रुपन्देही ३ : रोचक बन्दै ‘हेभीवेट’ खाण र बोहराको भिडन्त – Nepal Press

रुपन्देही ३ : रोचक बन्दै ‘हेभीवेट’ खाण र बोहराको भिडन्त

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ अहिले चर्चामा छ । बहालवाला गृहमन्त्री एवं पाँच दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण यसै क्षेत्रको चुनावी मैदानमा छन् । उनलाई प्रमुख प्रतिपक्षी नेकपा एमाले नेतृत्वको तीन दलीय गठबन्धनबाट राप्रपाका नेता एवं पूर्वमन्त्री दीपक बोहराले चुनौती दिइरहेका छन् ।

पटक–पटक निर्वाचन जित्दै आएका यी दुई नेताबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुवै नेता अहिले गठबन्धनको आडमा निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न दौडधुप गरिरहेका छन् । ‘हेभीवेट’ दुई नेताको प्रतिस्पर्धाले यहाँको निर्वाचन रोचक बनाएको हो ।

खाण र बोहरा दुबै नेता मतदातालाई प्रभावित पार्नसक्ने खुबी भएका हुन् । खाण केन्द्रीयस्तरमा राम्रो पहुँच राख्ने नेतामा पर्छन् । बोहरा पनि भैरहवा क्षेत्रमा प्रभाव राख्ने नेता हुन् । खाणलाई पछिल्लो समय जनमुक्ति पार्टीले पनि समर्थन गरेको छ ।

खाण आफ्ना विगतका कामलाई देखाएर र आगामी योजनाबारे बेलिविस्तार गर्दै मतदातासमक्ष पुगिरहेका छन् । ‘रुपन्देहीलाई मुलुककै विकासको केन्द्र बनाउने मेरो र गठबन्धनको लक्ष्य छ’, गृहमन्त्री खाणले भने, ‘यसका लागि निर्वाचित भएपछि सिद्धार्थ रिङरोड, सेमलारमा अत्याधुनिक कृषि थोक बजारलगायतका योजनाबाट पहिलो चरणको काम सुरु हुनेछ । अरु योजना पनि जिल्लामा ल्याइनेछ ।’

निर्वाचन मिति नजिकिएसँगै दलहरुमा हारजीतको जोडघटाउ भइरहेको छ । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामअनुसार सत्ता गठबन्धनसँग ४० हजार १८५ मत छ । राप्रपासहितको एमाले गठबन्धनको ४८ हजार ६२८ मत छ । यस हिसाबले सत्ता गठबन्धनभन्दा तीन दलीय गठबन्धन ८ हजार ४४३ मतले अगाडि छ । यहाँ खाणलाई समर्थन गरेको जनमुक्तिको करिब ३ हजार मत रहेको दाबी छ ।

यससँगै पछिल्ला दिन स्थानीय तहको मत परिणामको समीकरण केही फेरिएको छ । निर्वाचन माहोल तात्दै जाँदा गणितीय हिसाबमा बोहराभन्दा खाण अगाडि रहेको गठबन्धनको दाबी छ । ‘धेरै कारणबाट हामी अघि देखिएका छौं, न्युटल मतदाता हाम्रो पक्षमा लागिसक्नुभएको छ’, कांग्रेस क्षेत्रीय सभापति सुशील गुरुङले भने ।

घनश्याम भुसाल एमाले त्यागेर रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार बन्दा रुपन्देही ३ मा एमालेको केही मत प्रभावित हुने दाबी कांग्रेस नेताहरुको छ । क्षेत्र नम्बर १ मा भुसाललाई सत्ता गठबन्धनले सहयोग गरेका कारण पनि उनी पक्षीयहरुले क्षेत्र नम्बर ३ मा खाणलाई सहयोग गर्नसक्ने उनीहरुको विश्वास छ ।

त्यस्तै चुनावी अभियानका क्रममा राप्रपा, एमाले, जसपालगायतका पार्टीका कार्यकर्ता र स्वतन्त्र व्यक्तिहरु कांग्रेस प्रवेश गरेको बताइन्छ । यसले पनि खाणलाई सहज हुँदै गएको दाबी गरिएको छ ।

एमाले, राप्रपा र जसपा गठबन्धनले भने बोहराले यस क्षेत्रको विकासमा योगदान दिएकाले सहजै जित्ने दावी गरेको छ । यस क्षेत्रमा बोहरा पनि कम प्रभाव जमाएका नेता होइनन् । ‘त्यसै त हामी ८ हजार मतले अघि थियौं, त्यसैमा पार्टी प्रवेश गर्ने क्रम पनि बढिरहेको छ’, राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले भनिन्, ‘विगतमा बोहराजीले यस क्षेत्रमा गरेको विकास निर्माणले गर्दा पनि हामी सहज जित्छौं ।’

राप्रपाका नेताहरु आफ्नो मत जोगाए जीत निकाल्न कुनै अप्ठ्यारो नभएको बताउँछन् । यस क्षेत्रमा केही स्वतन्त्र उम्मेदवार र अन्य राजनीतिक दलहरुले ल्याउने मतले पनि खाण र बोहराको हारजीतमा प्रभाव पर्ने देखिन्छ । लौरो चिह्नका प्रख्यात बन्जाडे कांग्रेस पृष्ठभूमिकै भएकाले खाणलाई केही चुनौती थपिएको बताइन्छ ।

बोहरा अहिलेसम्म ९ पटक मन्त्री भइसकेका छन् । पञ्चायतदेखि गणतन्त्रसम्म सत्ताका अनुभवी बोहरालाई पटकपटक नै मन्त्री भएका खाणले चुनौती दिइरहेका छन् । बोहरालाई एमाले र जसपाको पूरै मत आफ्नो पक्षमा नआउने चिन्ता छ । खाण भने एमाले र जसपाकै मत चोरेर जित्ने दाउमा छन् ।

खाण २०७४ मा समानुपातिक सांसद हुँदा तत्कालीन एमाले नेता भुसालले बोहरालाई फराकिलो अन्तरले पराजित गरेका थिए । भुसाल वाम गठबन्धनका साझा उम्मेदवार थिए भने बोहरालाई कांग्रेसको समर्थन थियो । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहरा २७ हजार ४२२ मा रोकिएका थिए । २०७० मा भने खाणले भुसाललाई ८६ मतले पराजित गरेका थिए ।

यस क्षेत्रबाट २०६४ सालमा पनि खाण नै वियजी भएका थिए । क्षेत्र नम्बर ३ मा बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा पर्ने सबै पालिकाको नेतृत्व कांग्रेसले जितेको छ । १ लाख ३२ हजार ७९१ मतदाता रहेको क्षेत्र नम्बर ३ मा दलगत र स्वतन्त्र गरी २२ जना उम्मेवार प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर