्न खोजेका थिए तर माओवादीले उनलाई टिकट दिएन । स्थानीय चुनावको झण्डै २ महिनापछि उनी दलबलसहित एमालेमा प्रवेश गरे र नेकपा एमालेबाट सिन्धुपाल्चोक प्रतिनिधि सभा–२ प्रदेश सभा ‘१’ को उम्मेदवार भएका छन् ।

उनको प्रतिस्पर्धा भने लामो समय एउटै राजनीतिक यात्रामा रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलालसँग हुँदैछ । माओवादी र कांग्रेसका गठबन्धनका तर्फबाट दुलाल उम्मेदवार छन् भने तामाङ एक्लै चुनावी प्रतिष्पर्धामा छन् । उमेरले ६० काटेका तामाङ र ४० कटेका दुलालबीच यतीबेला चुनावी प्रतिस्पर्धा छ ।

२०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरको टिकट युवराज दुलाललाई दिएको थियो । तर अमान सिं तामाङ को ठुलो समुहले विद्रोह गर्ने सूचना पाएपछि माओवादी जिल्ला नेतृत्व दुलाललाई उम्मेदवार बनाउन हच्किएको थियो ।

त्यतिबेला माओवादी अध्यक्ष प्रचण्डले समेत तामाङलाई फोन गरेर दुलाललाई मेयरमा सहयोग गर्न अनुरोध गरेपनि तामाङले नमानेपछि माओवादीले अन्तिम समयमा आएर तामाङलाई नै उम्मेदवार बनाएको थियो ।

भने २०७४ मा नै भएको प्रतिनिधि र प्रदेश सभामा सिन्धुपाल्चोक–२ प्रदेश सभा ‘१’ बाट एमाले र माओवादीको गठबन्धनबाट दुलाल उम्मेदवार भएर लोकप्रिय मत पाएर विजयी भएका थिए । उनी झण्डै ३ वर्ष वागमती प्रदेश सभामा सामाजिक विकास मन्त्री समेत भएका थिए ।

सामाजिक विकास मन्त्री हुँदा उनले आफ्नो क्षेत्रमा करोडौ बजेट विनियोजन गरेर विकास कसरी गर्नुपर्छ भनेर एउटा अभियानको सुरुवात गरेका थिए । मेयर भएका तामाङले पनि ५ वर्षमा आफ्नो नगरपालिकाभित्र विकास निर्माणका धेरै कामहरुको सुरुवात गरेका थिए ।

‘प्रदेशबाट बजेट त आयो तर त्यसलाई नगरपालिकाको तर्फबाट कार्यन्वयन नगरेको भए काम सम्भव थिएन’ तामाङले भने ।
माओवादी र काग्रेसका साझा उम्मेदवार दुलालाई दुई पार्टीको दह्रो साथ छ भने तामाङलाई एमाले र आफ्ना पुर्वसहकर्मीहरुको बलियो आडभरोस रहेको छ ।

यस्तो छ अंकगणित

स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत हेर्दा प्रतिनिधि सभा–२ प्रदेश सभा ‘१‘ मा एमाले १३४४९, कांग्रेस १३२६८,माओवादी ११५५१ र समाजवादी ले ८२९ मत पाएको थियो । काग्रेस,माओवादी र समावजादीको मत जोड्दा दुलालको पक्षमा २५ हजार ६ सय ४८ मत रहेको छ । एमालेको भने एकल मत १३ हजार ४४९ मात्रै छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको १४ वडा मध्ये ५ वडा प्रतिनिधि सभा–१ मा पर्छ भने क्षेत्र नम्बर २ मा ९ वडा रहेका छन् । यो नगरपालिकामा मेयर माओवादी र उपमेयर समाजवादीले जितेको थियो । त्यस्तै प्रदेश सभा १ अन्र्तगत नै पर्ने इन्द्रावती गाउँपलिकामा अध्यक्ष उपाध्यक्ष नै एमालेले जितेको छ र त्यस्तै मेलम्ची नगरपालिका अन्र्तगत तिन वडा मध्ये एउटा एमालेले र २ काग्रेसले जितेको छ ।

गठबन्धन भएपनि आफुलाई कांग्रेस,माओवादी र राप्रपाले समेत सहयोग गर्नेमा तामाङ आशावादी छन् । चौतारा नगरपालिका भित्र ५ वर्षमा धेरै सामाजिक र विकासको कामहरु गरेको छु,त्यसैले मलाई सबैबाट सहयोग हुन्छ तामाङले भने । गठबन्धनका उम्मेदवार दुलाल भने गठबन्धनको साथ र आफुले ५ वर्षमा गरेका कामको आधारमा सबैले आफुलाई नै मतदान गर्नेमा ढुक्क छन् ।

बढी मतदाता रहेको चौतारा साँगाचोकगढी नगरपालिकाबाट बराबरी मत लैजाने अभियानमा तामाङ छन् । इन्द्रावती गाउँपालिकामा आफुलाई केही बढी मत पाउने,मेलम्ची नगरपालिकाको तीन वडा मध्ये एक वडामा बराबरी,एकमा आफूलाई बढी र एउटामा गठबन्धनलाई बढी मत गएपनि आफूँले चुनाव जित्ने अंकगणित तामाङसँग छ ।

जनजातिको सहानुभूति,नातागोता समेत धेरै भएको र एमालेको दह्रिलो संगठन नै आफ्नो चुनाव जित्ने मुख्य आधार भएको तामाङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर