त्रिविले १५ दिन भित्र परीक्षाफल सार्वजनिक नगरे अखिल (क्रान्तिकारी )को आन्दोलन गर्ने चेतावनी – Nepal Press

त्रिविले १५ दिन भित्र परीक्षाफल सार्वजनिक नगरे अखिल (क्रान्तिकारी )को आन्दोलन गर्ने चेतावनी

काठमाडौं । अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयबाट नतिजा प्रकाशित हुन बाँकी सबै तह र संकायको परीक्षाफल १५ दिन भित्र सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)को त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समितिले परीक्षा नियन्त्रण कार्यालयमा पुगेर माग पत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो ।

पछिल्लो समय संकटको भुमरीमा फस्दै गएको नेपालको शैक्षिक जगतको नेतृत्वदायी निकाय त्रिभुवन विश्वविद्यालयले वार्षिक कार्य तालिका अनुसार परीक्षाफल प्रकाशित नगरेर लाखौँ विद्यार्थीको भविष्य अन्योलग्रस्त बनाएको घटनाप्रति आफ्नो संगठन गम्भीर बनेको त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समितिका इन्चार्ज गोविन्द विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘राजनीतिक दलको भागबण्डाको सोपान चढेर त्रिभुवन विश्वविद्यालय छिर्ने अनि जनताले सकी नसकी तिरेको करबाट जम्मा भएको राष्ट्रिय ढुकुटी ढुटो पारेर त्रिभुवन विश्वविद्यालय धराशायी बनाउने र लाखौँ विद्यार्थीको भविष्य बरबादीतिर धकेल्ने हर्कत हाम्रो सङ्गठनलाई किमार्थ स्वीकार्य छैन । हाम्रो संगठन नतिजा प्रकाशित हुन बाँकी सबै तह र संकायको परीक्षाफल १५ दिन भित्र अनिवार्य सार्वजनिक गर्न त्रिविसँग जोडदार माग गर्दछ । अन्यथा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरी कडा संघर्ष गर्न संगठन बाध्य हुनेछ ।’ त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समितिका इन्चार्ज गोविन्द विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

२०७८ श्रावणमा परीक्षा भएको स्नातक तह प्रथम वर्षको सबै संकायको परीक्षाफल पन्ध्र महिना बितिसक्दासमेत प्रकाशित नभएको विज्ञप्तिमा उल्लेख छ । उनीहरु प्रथम वर्षको नतिजा बिना नै तेस्रो वर्ष अध्ययन गर्न बाध्य भएका जनाइएको छ ।

पुसमा परीक्षा भएको स्नातक तह चौथो वर्षको सबै संकायको नतिजा, फागुनमा परीक्षा भएको प्रथम वर्षको नतिजा, चैत्रमा परीक्षा भएको तेस्रो वर्षको नतिजा र स्नातकोत्तर तहको सेमेष्टर प्रणाली अन्तर्गतका परीक्षाको समेत समयमै नतिजा सार्वजनिक नभएको उक्त संगठनले जनाएको छ ।

तीन महिनामै प्रकाशित गर्नुपर्ने स्नातक र स्नातकोत्तर तहका सबै संकायको नतिजा प्रकाशनमा भएको अस्वाभाविक ढिलासुस्तीले विद्यार्थीमा नैरास्यता उत्पन्न गराउने युवा जनशक्तिलाई बिदेसिन बाध्य पार्ने र त्रिभुवन विश्वविद्यालयलाई थप धराशायी बनाउने काम भइरहेको संगठनको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर