अर्घाखाँची : ह्याट्रिक गरेका पूर्वउपप्रधानमन्त्रीलाई पूर्वउपसभामुखले लगाउलिन् ब्रेक ? – Nepal Press

अर्घाखाँची : ह्याट्रिक गरेका पूर्वउपप्रधानमन्त्रीलाई पूर्वउपसभामुखले लगाउलिन् ब्रेक ?

रुपन्देही । अर्घाखाँचीमा लगातार तीनपटक निर्वाचन जितेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र नेपाली कांग्रेका प्रभावशाली नेतृ पुष्पा भुसालबीच निकै कडा प्रतिस्पर्धा हुने भएको छ ।

पटक पटक मन्त्री तथा उपप्रधानमन्त्री बनिसकेका रायमाझी र उपसभामुख बनिसकेकी भुसालमध्ये कसलाई मत दिने भन्ने विषयमा तटस्थ मतदातालाई संकट परेको छ । दुवै पार्टीका प्रभावशाली दुई नेताबीचको लडाईले यहाँको राजनीतिक माहोल तताएको छ ।

पटकपटक मन्त्री भएर विभिन्न विकासका योजनाले सिंगो जिल्लालाई नमुना बनाएको दावी गर्ने रायमाझीलाई सत्तारुढ गठबन्धनको साथ पाएकी पुष्पा भुसाल चुनौती बनेकी हुन् । भुसालले ६ दलको साथ पाउँदा रायमाझी एकलरुपमा मैदानमा उत्रेका छन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई प्रभावशाली नेताको प्रतिस्पर्धाले चुनाव रोचक बनेको हो । यसअघि तीनै निर्वाचन जितेर ह्याट्रिक गरेका रायमाझी जित निरन्तर हात पार्ने दाउमा छन् भने ६ दलीय गठबन्धनको साथ पाएकी कांग्रेस उम्मेदवार पुष्पा भुसाल (गौतम) जित सुनिश्चित गर्ने प्रयासमा छन् । रायमाझीले ०६४, ०७० र ०७४ मा यहाँबाट चुनाव जितेका थिए ।

०६४ सालको चुनावमा तत्कालीन अर्घाखाँची १ बाट विजयी भएका थिए रायमाझी । त्यतिवेला उम्मेदवार भुसाल क्षेत्र नम्बर २ बाट विजयी भएकी थिइन् । ०७० मा लुम्बिनीभरमा माओवादीले एक मात्रै सीट जित्दा रायमाझीले यहीँबाट जितेका थिए । ०७४ मा एमालेको साथमा माओवादी केन्द्रबाटै चुनाव जितेका थिए ।

दोस्रो संविधानसभामा पुष्पा एमालेका उम्मेदवारसँग पराजित भएकी थिइन् भने ०७४समानुपातिक सांसद बनेर कार्यकाल सकिने समयमा प्रतिनिधिसभाको उपसभामुख बनेकी थिइन् । नेकपाबाट एमाले–माओवादीपछि अलग बनेपछि रायमाझीले एमालेमै बस्ने निर्णय गरेका थिए ।

स्थानीय तहमा असफल भएको गठबन्धन

सत्तारुढ ५ दलले केन्द्रमा गठबन्धन गर्नुअगावै अर्घाखाँचीका सबै वडा तहसम्म गठबन्धन गर्ने लिखित समझदारी गरेका थिए अर्घाखाँचीमा । सबै दल एकातिर मिलेर लड्दा पनि गठबन्धनभित्रको आन्तरिक विवादले एक्लै लडेको एमालेले चमत्कारिक नतिजा निकालेको थियो ।

६ पालिका रहेको जिल्लामा एक नगर र एक गाउँमा मात्रै गठबन्धनबाट कांग्रेसका उम्मेदवार प्रमुखमा र एक नगरमा जनमोर्चामा उम्मेदवार विजयी भएका थिए । नेता टोपबहादुर रायमाझी आफै गाउँ गाउँमा पुगेर त्यो माहोल बनाएका थिए भने जिल्ला इन्चार्ज चेतनारायण आचार्य र अध्यक्ष पिताम्बर भुसालले साथ दिएका थिए ।

अंकगणितमा गठबन्धन अगाडि

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मत परिणाम जोड्दा कांग्रेसका उम्मेदार भुसाल करिब पाँच हजार मत अगाडि छन् । एमालेका वडाध्यक्षहरूले ४८ हजार दुई सय ६० मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षले ३७ हजार नौ सय २५, माओवादी केन्द्रका वडाध्यक्षले सात हजार सात सय ९०, राजमोका वडाध्यक्षहरूका उम्मेदवारहरूले चार हजार दुई सय ९४ नेकपा एसले तीन हजार सात सय ६३ मत प्राप्त गरेका थिए ।

त्यो मत परिणाम कायम रहेमा गठबन्धन दलको मत ५३ हजार सात सय ७२ मत देखिन्छ । तर स्थानीय तहको निर्वाचनपछि धेरै माहोल फेरिएको स्थानीयको आंकलन छ ।

यस्ता छन् ११ अन्य उम्मेदवार

मुख्य प्रतिस्पर्धामा दुई जना देखिए पनि यहाँबाट अन्य ११ उम्मेदवार प्रतिस्पर्धामा छन् । हाम्रो नेपाली पार्टीका दुर्गा बन्जाडे, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल, राप्रपाका होमनारायण बेलवासे, जसपाका नेत्रबहादुर थापा, नेमकिपाका सुतेज दुवाल, राप्रपा नेपालका खलिल मियाँ, मंगोल नेसनल अर्गनाइजेसनका पूर्णबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका मधुबहादुर सारू, जनसमाजवादी पार्टी नेपालका पीताम्बर अर्याल प्रतिस्पर्धामा छन् ।

के भन्छन् उम्मेदवारहरु ?

एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले जिल्लालाई पहाडी जिल्लाको स्तरमा नमुना विकास गरेको र केही महत्वपूर्ण योजना अझै पूरा गर्ने दृढ अठोट लिएको बताउँछन् । १५ वर्षअघि जिल्लाको विकासको अवस्था र अहिलेको अवस्थालाई सबै जिल्लावासीले तुलना गरेको बताउँदै उनले कसैको आलोचना नगरी आफ्ना योजना पूरा गरेर नमुना जिल्ला बनाउने उद्देश्य रहेका तर्क गर्दछन् ।

‘यहाँ भौतिक पूर्वाधारमा मुख्य बाटो, खानेपानी, बाटो, शिक्षा, स्वास्थ्य, यातायात, रोजगार, कृषि, भवन निर्माणलगायत क्षेत्रलाई प्राथमिकतामा छन् । सालझण्डी ढोरपाटन सडक, मदन भण्डारी राजमार्गलाई जोड्नसक्नु नै मुख्य उपलब्धी हुन्’ उनले भने ।

‘नौमुरे जलविद्युत् आयोजनालाई सञ्चालनमा ल्याउने, ढोरपाटन सडकलाई पिच गरेर सञ्चालनमा ल्याउने, गोरुसिंगे–सन्धिखर्च सडकलाई दुई वर्षभित्र चौडा पारिसक्ने, बल्कोट–सन्धिखर्क सडकखण्ड कालोपत्रे गर्ने, जिल्ला अस्पताललाई सुधार गर्ने र ५० बेडहरू थप्ने, ५० युनिटसम्म बिजुली र १० हजार लिटर पानी निःशुल्क दिने, अर्घा एयरपोर्टलाई सञ्चालनमा ल्याउने, सन्धिखर्च–ढिकुरा सडक कालोपत्रे गर्ने एजेण्डा मैले सारेको छु’ रायमाझीको भनाइ छ ।

उनले जिल्लामा बसाइँसराइ दर बढ्दो रहेकाले जिल्ला छाड्न नपर्ने गरी आगामी कार्यकालमा सबैखाले सेवासुविधा प्रदान गर्ने योजना रहेको उनले बताए ।‘विकास र समृद्धिलाई एमालेले प्रमुख एजेण्डा बनाएको छ, आगामी पाँच वर्षमा अर्घाखाँचीलाई विकासमा नमुना जिल्ला बनाउने लक्ष्य छ’ रायमाझीले भने ।

कांग्रेसबाट उम्मेदार बनेकी पुष्पा भुसालले संविधानको रक्षा गर्दै आर्थिक समृृद्धितर्फ अगाडि बढ्ने बताइन् । ‘जिल्लाको विकासका लागि खेलेको भूमिकाको मूल्याकंन जनताले गर्छन्,’ उनले भनिन्, ‘यहाँ गठबन्धनको जित हुन्छ ।’

उनले गठबन्धनका दलहरूबीच आन्तरिक विवादहरू नभएकाले एक ढिक्का भएर चुनावमा लागिपरेको भुसालले दाबी गरिन् । उनले जिल्लाको विकासका लागि भौतिक विकाससँगै कृषि, स्वस्थ्य, शिक्षादेखि विभिन्न क्षेत्रको विकासलाई प्राथमिकतामा राखेकी छन् ।

जिल्लाको विकासका लागि धार्मिक पर्यटनको पनि विकास गर्ने, यहाँका विकास आयोजनाहरू भष्ट्राचाररहित रूपमा अगाडि बढाउने, जिल्लामा रोजगारीका अवसरहरू सिर्जना गर्ने, युवाहरूलाई रोजगारीमा लगाउने, महिला, पछाडि पारिएका वर्गहरूलाई अवसरहरू सिर्जना गर्ने, जिल्लाको चौतर्फी विकास गर्नेलगायत अजेन्डा उनले अघि सारेकी छिन् ।

यस्तो दावी गर्छन् चुनावी कमाण्डर ?

एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसाल आफ्ना उम्मेदवारहरूले विगतमा जिल्लाको विकासमा खेलेको भूमिका र एमालेको पक्षमा रहेको बढ्दो जनमत नै जितको मुख्य आधार भएको बताउँछन् । ‘एमालेको बलियो सांगठनिक आधार छ । व्यवस्थित कमिटीहरू छन् । १० हजार संगठित पार्टी सदस्य छन् । पार्टी संगठन तथा कार्यकर्ता व्यवस्थित रूपमा परिचालन छन् ।

पार्टीभित्र एकता छ, चुनावका लागि सर्वसहमतिबाट उम्मेदवार सिफारिस भएकाले यहाँ कुनै विवाद छैन, यसले पनि चुनाव जित्न सहज छ’ भुसालले भने ।

‘स्थानीय तहमा पनि गठबन्धनविरुद्ध जिल्लावासीले जनमत दिएको र त्यसपछि एमालेमा धेरैको आकर्षण बढेको उनको तर्क छ । स्थानीय निर्वाचनपछि माओवादी, नेकपा एस, कांग्रेस, जनमोर्चाबाट ठूलो संख्यामा एमाले प्रवेश गर्नेहरु हुनुहुन्छ, पुरानो तथ्यांक हेरेर गठबन्धनले मन बुझाउने मात्रै हो’ उनले भने ।

सत्तारुढ गठबन्धनको निर्वाचन परिचालन मूल समितिको संयोजक विष्णुप्रसाद खनालले गठबन्धनका उम्मेदारले फराकिलो मतान्तरले चुनाव जित्ने दाबी गर्छन् । स्थानीय तहको निर्वाचनको परिणामले पनि जिल्लामा गठबन्धन अगाडि रहेको उनले बताए ।

उनले भने, ‘स्थानीय तहको निर्वाचनमा दलहरूभित्र कतैकतै आन्तरिक समस्याहरु थिए त्यो हुँदा पनि गठबन्धनको मत पाँच हजारभन्दा बढी छ, अहिले ती असन्तुष्टिहरू सबै हटेका छन्, यसकारण पनि चुनाव जित्न कुनै कठिनाई छैन’–उनले भने । अर्घाखाँचीमा भएका काम टोपबहादुरका कारणले नभई माओवादीका कारणले भएको र टोपबहादुर एमालेमा गएदेखि उनले कुनै काम गर्न नसकेको उनले आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर