एमाले अध्यक्ष ओली कर्णाली आउँदै, तीन जिल्लामा सम्बोधन गर्ने – Nepal Press

एमाले अध्यक्ष ओली कर्णाली आउँदै, तीन जिल्लामा सम्बोधन गर्ने

सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार कर्णाली आउने भएका छन् ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी एमालले कर्णालीका तीन जिल्लामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सुर्खेत आउन लागेका हुन् ।

अध्यक्ष ओलीले कालिकोट, दैलेख र सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले सुर्खेतका सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।

तिमिल्सेनाका अनुसार जनसभाको सम्पूणर् तयारी पूरा भएको छ । मंगलगढीचोकबाट बिहान ११ बजे र्‍याली निकालिने एमाले सुर्खेतले जनाएको छ । जनसभामा चर्चित लोक गायक बद्री पंगेनीसहितका कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहने छ ।

एमाले स्थायी कमिटी सदस्य एवम् सुर्खेत क्षेत्र नं। २ ‘क’ प्रदेशसभा सदस्यका उम्मेदवार यामलाल कँडेललगायतका नेताहरूले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष ओली निर्वाचनअघि देश दौडाहामा छन् ।

स्थानीय चुनावभन्दा ६ प्रतिशत मत बढाउने लक्ष्यसहित एमालेले देशव्यापी चुनावी अभियानलाई तीव्र पारेको छ । धनगढीमा रहेका अध्यक्ष ओली कालिकोट, दैलेखमा आयोजित जनसभालाई सम्बोधन गरेर दिउँसो २ बजे सुर्खेत आउने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर