वकिलहरुका जिल्ला अध्यक्ष नै ८४ लाखमा ठगिए – Nepal Press

वकिलहरुका जिल्ला अध्यक्ष नै ८४ लाखमा ठगिए

दाङ । वकिलहरुको साझा संस्था जिल्ला बार दाङका अध्यक्ष शिवप्रसाद घिमिरे आफैं ठगिएका छन् । लामो समय वकालत गर्दै बारमा हाल जिल्ला अध्यक्ष भएका घोराही १३ निवासी घिमिरे आफैं ८४ लाख रुपैयाँबाट ठगिएको बताए ।

बारका अध्यक्ष घिमिरेले ठगीमा केही दिन पहिले दाङ जिल्ला अदालतमा मुद्दा दर्ता पनि गरे । जिल्ला अदालतमा कार्यरत ४ नम्बरका जगतबहादुर पौडेलको एकल इजलासले ठगी अभियोगमा समातिएका भारतीय नागरिक सञ्जयकुमार शर्मालाई १५ लाख धरौटी लिई तारेखमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि उनी धरौटी बुझाएर छुटेका छन् । सञ्जयले देउखुरीमा आधारशीला सिमेन्ट उद्योग मलमला रहेको र आफ्नो सिमेन्ट कम्पनीको शेयर धनीसहित मालिक रहेको भन्दै घिमिरेलाई सो सिमेन्ट कम्पनीको शेयरधनी बनाउने भन्दै आफूलाई विश्वासमा पारेर सो रकम ठगी गरेको पीडित घिमिरेले गुनासो गरे ।

उनले अदालतले पीडकलाई धरौटी लिई छाडिदिएपछि न्याय नपाएको पनि बताए । प्रहरी अनुसन्धानको क्रममा ठगी गर्ने भारतीय नागरिकको नाममा कुनै पनि कम्पनी नरहेको, शेयर पनि नभएको, प्रमाणपत्र नभएको भेटिएको थियो । भारतीय नागरिक सञ्जयले शेयरधनी बनाउने नाममा घिमिरेलाई विश्वासमा पारेर उनीबाट नगद र चेकबाट गरेर ८४ लाख असुलेका थिए ।

प्रतिवादीले अदालत, प्रहरीमा अपराध स्वीकार गरेको र ठगीको अभियोगमा ७ वर्ष कैद र ३० हजार जरिवाना हुने मुद्दामा पीडकलाई धरौटीमा छोड्नुले अदालतबाट न्याय पाउने आश नै मरेको अर्का अधिवक्ता प्रदीप गौतमले बताए ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ -२ (ख) मा १ वर्षभन्दा बढी सजाय हुने अभियोगमा विदेशी नागरिक संलग्न रहेकोमा धरौटीमा नछुट्ने कानूनी व्यवस्था भएकोमा अदालतबाट कानून नै उलङ्घन गरिएको गौतमले बताए ।

ठगी आरोपितले अधिकार प्राप्त अनुसन्धान अधिकारी र अदालतमा ५० लाख आफूले लिएको स्वीकार गरिसकेको अवस्थामा र बिगो ८४ लाख रहेको मुद्दामा १५ लाख धरौटी लिई तारेखमा छोड्नुले पीडित जाहेरवालाको रकम जोखिममा परेको बताउँदै उनले भारतीय नागरिकलाई यसरी तारेखमा छोड्दा भोलि आरोपीले तारेख छोडी भारतमै बसेमा नेपालमा ल्याई कारबाही गर्न सक्ने कुनै कानूनी व्यवस्था नरहेको अवस्थामा यसरी बिगोभन्दा न्यून धरौटीमा छोडिनु राम्रो कुरा नभएको दावी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर