राप्रपालाई भोट माग्दै मनिषाले भनिन्- बीपी बुबाको बाटोमा राजेन्द्र लिङ्देन हिँड्नुभयो, अरुले बिर्से (भिडिओ) – Nepal Press

राप्रपालाई भोट माग्दै मनिषाले भनिन्- बीपी बुबाको बाटोमा राजेन्द्र लिङ्देन हिँड्नुभयो, अरुले बिर्से (भिडिओ)

‘श्री ५ महेन्द्र र बीपी बुबाले गुमाएको अवसर अब पूरा गर्ने मौका आएको छ’

पोखरा । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी बलिवुड अभिनेत्री मनिषा कोइरालाले बीपीको बाटोमा राप्रपा रहेकाले उक्त पार्टीलाई जिताउन आह्वान गरेकी छन् ।

शुक्रबार पोखरामा आयोजित राप्रपाको जनसभालाई सम्बोधन गर्दै मनिषाले तत्कालीन राजा महेन्द्र र बीपी कोइरालाबीच अत्यन्त राम्रो सम्बन्ध हुँदाहुँदै पनि मुलुकले ठूलो अवसर गुमाएकाले बीपीलाई सम्झेर राप्रपालाई भोट दिन आग्रह गरिन् ।

उनले जनतालाई ढाँटेर आश्वासन दिने नेताहरुलाई जनताले चोर आयो भनेर राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्तिले आफू प्रभावित भएको समेत बताएकी छन् ।

मनिषाले भनिन्- कांग्रेसले सबैले बीपीलाई बिर्सेलान् तर उहाँ राजेन्द्र लिङ्देनले बिर्सनुभएको छैन । राजसंस्था र बहुदलीय व्यवस्थाले मुलुकलाई सुदृढ गर्छ भनेर बीपी बाले देखाएको राष्ट्रिय मेलमिलापको बाटो नै उहाँले अहिले उठाउनुभएको छ । त्यसकारण म उहाँसँग उभिएकी छु । उहाँका सबै कुरा मन परेको छ । भ्रष्टाचार गरेमा आमाको रगत खाए सरह हो भन्ने कुरा र नेताहरु चोर भन्ने कुरा मन परेको छ ।

मुम्बइमा फिल्म सुटिङ स्थगित गरेर नेपाल आएकी मनिषाले विपी र महेन्द्रले पूरा गर्न नसकेको सहकार्य राप्रपाको नेतृत्वमा राजसंस्था र हिन्दूराज्य फर्काएर पूरा गर्ने समय आएको दाबीसमेत गरिन् । उनले राप्रपालाई जिताउँन र मौकालाई व्यर्थ खेर जान नदिन आह्वानसमेत गरेकी छन् ।

विपी कोइरालाका तीन छोरामध्ये जेठा प्रकाशकी छोरी हुन् मनिषा । बीपीका अर्का छोरा सशांक कांग्रेसबाट उम्मेदवार छन् । तर मनिषा भने राप्रपाको चुनावी अभियानमा लागेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर