र्‍यापर हप्याकलाई मुखमा अगुल्टो झोस्ने झाँक्री पक्राउ – Nepal Press

र्‍यापर हप्याकलाई मुखमा अगुल्टो झोस्ने झाँक्री पक्राउ

काठमाडौं । डिप्रेसनबाट पीडित र्‍यापर हप्याक (मिलनजंग कुँवर) लाई निको पार्ने भन्दै मुखमा आगो झोस्ने झाँक्री पक्राउ परेका छन् । उनलाई नवलपरासीको कावासोतीबाट शुक्रबार राति नै पक्राउ गरेको हो ।

पीडितको परिवारले उजुरी दिएलगँतै झाँक्री दिपक सार्कीलाई पक्राउ गरेको कावासोतीका डीएसपी सन्तोष पाठकले नेपालप्रेसलाई बताए । ‘झाँक्रीलाई कुन मुद्धा लगाउने भनेर छलफल हुँदैछ । आज म्याद थप गर्दैछौं । उनले भने ।

गत साता नवलपरासीको कावासोतीमा र्‍यापर हप्याकलाई ‘बोक्सी ‘लागेको भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि उनी घाइते भएका थिए ।
हप्याक रियालिटी शो ‘नेपहपको श्रीपेच’ को टप १४ सम्म पुगेका प्रतिस्पर्धी हुन् ।

नेपहपबाट अलिकति चर्चा पाएपछि उनले स्टुडियो खोल्ने योजना सुनाएको सो रियालिटी शोका निर्माता सुदिप पोखरेल बताउँछन् । पोखरेलका अनुसार आर्थिक समस्याकै कारण हप्याक तनावमा देखिन्थे ।

‘डिप्रेसन भएकै कारण एक्लै–एक्लै बोल्ने, हिँडने गर्दो रहेछ । उसको त्यो अवस्था देखेपछि गाउँका स्थानीय बासिन्दाले ‘यसलाई त बोक्सी चढेछ, झाँक्रीलाई देखाउनु पर्छ’ भन्दै देवीथानतिर लगेछन्,’ उनले भने ।

तर, देवीथान पुर्‍र्याइएलगत्तै हप्याकले थानमा नै थुकिदिएका थिए । त्यसपछि झन् भूतप्रेत लागेको भन्दै झाँक्रीले बेस्सरी कुटेको पोखरेलले बताए । कुटेको मात्र नभएर मुखमा आगोसमेत झोसिदिएको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिन्छ ।

‘विचारा मानसिक स्थिति कमजोर भएको मान्छे, जानेर त के थुक्यो होला र । तर, ग्रामीण क्षेत्र भएकाले त्यहाँका स्थानीयबासीमा पनि अन्धविश्वास व्याप्त भएकाले यस्तो परिणाम भोग्नुपर्‍यो,’ पोखरेलले भने ।

हप्याक अहिले सीएमसी (चितवन मेडीकल कलेज) को मेन्टल हेल्थ वार्डमा छन् । आगोले पोलेर उनको मुख पुरै डढेको छ । उनी स्वयमले एउटा भिडियो पोष्ट गरेर आफ्नो मुखमा झाँक्रीले आगो झोसिदिएको बताएका थिए। अर्कोतर्फ अमानवीय व्यवहारका कारण उनको मानसिक स्वास्थ्य बिग्रिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर