भारतलाई निराश बनाएका बटलर र हेल्समाथि हाबी होलान् विश्व कीर्तिमानी बाबर-रिजवान जोडी ? – Nepal Press

भारतलाई निराश बनाएका बटलर र हेल्समाथि हाबी होलान् विश्व कीर्तिमानी बाबर-रिजवान जोडी ?

मेलबर्न । करिब दुई महिनाअघि, सेप्टेम्बर १३ तारिखमा कराँचीमा २ सय रनको लक्ष्य प्रस्तुत गरेको इङ्गल्यान्ड बलिङ सुरु नगर्दासम्म आत्मविश्वासी देखिन्थ्यो । तर जब पाकिस्तानका प्रारम्भिक ब्याट्सम्यानद्वय मोहम्मद रिजवान र बाबर आजम उत्रिए, इङ्गल्यान्डका एक से एक बलरहरू निरीह बने । इङ्गल्यान्ड टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक १० विकेटले पराजित भयो।

३ बल बाँकी रहँदै पाकिस्तानले लक्ष्य पुरा गर्‍यो, बाबर(रिजवानले २ सय ३ रनको साझेदारी गरे। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटका लागि पाँचौँ पटक दुई सय रनभन्दा बढीको साझेदारी भएको थियो। पाकिस्तानले भने पहिलो विकेटका लागि पहिलो पटक कम्तीमा २ सय रनको साझेदारी गरेको थियो।

तर पनि बाबर-रिजवान साझेदारीले विशेष चर्चा पायो। त्यति बेला उनीहरू टी-२० ब्याट्सम्यानको विश्व वरियतामा शीर्ष दुई स्थानमा थिए अनि बाबर-रिजवानले पहिलो पटक शतकीय साझेदारी गरेका थिएनन्। यो जोडीबाट टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटका लागि छैटौँ पटक शतकीय साझेदारी भएको थियो। उनीहरू त्यसअघि नै पहिलो विकेटका लागि सर्वाधिक पटक शतकीय साझेदारी गर्ने विश्व कीर्तिमानी जोडी बनिसकेका थिए।

भारतका रोहित शर्मा र शिखर धवन, अस्ट्रेलियाका आरोन फिन्च र डेभिड वार्नर र भारतका रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि समान ४ पटक शतकीय साझेदारी गरेका थिए। लगातारको शानदार प्रदर्शनबीच रिजवान केही समयमै विश्वको नम्बर एक टी-२० ब्याट्सम्यानको रूपमा बाबरको स्थान लिन सफल भए।

बाबर र रिजवानले सन् २०२१ मा पाँच पटक र सन् २०२२ मा तीन पटक शतकीय साझेदारी गरेका छन्, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा। कप्तान/विकेटकिपरको यो जोडीकै प्रदर्शनमा पाकिस्तानमा अस्ट्रेलियामा जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।

पाकिस्तानले उपाधिका लागि आइतबार दिउँसो इङ्गल्यान्डसँग खेल्दै छ। फाइनल पुगेका यी दुवै टोलीमा केही समान विशेषता छन् जसमध्ये एउटा हो सेमिफाइनलमा पहिलो विकेटका लागि शतकीय साझेदारी। भारतले दिएको एक सय ६९ रनको लक्ष्य इङ्गल्यान्डले विकेट नगुमाई पुरा गरेको थियो भने न्युजिल्यान्डले दिएको एक सय ५३ रनको लक्ष्य पाकिस्तानले ३ विकेट गुमाएर भेट्टाएको थियो।

भारतविरुद्ध इङ्गल्यान्डका एलेक्स हेल्सले ४७ बलमा ८६ र जोस बटलरले ४९ बलमा ८० रन जोडेका थिए। यता पाकिस्तानका बाबर-रिजवानले पनि न्युजिल्यान्डविरुद्ध पहिलो विकेटका लागि एक सय ५ रनको साझेदारी गरेका थिए। बाबरले ४२ बलमा ५३ र रिजवानले ४३ बलमा ५७ रन जोडेका थिए। जारी विश्वकपमा यी दुवै ब्याट्सम्यानले सेमिफाइनलमा आइपुगेर पहिलो अर्धशतक बनाएका हुन्।

पाकिस्तान र इङ्गल्यान्ड दुवै पूर्व विजेता हुन्। पाकिस्तान सन् २००९ र इङ्गल्यान्ड सन् २०१६ पछि पहिलो पटक फाइनल पुगेका छन्। यी दुई टोलीबीच जो विजेता बनेपनि सर्वाधिक उपाधि जित्ने टोलीका रूपमा वेस्ट इन्डिजको कीर्तिमान बराबरी हुने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर