अनधिकृत बोर्ड हटाउँदै काठमाडौं महानगर – Nepal Press

अनधिकृत बोर्ड हटाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि अनधिकृत परिचय पाटी हटाउने भएको छ । यस्ता बोर्ड हटाउन महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले ३० वर्ग फुट भन्दा ठूला आकारका सबै बोर्ड हटाइने जानकारी दिए ।

‘मापदण्डभित्रका बोर्ड वडामा गएर राजस्व तिरेपछि राख्न सकिन्छ । अहिलेसम्म पनि नियमित भएका छैनन् भने तुरुन्तै वडामा सम्पर्क राख्न सकिन्छ । व्यवसायिक स्थलमा ३० वर्ग फुटभित्र जुनसुकै आकारको भए पनि एउटाभन्दा धेरै बोर्ड हटाइनेछ’, उनले भने, ‘सार्वजनिक स्थलमा रहेका झ्याल, ढोका छोपिने गरी राखिएका, छतमा राखिएका सबै बोर्ड हटाइनेछ ।’

यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइने उनले बताए ।

महानगरले असोज ७ गते ३० दिने सूचना दिएर मापदण्डभित्र राख्न सकिने परिचय पाटीको आकार र त्यसमा वार्षिक रुपमा लाग्ने करको दरसमेत उल्लेख गरेर सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।

६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ राखिएको छ । १५ वर्ग फुटसम्मको १ हजार ५ सय रुपैयाँ र सार्वजनिक सूचनामार्फत भित्र एउटाभन्दा धेरै कुनै पनि साइजको परिचय पाटी राख्न नपाइने भएको महानगरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर