आम चुनाव : यी हुन् प्रदेश १ मा सम्भावित ५ सुरक्षा थ्रेट, प्रशासनको रणनीति कस्तो छ ? – Nepal Press

आम चुनाव : यी हुन् प्रदेश १ मा सम्भावित ५ सुरक्षा थ्रेट, प्रशासनको रणनीति कस्तो छ ?

विराटनगर । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह प्रशासनले प्रदेश १ मा चुनाव बहिस्कार गर्ने समूह र खुल्ला सीमालाई मुख्य चुनौतीको रूपमा लिएको छ ।

निर्वाचन बहिस्कार गर्ने समूह प्रदेश १ मा सक्रिय भएकाले उनीहरूले गर्ने अवरोधका कार्यक्रमलाई निगरानीमा राखेर सुरक्षा योजना बनाएको प्रदेश १ सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गृह मन्त्रालय र निर्वाचन आयोगसँग सहकार्य गरेर निर्वाचन सफल बनाउन सुरक्षा योजना बनाएको छ । प्रदेश १ मा १८ सय ९७ मतदान स्थल रहेका छन् । ती मध्ये ६३५ निर्वाचन स्थललाई अति संवेदनशीलको सूचिमा राखिएको छ । ८२४ संवेदनशील र ४३८ मतदान स्थल सामान्यको सूचीमा राखिएको छ ।

प्रदेश १ का १४ जिल्लामा ३३ लाख ९६ हजार ८३५ मतदाता रहेका छन् । ती मतदातालाई निर्भयका साथ मताधिकारको प्रयोग गर्ने वातावरण बनाउन त्यही अनुसारको सुरक्षा रणनीति बनाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव उमेश बस्नेतले नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको समन्वयमा सुरक्षा रणनीति बनाएको बताए । उनले निर्वाचन बहिस्कार गर्ने समूह र बिथोल्ने समूहको पहिचान भइसकेको र उनीहरूको गतिविधिलाई निगरानीमा राखिएको बताए ।

उनले प्रदेश १ का विभिन्न स्थानमा यस्ता समूहले भित्ते लेखन तथा सभाहरू गरिरहेको बताए । उनले भने- हामी उनीहरूको गतिविधि नियालिरहेका छौ । ठूला दलहरू चुनावमा गएकाले उनीहरूको गतिविधिले निर्वाचनमा खास असर पर्दैन ।

मतदान स्थलको सुरक्षाको लावि तीन घेरोको सुरक्षा रणनीति बनाइको छ । यसका लागि प्रदेश १ मा म्यादी प्रहरी सहित ३१ ह्जार जनपद प्रहरी परिचालन गरिने छ । ५ हजार सशस्त्र प्रहरी र नेपाली सेना निर्वाचनमा प्रयोग हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

निर्वाचन सुरक्षाको लागि बेसक्याम्प, पेट्रोलिङ्ग र स्कर्टींगको तयारी छ । मन्त्रालयका सचिव बस्नेतले भने, बढीमा आधा घण्टा भित्र नेपाली सेना मतदान स्थलमा पुग्ने गरि तयारी गरिएको छ । जनपद प्रहरी र सशस्त्र प्रहरी भने मतदान स्थलमा तैनाथ हुने छन् ।

खुल्ला सिमाना

पूर्व इलामदेखि सुनसरी सम्म भारतसँग खुल्ला सिमाना रहेको छ । खुल्ला सिमाना भएका कारण निर्वाचनमा सुरक्षा चुनौती रहेको जनपद प्रहरी प्रदेश १ प्रमुख डीआइजी सुदिप गिरीले बताए ।

खुल्ला सीमाका कारण घुसपैठ हुने र निर्वाचन बिथोल्न सक्ने भएकाले निर्वाचन सफल बनाउन भारतीय सुरक्षा अधिकारीसँग समन्वय भइरहेको बताए । खुल्ला सिमानाका कारण हातहतियारको समेत प्रयोग हुने खतरा छ । यसलाई रोक्न नेपालसँग सिमाना जोडिएका भारतीय जिल्लाका अधिकारीसँग समन्वय बैठक सम्पन्न भइसकेको गिरीले बताए ।

इलाम, झापा मोरङ र सुनसरी प्रशासनले काउन्टर पार्ट बैठक सम्पन्न गरिसकेको छ उनले भने,बैठक पछि सीमामा नेपाल र भारतका सुरक्षा अधिकारीको संयुक्त गस्ती भइरहेको छ ।

प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बस्नेतले भारतीय पक्षसँग समन्वय र सहकार्य भएकाले सीमामा हुने अवाञ्छित क्रियाकलाप रोकिने दाबी गरे ।

भौगोलिक विकटता

निर्वाचन सफल गराउन प्रदेश १ मा भौगोलिक विकटता समेत प्रमुख कारण रहेको सुरक्षा अधिकारीको विश्लेषण छ । प्रदेश १ का हिमाली जिल्लाहरू सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङमा विकटताका कारण निर्वाचन गराउन चुनौती रहेको प्रशासनले जनाएको छ ।

केहि जिल्लाहरूमा मत पेटिका ल्याउन ३ दिन सम्म लाग्ने देखिएको छ । जिल्ला सदरमुकाममा ल्याएर मतगणना गर्नु पर्ने भएकाले हेलिकप्टर प्रयोग गरेर मत पेटिका ल्याउने तयारी भइरहेको सचिव बस्नेतले बताए ।

‘हामीले मत पेटिका ल्याउनका लागि हेलिकप्टर प्रयोगको अनुमति मागेका छौँ’ उनले भने, ‘भौगोलिक विकटतालाई चिर्नका लागि समेत सुरक्षा योजना बनाएका छौ ।’

उनले मौसमका कारण हुने हिमपात समेत चुनौतीको विषय बनेको बताए ।

जातीय र धार्मिक हिंसा

सुरक्षा अधिकारीले निर्वाचनका बेला जातीय र धार्मिक हिंसा हुन सक्ने भन्दै सचेत भएको जनाएको छ । कतिपय उम्मेदवारहरुले जातीय नारा लिएर समेत मत मागिरहेका छन् ।

यस्तो अवस्थामा हुने हिंसा नियन्त्रणमा समेत सुरक्षा संयन्त्र चनाखो भएको सचिव बस्नेतले बताए । उनले भने, ‘कुनै कुनै स्थानमा यस्तो सम्भावना पनि देखिएको छ । यसका लागि हामीले सुरक्षा योजनालाई मजबुत बनाएका छौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर