सुकुमबासीलाई भूमि आयोगका अध्यक्षको चेतावनी- गठबन्धनलाई नजिताए जग्गा पाइँदैन (अडियोसहित) – Nepal Press

सुकुमबासीलाई भूमि आयोगका अध्यक्षको चेतावनी- गठबन्धनलाई नजिताए जग्गा पाइँदैन (अडियोसहित)

झापा । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला निर्वाचन आचारसंहिताविपरीत सुकुमबासी भेला गरेर गठबन्धनका उम्मेदवारले नजिते जमिन नपाउने धम्की दिँदै हिँडेको भन्दै एमालेले आपत्ति जनाएको छ ।

निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै निरौला देशव्यापी दौडाहामा छन् । उनले गठबन्धनले चुनाव नजिते सुकुमबासीलाई जग्गा दिन नसकिने भनेपछि उनले बोलेको अडियोसहित उजुरी परेको छ ।

आयोगका अध्यक्ष निरौलाले गत साता झापाको मेचीनगरमा सुकुमबासी र कांग्रेस कार्यकर्ताको भेला बोलाएर झापा १ बाट विश्वप्रकाश शर्माले जितेमात्र सुकुमबासीले जग्गा पाउने नत्र मुद्दा मामिला हुने भन्दै बोलेको अडियो सार्वजनिक भएपछि विवादमा परेका हुन् ।

मेचीनगरको वडा नं १० धुलाबारीस्थित पार्टीका एक कार्यकर्ताको घरमा सुकुमबासी भेला गरेर अध्यक्ष निरौलाले गठबन्धनलाई भोट दिएमात्र जग्गाको धनीपुर्जा दिलाउने प्रलोभन देखाएको आरोप छ । अडियोमा उनले गठबन्धन हारेर ठगबन्धनको सरकार बनेमा जग्गा नपाइने बताएको सुनिन्छ ।

निरौला भन्छन्, ‘विश्वप्रकाशजी नै यहाँ संसदमा उठेका छन्, अरु जेसुकै भए पनि यो कामका लागि (जग्गा दिलाउने) हामीले विश्वप्रकाशलाई जिताउनुपर्छ । गठबन्धनलाई जिताउनुपर्छ । मैले यो कुरा मेची महाकाली सबैतिर भन्दै आएको छु । शर्माको आग्रहमा म आएको छु, तपाईंहरुकोकुरा सुन्नलाई ।’

निरौलाले मेचीनगरको वडा नं १० र १५ का साथै बुद्धशान्तिमा सुकुमबासीको भेला आयोजना गरेर सत्ता गठबन्धन र उम्मेदवार शर्मालाई भोट मागेका थिए ।

निरौलाको टोलीमा आयोगका अन्य केन्द्रीय पदाधिकारी, आयोगका झापा अध्यक्ष तिलक पाण्डे, नेपाली कांग्रेस झापाका निवर्तमान सचिव प्रेम सम्बाहाम्फे, नेपाल शिक्षक महासंघ झापाका निवर्तमान अध्यक्ष एवम् धुलाबारी माविका शिक्षक तेजप्रसाद चौलागाईंलगायतको उपस्थिति थियो ।

‘तपाईंहरुलाई हामी विश्वस्त तुल्याउँछौं, यो काम गर्छौं’, भेलामा सहभागी सुकुमबासीहरुलाई सम्बोधन गर्दै निरौलाले भने, ‘त्यसमा एउटा अवस्था चाहिँ के आउनुपर्छ भने नि, गठबन्धनको सरकार हुनुपर्छ । गठबन्धनको सरकार भएन भने काम हुँदैन । ठगबन्धनको सरकार बन्यो भने हामीलाई हटाइदिन्छ, हामी मुद्दामा जान्छौं । यस्तै हुन्छ ।’

निर्वाचन आचारसंहिता २०७९ ले नेपाल सरकारले गठन गरेको कुनै पनि आयोगका पदाधिकारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ प्रस्ट व्यवस्था गरेको छ । (परिच्छेद ३ को दफा ५)

निर्वाचन आचारसंहिताले नेपाल सरकारको सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्तिले ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ र ‘सरकारी स्रोत र साधन कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था गरेको छ ।

भूमि आयोगका अध्यक्ष निरौलाले आफूलाई प्रधानमन्त्रीले राजदूत वा प्रदेश प्रमुख नियुक्ति दिन खोजे पनि योभन्दा धेरै तलब र सुविधा त्यागेर आफू भूमि आयोगमा आएको बताएका छन् ।

झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज एवं पूर्वमन्त्री अग्नि खरेलबीच मुख्य प्रतिस्पर्धा छ । शर्मालाई गठबन्धन र खरेललाई राप्रपाको साथ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर