कतार विश्वकपका सहभागी देशहरुले किन २६ सदस्यीय राष्ट्रिय टोली घोषणा गर्दैछन् ? – Nepal Press

कतार विश्वकपका सहभागी देशहरुले किन २६ सदस्यीय राष्ट्रिय टोली घोषणा गर्दैछन् ?

दोहा । कतार विश्वकप सुरु हुन दुई हप्ताभन्दा कम समय बाँकी छ । अहिले सहभागी हुने ३२ टोलीले धमाधम आफ्नो राष्ट्रिय टोली घोषणा गरिरहेका छन् ।

फ्रान्स, जर्मनी, इङ्ल्यान्ड, ब्राजिलजस्ता टोलीले २६ जना खेलाडीलाई समेटेर राष्ट्रिय टोली घोषणा गरेका छन् । यसअघि राष्ट्रिय टोली २३ सदस्यीय हुने गरेको भए पनि विश्वकपमा पहिलोपटक २६ सदस्यीय राष्ट्रिय टोली सहभगाी हुनेछ ।

विश्व फुटबल महासंघ (फिफा) ले गत जुन २३ तारिखमा विश्वकपमा एउटा टीमले कम्तिमा २३ र बढीमा २६ खेलाडीसम्मको राष्ट्रिय टोली घोषणा गर्न सक्ने निर्णय गरेको थियो । कोभिड महामारी, कतारको तापक्रम र युरोपका व्यावसायिक लिगको मध्यतिर विश्वकप हुन लागेकाले राष्ट्रिय टोलीको सदस्य संख्या बढाइएको हो ।

यसको मतलब कुनै खेलमा एउटा टीमका अधिकतम १५ जना खेलाडी बेन्चमा रहनेछन् । यसअघि युरो कपमा पनि एउटा टोलीमा २६ खेलाडी राख्ने अनुमति दिइएको थियो । तर, कुनै खेलका लागि १२ खेलाडीमात्र बेन्चमा राख्न सकिने व्यवस्था थियो ।

अहिले बेन्चमा रहने खेलाडीको संख्या बढाएर १५ पुर्‍याइएको छ । यस्तै विश्वकपमा एउटा टीमले खेलका क्रममा पाँच खेलाडीसम्म परिवर्तन गर्न सक्नेछ । कोरोना महामारीका वेला ३ लाई बढाएर ५ जना बनाउने निर्णयले आगामी कतार विश्वकपमा पनि निरन्तरता पाउने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर