रुम नम्बर ५०२ जहाँ मृत भेटिए पत्रकार अधिकारी – Nepal Press

रुम नम्बर ५०२ जहाँ मृत भेटिए पत्रकार अधिकारी

पहिले पनि गरेका थिए आत्महत्या प्रयास !

काठमाडौं । पत्रकार सरोजराज अधिकारी वुधबार साँझ सुन्धाराको एक होटलमा मृत भेटिए । होटलको कोठाभित्र पंखामा झुण्डिएको अवस्थामा उनको शव प्रहरीले भेटेको थियो । अधिकारी अघिल्लो रातदेखि सो होटलको कोठामा बसिरहेको खुलेको छ ।

कात्तिक २१ गते राति ९ बजे ४५ मिनेटमा सुन्धारास्थित सिद्धार्थ होटलमा प्रवेश गरेका थिए । होटलभित्र पस्दा उनी मदिरा सेवन गरेको अवस्थामा थिए ।

उक्त होटलका नियमित ग्राहक अधिकारीलाई त्यहाँका कर्मचारी सबैले चिन्थे । त्यसैले उनलाई कोठा व्यवस्थापनमा समस्या भएन । ६ तल्ले भवनको पाँचौँ तलामा रहेको ५०२ नम्बरको कोठा उनका लागि बुक भयो । अन्यलाई साढे १८ सय रुपैयाँ लिइने कोठा अधिकारी १४ सय रुपैयाँमा दिइएको थियो ।

त्यस रात कोठा प्रवेश गरेपछि अधिकारीले चुकुल बन्द गर्नुअघि दुईवटा गोर्खा बियर मगाए । खाना भने अर्डर गरेनन् । भोलिपल्ट कात्तिक २२ गते पनि उनले तीनवटा गोरखा बियर, पानी र चुरोटहरु मगाएका थिए । बुधबार बिहान एक वोतल पानी र चुरोट मगाएपछि उनले कोठाको चुकुल लगाए ।

साँझ ६ बजेर २० मिनेटमा प्रहरी पुगेर कोठा खोल्दा खाटमा ओछ्याउन प्रयोग गरिएको तन्नाले पंखामा पासो लागेर झुन्डिएको अवस्थामा ४१ वर्षीय अधिकारीको शव भेटिएको हो ।

‘उहाँ यसअघि आउँदा पनि रक्सी, चुरोट र सितन मात्र मगाउनु हुन्थ्यो । खाना खाएको कहिल्यै याद छैन । यसपटक भने उहाँले सितन पनि अर्डर गर्नुभएन । कोठामा छिरेपछि बाहिर ननिस्कने उहाँको बानी नै थियो । एकैपटक चेक आउट हुने बेलामा मात्र निस्कनु हुन्थ्यो’, बिहीबार दिउँसो सिद्धार्थ होटल पुग्दा सुनसान वातावरणबीच एक कर्मचारीले भने ।

उनले वर्षौदेखि काम गर्दै आए पनि यस्तो घटना होटलमा कहिल्यै नभएको स्मरण गरे । ‘एक्लै बस्ने, रक्सी खाइरहने भएकाले बुधबार दिउँसो खासै वास्ता भएन । साँझ आफन्त र प्रहरी आउँदा मात्र झसंग भयौँ । किनभने यसपटक ढोका खुलेको थिएन,’ ती कर्मचारीले भने ।

पहिले पनि गरेका थिए आत्महत्या प्रयास !

अधिकारीले मंगलबार दिउँसो निकटस्थहरुलाई फोन गर्दै आफू अब मर्न लागेको बताएका थिए । तर, आफू रहेको ठाउँ खुलाएनन् । यसबारे तत्कालै प्रहरीको केन्द्रीय साइबर ब्यूरोलाई जानकारी गराइएको थियो । ब्युरोका सहप्रवक्ता भाग्यपुरुष ढकालले सूचना आएपछि तत्कालै अनुसन्धान अगाडि बढाइएको बताए ।

‘हामीलाई सूचना आएपछि तत्कालै अनुसन्धान अगाडि बढाउँदा उहाँको मोबाइल अफ भएको पाइयो । लोकेसन ट्र्याक गर्ने अन्य उपायसमेत भएन,’ ब्यूरोले सक्दो प्रयास गरेको र अनुसन्धानलाई कायमै राखिरहेको बताउँदै ढकालले भने ।
यता अधिकारीकी श्रीमती वुधबार दिउँसो श्रीमान हराएको भन्दै काठमाडौं प्रहरी परिसर पुगेकी थिइन् । प्रहरीले प्राविधिक अनुसन्धान गर्दा उनी सुन्धारा क्षेत्रमा रहेको पाइएको थियो । त्यसपछि खोज्ने क्रममा अधिकारी सिद्धार्थ होटलमा मृत भेटिएका हुन् ।

अधिकारी पछिल्लो समय मानसिक समस्यामा रहेको जस्तो देखिने गरेको उनी निकटस्थहरु बताउँछन् । उनले आफ्नो चरित्रहत्या भएको भन्दै साइबर ब्यूरोमा केही अघि उजुरी हालेको पाइएको छ ।

अधिकारीले यसअघि नेपालगन्जमा पनि २ वर्षअघि आत्महत्याको प्रयास गरेका थिए, तर समयमै उनको उद्दार भएको थियो । अधिकारीसँग केही समय काम गरेका पत्रकार रोहेज खतिवडा उनीसँग भएको अन्तिम कुराकानी उद्दृत गर्दै लेख्छन्, ‘रोहेज, मैले गर्दै नगरेको गल्तीको सजाय भोगिरहेको छु, त्यही कारणले गर्दा म मानसिक रूपमा विक्षिप्त छु । नेपालगन्जमा सुसाइड एटेम्प्ट पनि गरे, साथीहरूले बचाए । यो कुरा तिम्रा साथीहरू फलाना फलानालाई थाहा छ । छानबिन होस् भनेर आफैं उजुरी दिएँ । छानबिन त हुनुपर्थ्याे नि ।’

अधिकारीका श्रीमती, एक छोरा र एक छोरी छन् । उनी भक्तपुरको दुवाकोटमा आमाबुबासहित आफ्नै घरमा बस्दै आएका थिए । शवको पोस्टमार्टम गरेर बिहीबार आफन्तलाई बुझाइएको छ । लामो समय कान्तिपुर मिडिया ग्रुपको कान्तिपुर दैनिक र नेपाल साप्ताहिकमा काम गरेका अधिकारी सुरक्षा मामिलामा दख्खल राख्ने पत्रकार थिए । उनले ‘चक्रब्युहमा चन्द्रसूर्य’, ‘जासुसीको जालो’ जस्ता पुस्तक पनि लेखेका छन् ।

पछिल्लो समय मेन स्ट्रिम मिडियाबाट अलग्गिएका उनी आफ्नै नामको ‘एसआरए सो’ नामक युट्युब च्यानल चलाउँदै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *