एउटै व्यक्ति उद्योगी र बैंकर बन्न भएन : पूर्वगभर्नर नेपाल – Nepal Press

एउटै व्यक्ति उद्योगी र बैंकर बन्न भएन : पूर्वगभर्नर नेपाल

रुपन्देही । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले अहिले बढेको ब्याजदरलाई घटाएर एक अंकमा सीमित गर्न सकिने भए पनि नेतृत्वमा रहेकाहरुको स्वार्थ बाझिएकाले समस्या भएको बताएका छन् ।

कानून बनाउनेहरुको स्वार्थ बाझिएकाले अहिले उद्योगी र बैंकहरुबीच समस्या बढेको बताउँदै उनले कानून बनाउने सांसदहरुको स्वार्थ जोडिएकाले सहज नभएको बताएका हुन् ।

बैंकको स्प्रिड दर घटाउने, आधार दर साढे ७ वा ८ प्रतिशतमा झार्ने र सीडी रेसियो कम गर्ने हो भने बैंकको ब्याजदर घटाउन सकिने नेपालको तर्क छ ।

अहिले बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा १५ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् भने कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा माथि पुर्‍याएका छन् ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको उद्योगी व्यवसायीसँगको छलफलमा पूर्वगभर्नर नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताउँदै एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा सीमित उद्योगी-व्यवसायी मोटाउने तथा साना तथा मझौला उद्योगी व्यवसायी दुब्लाउने अवस्था आएको बताए ।

उनले यसको अन्त्य गर्न उद्योगी व्यवसायीले कुनै एउटा क्षेत्र रोज्नुपर्ने बताए । ब्याजदर घटाउन सरकारले पनि ठोस आर्थिक नीति ल्याउन नसकेको पूर्वगभर्नर नेपालको टिप्पणी थियो । ‘पूँजीगत खर्च बढाउन सक्ने हो र बजारमा पैसा आउने हो भने ब्याजदर स्वतः घट्छ’, उनले भने, ‘यसका लागि सरकारले उद्योगधन्धामा लगानी बढाउनुपर्छ ।’

सरकारले आर्थिक सुधारको नीति अवलम्बन गर्नुको साटो केन्द्रीय बैंकसँग निहुँ खोज्ने काम गरेको र केन्द्रीय बैंकले पनि मौद्रिक नीति बनाउँदा अहिलेको अर्थतन्त्रको मूलभूत समस्या सम्बोधन गर्न चुकेको उनको भनाइ छ ।

कोरोना महामारी तथा रुस-युक्रेन युद्धका कारण मुद्रास्फीतिमा चाप पर्दा अर्थतन्त्रमा समस्या आएको विश्लेषण गर्र्दै पूर्वगभर्नर नेपालले भने, ‘अब अर्थतन्त्रमाथि उकास्न सरकारले बजारमा पर्याप्त पैसा पठाउनुपर्छ ।’

अर्थतन्त्रमा संकट आए पनि नेपाल श्रीलंकाको अवस्थामा भने नपुग्ने उनको विश्लेषण छ । ‘श्रीलंका मूलतः चर्को ब्याजमा लिएको वैदेशिक ऋणको मारमा परेर संकटमा पुगेको हो’, पूर्वगभर्नर नेपालले भने, ‘तर, नेपालले लिएको वैदेशिक ऋण सहुलियतपूर्ण ब्याजदरमा छ । ७ अर्बमा झरेको विदेशी मुद्राको सञ्चिती ९ अर्ब ३५ करोड पुगेको छ । त्यसैले डराउनुपर्ने अवस्था छैन ।’

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीहरु ठूलो मारमा परेको भन्दै निकासका लागि पहल गर्न आग्रह गरेका थिए ।

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एजाज आलम, लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद कँडेल, महासचिव जेपी कँडेल, राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीलगायतले व्यापार व्यवसायमा ५० प्रतिशत ह्रास आएको तर ऋणको ब्याजदर शतप्रतिशत बढेको भन्दै ब्याजदर घटाउने उपायका बारेमा जिज्ञासा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर