सोहेब मल्लिक र सानिया मिर्जाको वैवाहिक जीवन संकटमा – Nepal Press

सोहेब मल्लिक र सानिया मिर्जाको वैवाहिक जीवन संकटमा

काठमाडौं । पाकिस्तानी क्रिकेटर सोहेब मल्लिक र भारतीय टेनिस खेलाडी सानिया मिर्जाको दाम्पत्य सम्बन्धमा दरार उत्पन्न भएको समाचारहरू भारतीले मिडियामा आउन थालेका छन् । सोहेबले एक पाकिस्तानी मोडलसँग विवाहेत्तर सम्बन्ध राखेको थाहा पाएपछि सानिया उनीसँग अलग्गिने मनस्थितिमा रहेको दाबी समाचारमा गरिएको छ ।

केही दिनदेखि सानियाले सामाजिक सञ्जाल उदास तस्बिर र स्टाटसहरु हाल्न थालेपछि उनीहरूको सम्बन्धबारे चियोचर्चो सुरु भएको थियो । त्यसो त भारतीय मिडियाहरू सानिया र सोहेब विवाहबन्धनमा बाँधिएदेखि नै यो जोडी टुट्ने प्रतीक्षामा थिए । आफ्नो देशकी स्टार दुस्मन देशका खेलाडीको श्रीमती बनेको भारतीयहरूले पचाउन सकेका थिएनन् ।

सानियाले हालै मात्र आफ्नो इन्स्टाग्राम ह्यान्डलमा छोरासँगको तस्बिर सेयर गर्दै लेखेकी थिइन्, ‘कठिन दिनहरूमा मलाई यस्ता क्षणहरूले सहारा दिन्छन् ।’

तर, केही दिनअघि यो जोडी एकसाथ देखियो, छोरीको जन्मदिन सेलिब्रेसन गर्न । उक्त सेलिब्रेसनका तस्बिरहरू सोहेबले सामाजिक सञ्जालमा हाले, तर सानियाले हालिनन् । सोयबले लेखेको क्याप्सन पनि अर्थपूर्ण छ ।

तस्बिर सेयर गर्दै उनले लेखेका छन्, ‘जब तिमी जन्मिएकी थियौ, हामी अझै बढी विनम्र भयौँ र जीवनको अर्थ हाम्रो लागि विशेष भयो । हामी सधैँ सँगै हुँदैनौ र हरेक दिन भेट हुँदैन, तर बाबाको दिमागमा सधैँ तिमी र तिम्रो मुस्कान खेलिरहेको हुन्छ हरेक सेकेन्ड । अल्लाहले तिमीले चाहेका सबै कुरा पुर्‍याइदिउन् । बाबा र मामाले तिमीलाई धेरै माया गर्छन् ।’

केही मिडियाले भने सानिया र सोहेबबीच औपचारिक सम्बन्धविच्छेद नै भइसकेको समाचारसमेत लेखेका छन् । इन्साइड स्पोर्ट्स नामक अनलाइनमा प्रकाशित समाचारअनुसार सानिया र सोहेब अहिले एक साथ बस्दैनन्, तर बच्चाको रेखदेख संयुक्तरूपमा गरिरहेका छन् ।

सोहेबको म्यानेजमेन्ट टिमसम्बद्ध एक साथीलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘हो उनीहरूले औपचारिक रूपमा सम्बन्धविच्छेद गरेका छन् । योभन्दा बढी म बताउन सक्दिनँ ।’

सोहेबले आफ्नी पत्नीलाई ‘चिट’ गरेर अर्की युवतीसँग सम्बन्ध राखेको दाबी पनि समाचारमा गरिएको छ । सोहेबले हालै पाकिस्तानी मोडल आयसँग ओमारसित इन्टिमेट फोटोसुट गरेका थिए । त्यसलाई लिएर सानिया असन्तुष्ट बनेको पनि समाचारमा उल्लेख छ । आयशासँग सोहेबको विवाहेत्तर सम्बन्ध रहेको पनि सानियाको कानमा परेको छ ।

सानिया र सोयबले सन् २०१० को अप्रिल १२ मा विवाह गरेका थिए । उनीहरूको प्रेम विवाहले खेल दुनियाँमा निकै महत्त्व पाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर