मतदानको दिन सवारी साधन प्रयोग गर्न के गर्ने ? – Nepal Press

मतदानको दिन सवारी साधन प्रयोग गर्न के गर्ने ?

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत पनि गरेको छ ।

मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले मतदानको दिन सवारी साधन प्रयोग गर्न सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम र सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुमति जारी गर्ने निकाय वा अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।

स्वीकृत मापदण्डबमोजिम मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा वासस्थानदेखि विमानस्थलसम्म र विमानस्थलदेखि यात्रुको वासस्थानसम्मको आवागमनको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्नुपर्नेछ ।

अपाङ्गता भई आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिका लागि वासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि वासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपाङ्गता परिचयपत्रका आधारमा सवारी साधनको प्रयोग गर्न सकिनेछ । अशक्तताको कारणले आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतले तोकिएको ढाँचामा अनुमति पत्र जारी गर्न सक्नेछ ।

मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई आवश्यक कानूनी कारबाही गर्नेछ । उक्त सवारी साधन मतदानको कार्य सकिएपछि मात्र फिर्ता दिने व्यवस्था मापदण्डमा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *