यूएईसँग नेपाल ८४ रनले पराजित, डेब्यु खेलमा आयान र अर्जुन चम्किए – Nepal Press

यूएईसँग नेपाल ८४ रनले पराजित, डेब्यु खेलमा आयान र अर्जुन चम्किए

काठमाडौं । यूएईसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको छ । २६४ रनको लक्ष्य पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १७९ रन जोड्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाए ।

अर्जुनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमै अर्धसतक बनाएका हुन् । ४१ रनमा ४ विकेट गुमाएको नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान अर्जुनले दीपेन्द्रसिंह ऐरीसँग ६८ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।

नेपालका आसिफ शेख १२, कप्तान रोहित पौडेल १, हरिशंकर शाह ८ र कुशल भुर्तेल ६ रन जोडेर आउट भए । ज्ञानेन्द्र मल्लले भने खाता खोल्न सकेनन् । २८ रनमा पहिलो विकेट गुमाएको नेपालले सोही स्थितिमा दोस्रो विकेट पनि गुमाएको थियो ।

सातौँ ओभरमा आयान अफजल खानले प्रारम्भिक ब्याट्सम्यान आसिफ र मल्ललाई आउट गरेका थिए । लगत्तै अर्को ओभरमा नेपालले रोहितलाई गुमाएको थियो । आयानले चार विकेट लिएका छन् । आयानको पनि यो डेब्यु खेल हो। उनले १० ओभरमा ४ मेडन राखेर १४ रन खर्चिए ।

त्यसअघि यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन जोडेको हो । यूएईका रोहन मुस्ताफाले सर्वाधिक ५३ रन जोडे । मुहम्मद वासिमले ४४, भ्रित्या अरविन्दले ४० र अलिसान सराफुले २९ रन जोडे । ७५ रन जोड्दा पहिलो विकेट गुमाएको यूएईले तेस्रो विकेटका लागि ५२ र चौथो विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो । नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

नेपाल युवा कप्तान रोहित पौडेलको नेतृत्वमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागेपछि नेपाली क्रिकेट टोलीको नयाँ कप्तानको जिम्मेवारी रोहितलाई दिइएको हो । शृंखलाअन्तर्गत दोस्रो खेल शनिबार हुने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *