गठबन्धनकै प्रतिस्पर्धी राजन केसीबारे अञ्जना भन्छिन्- पहिले प्रचण्डले हराउनुभयो, अहिले म हराउँछु – Nepal Press
नेपाल टक

गठबन्धनकै प्रतिस्पर्धी राजन केसीबारे अञ्जना भन्छिन्- पहिले प्रचण्डले हराउनुभयो, अहिले म हराउँछु

‘केही काम नगर्ने एउटै व्यक्तिलाई जनताले २० वर्षसम्म स्वीकार्दैनन्’

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब धेरै समय बाँकी छैन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वाम लोकतान्त्रिक गठबन्धनमा छन् । नेकपा एमालेलगायतका केही दलबीच अर्को गठबन्धन छ । दुई वटा गठबन्धन भए पनि कतिपय योग्य र क्षमतावान उम्मेदवार गठबन्धनको साझा उम्मेदवार बन्न सकेनन् । कतिपयले बागी उम्मेदवारी दिए । कतिले पार्टी नै त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

केही क्षेत्रमा गठबन्धनले सीट भागबन्डा गरे पनि एकभन्दा बढी दलले उम्मेदवारी दिएका छन् । यस्ता क्षेत्रमा दलले पनि एकापसमा स्वच्छ प्रतिस्पर्धा गर्ने बताइसकेका छन् । त्यसमध्ये एक उम्मेदवार हुन नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर १० की उम्मेदवार अञ्जना विशंखे । माओवादी स्थायी समिति सदस्य विशंखे २०७४ सालमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् । यस पटक माओवादीलगायत कतिपय दलले समानुपातिक सांसदलाई नदोहोर्‍याएनन् । जसले गर्दा उनी समानुपातिकमा पर्न सकिनन् । काठमाडौं १० मा नेपाली कांग्रेस र माओवादीका छुट्टाछुट्टै उम्मेदवार छन् । विशंखे समानुपातिक सांसदमाथिको विभेद देखेर यसपटक प्रत्यक्षतर्फ उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएकी छन् । उनै अञ्जना विशंखेसँग  गरिएको कुराकानी  नेपाल टकमा:

– तपाईं किन गठबन्धनको साझा उम्मेदवार बन्न सक्नुभएन ?

वाम लोकतान्त्रिक गठबन्धनले काठमाडौं १० मा मिलेरै अघि बढ्ने निर्णय गरेको थियो । तर, नेपाली कांग्रेसले यहाँ गठबन्धन आवश्यक छैन भनेर मनोनयन दर्ता गर्‍यो । त्यसपछि हामीले पनि उम्मेदवारी दर्ता गराएका हौं ।

– भनेपछि कांग्रेसका कारण तपाईंको निर्वाचन क्षेत्रमा गठबन्धन टुक्रिएको हो ?

हो, हाम्रो निर्वाचन क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसकै कारणले टुक्रिएको हो । टुक्राए पनि केही छैन । हामी पनि स्वस्थ प्रतिस्पर्धामा गएका छौं । यो निर्वाचन क्षेत्र कसैको पेवा पनि होइन । जनताले एउटै व्यक्तिलाई २० वर्षसम्म स्वीकार गर्न सक्दैनन् । त्यो विकल्पका रुपमा म आएको हो ।

– प्रदेशसभामा गठबन्धनले नेकपा एकीकृत समाजवादीलाई दिएको निर्णय तपाईंहरुले किन मान्नुभएन ?

हामीलाई कसैले स्वीकार गर्दैन भने हामीले पनि अरुलाई किन स्वीकार गर्ने ? नेकपा एकीकृत समाजवादीले हामीसँग गठबन्धन गर्न प्रतिनिधिसभामा मलाई समर्थन गर्नुपर्‍यो । अनि पो हामीले समाजवादीलाई समर्थन गर्ने हो र गठबन्धनको निर्णय मान्ने हो । समाजवादीले कांग्रेसलाई मतदान गर्ने हो भने हामीले उनीहरुलाई किन स्वीकार गर्ने ?

जनताले एउटै व्यक्तिलाई २० वर्षसम्म स्वीकार गर्न सक्दैनन् । त्यो विकल्पका रुपमा म आएको हो ।

– तपाईं निर्वाचित हुन्छु भन्ने आधार के छन् ?

मैले जित्ने धेरै आधार छन् । एउटा, यस निर्वाचन क्षेत्रका मतदाताले नयाँ अनुहार खोजेका छन् । एउटै व्यक्ति धेरै पटक निर्वाचित भए पनि जनताका समस्या र मुद्दा कहिल्यै पनि गम्भीर भएर उठाउन सकेनन् र काम गर्न सकेनन् । संसद विकास कोषको रकम पनि टुक्र्याएर कसलाई दिइयो, त्यसको जानकारी जनताले पाउन सकेनन् ।

अर्को, म यसै क्षेत्रमा जन्मिएर हुर्केको व्यक्ति पनि हो । राजनीतिक आन्दोलनसँगै धेरै सामाजिक आन्दोलनमा मेरो सहभागिता छ । मैले यहाँको भूगोल सानै उमेरदेखि चिनेको छु र जनताको मनोवृत्ति पनि बुझेको छु । संसदीय निर्वाचन भनेको शक्ति, सत्ता र विचारको प्रतिस्पर्धा हो । आफूले के गर्न सकिन्छ, त्यो क्षेत्रका जनताका लागि भनेर प्रतिबद्धता जनाएको छु ।

मेरो निर्वाचन क्षेत्रमा पर्ने चन्द्रागिरी एउटा ऐतिहासिक ठाउँ पनि हो । वनजंगल, जडिबुटीले पनि भरिपूर्ण ठाउँ हो । अर्को, कीर्तिपुर सधैंभरि विद्रोहको प्रमुख भूमिकामा रहँदै आएको ठाउँ हो । यो क्षेत्र पानीको मुहानको क्षेत्र भए पनि यहाँका जनताले पानी खान पाएका छैनन् । तर, निश्चित व्यक्तिले पानीमा व्यापार गरिरहेका छन् । राजन केसीले पानी खुवाउँछु भनेको १० वर्ष भयो अहिलेसम्म खुवाउन सकेनन् । फर्पिङदेखि बल्खुको बाटो सबैले देख्नुभएकै छ । कस्तो दयनीय अवस्था छ ?

यो सबै मैले बुझेको छु र यही क्षेत्रका लागि केही गरिसकेको र अब प्रत्यक्षमा निर्वाचित भएर गर्न पनि चाहन्छु । अर्को भनेको समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार एकदमै फरक छ । शक्ति सन्तुलनका हिसाबले पार्टीले पनि समानुपातिक निर्वाचित सांसदलाई राम्रो व्यवहार नगर्ने भएकाले यसपटक प्रत्यक्षमा निर्वाचन लड्न खोजेको हो ।

– समानुपातिकबाट सांसद भएर काम गर्न सकिएन भन्न खोज्नुभएको हो ?

पक्कै पनि । सांसद विकास कोषको ३० करोड बजेट त हामीले छुनसमेत पाएनौं । त्यसैकारण आफ्नो निर्वाचन क्षेत्रका जनताका आम समस्या सम्बोधन गर्न सकिएन । रणनीतिक बजेट ल्याउँछु भन्दा पनि सरकारमा बसेका हाम्रै पार्टीका मन्त्रीले पनि प्रत्यक्ष सांसदलाई सोध्नुपर्छ भन्ने गरेको पाइयो । कर्मचारी प्रशासनले पनि त्यस्तै व्यवहार गरेको पाइयो । यतिसम्म कि प्रत्यक्ष निर्वाचितले योजना पेश गरिसक्नुभएको छ भन्नेसम्मको जवाफ सुन्नुपर्‍यो ।

तर पनि मैले केही पनि गर्न सकेन भन्न खोजेको होइन । समानुपातिकबाटै सांसद भए पनि मैले धेरै काम गरेको छु । स्वास्थ्य क्षेत्रमा कुष्ठरोग पीडितका लागि दक्षिणकालीमा १८० जनालाई बीमा गर्न पहल गरे । अर्कोतिर रणनीतिक बजेटमा चन्द्रागिरीको कर्णाली भनेर चिनिने मसिनेमा बाटो बनाउन भौतिक मन्त्रालयबाट पहल गरें । अरु ठाउँको विकासका लािग पनि पहल गरेको छु । चन्द्रागिरीको लागि पनि धेरै काम र पहल गरेको छु । तर, जति पहल गर्न सकिन्थ्यो, त्यति गर्न नसकिने देखेपछि म प्रत्यक्ष निर्वाचन प्रणालीबाट संसदमा जान खोजेको हो । भित्रैदेखि काम गरौं र धेरै काम गर्न सकिन्छ भनेर उम्मेदवार बनेको हो ।

राजन केसीले पानी खुवाउँछु भनेको १० वर्ष भयो अहिलेसम्म खुवाउन सकेनन् । फर्पिङदेखि बल्खुको बाटो सबैले देख्नुभएकै छ । कस्तो दयनीय अवस्था छ ।

– प्रतिनिधिसभामा जाने भनेको विकास निर्माण गर्न हो कि कानून निर्माण गर्न हो ?

हामीले साना विकास गर्न जाने होइन । हामीले संयोजन गर्नेमात्रै हो । सानातिना काम त स्थानीय तहले गर्ने हो । हामीले कानून बनाउँदा त्यो क्षेत्रको रणनीतिक योजना कसरी पेश गर्ने भन्ने हो । त्यो क्षेत्रको रणनीतिक योजना त्यो क्षेत्रको प्रतिनिधिले मात्र थाहा पाउँछ र गर्नसक्छ । विकासका मुद्दा जनताको विषय भएकाले जनप्रतिनिधिले नै उठाउने हो । नत्र भने त्यो क्षेत्रबाट किन चुनिन पर्‍यो र !

आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणका कार्य गर्न के-कहाँ कानूनी बाधा छन्, कहाँ कानूनले मिचेको छ भनेर प्रत्यक्ष निर्वाचितले बुझ्ने र उठाउने तथा समाधानका लागि पहल गर्ने हो । जस्तै चन्द्रागिरी हिल बनाउँदा त्यहाँका स्थानीय जनताले मुआब्जा पाउने कि नपाउने, केबलकारमा सहुलियत पाउने कि नपाउने, त्यहाँका मजदुरलाई दिलाउने कि नदिलाउने भन्ने विषयमा जनप्रतिनिधिले नै उठाउने विषय हुन् ।

     – यसअघि तपाईंले कानून निर्माणमा कत्तिको योगदान गर्नुभयो ?

म समानुपातिक सांसद भए पनि सबैभन्दा धेरै कानून निर्माणमा मेरो संलग्नता रह्यो । धेरै कानूनमा धेरैभन्दा धेरै संशोधन हाल्ने सांसदमा म पनि पर्छु । तपाईंले संसद सचिवालयमा गएर बुझ्न पनि सक्नुहुन्छ । छुवाछूतको अपराधलाई अपराध मान्ने कि नमान्ने ? सामान्य धरौटीमा छोड्न पाउने कि नपाउने ? यी कानून निर्माण प्रक्रियामा मेरो योगदान छ । नभए त जातीय विभेद गर्ने गैरदलित एकदिन पनि हिरासत वा जेल नगएर फर्किने अवस्था आउने थियो ।

महिला हिंसासँग सम्बन्धित, निःशुल्क कानूनी सेवासम्बन्धी, बलात्कारसँग सम्बन्धित कानून, सुरक्षित मातृत्वसम्बन्धी कानून बनाउन योगदान गरेको छु । मेरा सुझाव पनि धेरै समेटिएका छन् । म कोभिडको अनुगमन समितिमा बसेर पनि काम गरें । कोरोना कालमा मेरो निर्वाचन क्षेत्रमा हजारौं पैदल हिँडिरहेका वेला ३ हजार व्यक्तिलाई बस्ने व्यवस्थासमेत गरेको छु । म एकदिन पनि आफ्नो कर्तव्य पूरा गर्नबाट बिमुख भएको छैन ।

अर्को, म संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रहँदा मेरै निर्वाचन क्षेत्रमा रहेको सुरेश वाग्ले क्यान्सर अस्पतालको मेरै नेतृत्वमा अनुगमन समिति गठन भएपछि ५ दिनमा प्रतिवेदन तयार गरेर ९ महिना समयावधिमा यसलाई पूरा गर्नुपर्छ र अघि बढाउनुपर्छ भनेर प्रतिवेदन बुझाएको थिएँ । जनयुद्धका सहिद भएकाले सुरेश वाग्लेको नाममा रहेको अस्पताल निर्माण गरेर उद्घाटनसमेत गर्न सफल भएँ ।

चन्द्रागिरीमा यति समस्या थियो कि र छ पनि, पुस्तौंदेखि जग्गा जमिन भोगचलन गर्दै आएका यहाँका अधिकांश जनताले कागजपत्र तथा लालपुर्जा नपाएर समस्यामा थिए । सयौं मान्छेलाई लालपुर्जा वितरणको काम पनि हाम्रो पहलमा भएको छ । जनताको काम गर्ने कुरामा र हामी अघि बढ्ने कुरामा लागिरहेका छौं ।

मैले भनेको छु, मलाई मत दिनुस् म तपाईंलाई ५ वर्ष मेरो जीवन समर्पित गर्छु । पराजित भए पनि म फरक ढंगले काम गर्छु । जितें भने त गर्ने भए नै भनेर प्रतिबद्धता जनाइरहेको छु ।

यसअघि धेरै किन गरिनस् पनि भन्ने होला । लामो समय हामी सरकारमा रहेनौं पनि । धेरै ठाउँमा राजनीतिक तथा सामाजिक रुपमा बाहिर बसेर पार्टीले खटाएको ठाउँमा खटियो । समाजवादउन्मुख संविधान आइसकेपछि विकास निर्माणमा जोडिनुपर्छ र होमिनुपर्छ भनेर आफ्नो जन्मथलोमा आएर आफ्नो जिम्मेवारी पूरा गर्नतिर लागेको हो । मैले भनेको छु, मलाई मत दिनुस् म तपाईंलाई ५ वर्ष मेरो जीवन समर्पित गर्छु । पराजित भए पनि म फरक ढंगले काम गर्छु । जितें भने त गर्ने भए नै भनेर प्रतिबद्धता जनाइरहेको छु ।

मेरो क्षेत्रका मतदाता १० वर्षदेखि एउटै व्यक्ति त्यो पनि काम नगर्ने भनेर वाक्क भएका छन् । एउटै व्यक्ति प्रचण्डसँग हारेको, फेरि जितेको हो । हुन त प्रचण्डसँग जितेको भनेरमात्रै आउँछ, प्रचण्डसँग हारेको पनि हो नि ! तर, आउँदैन । यस पटक पनि त्यही पुरानै व्यक्तिलाई निर्वाचित गराउने हो भने २० वर्ष एउटै व्यक्तिले निरन्तरता पाउँछ । एउटै व्यक्ति २० वर्षसम्म कायम रहिरहनु भनेको राम्रो होइन । त्यो नेपाली कांग्रेसले पनि चाहेको छैन र मनैदेखि स्वीकारेको भने छैन । त्यसैले यस निर्वाचनमा एकमात्र विकल्प म नै हो ।

– मत माग्न जाँदा मतदाताले कस्तो प्रतिक्रिया दिन्छन् ?

मेरो निर्वाचन क्षेत्रमा ३ वटा नगरपालिकाका वडा रहेका छन् । जसमा चन्द्रागिरीका २ वटा वडा छन् । कीर्तिपुर तथा दक्षिणकालीका सबै वडा गरेर २९ वटै वडामा म पुगिसकेको छु । अहिले त्यहाँका नागरिकले विकल्प खोजेका छन् र त्यसको विकल्प अञ्जना विशंखे नै हो ।

– तपाईंसँग मतदाताको विशेष माग के के छन् ?

उनीहरुले निर्वाचित भइसकेपछि फोहोर व्यवस्थापन कसरी गर्नुहुन्छ, जनतालाई पानी कसरी खुवाउनुहुन्छ, पर्यावरण कसरी जोगाउनुहुन्छ, सडक तथा यातायात कसरी व्यवस्थापन गर्नुहुन्छ भनेर प्रश्न गरिरहनुभएको छ । कतिपय त काठमाडौं उपत्यकामा भएर पनि हामी सारै विकटका जस्ता नागरिक भयौं भनेर भन्नुहुन्छ । यो क्षेत्रमा धेरै धार्मिक सम्पदा पनि छन् । दक्षिणकाली मन्दिरलाई कसरी व्यवस्थापन गर्ने र धार्मिक पर्यटक कसरी भित्र्याउने भन्ने पनि मतदाताको माग छ । त्यहाँ राणाकालीन आवासीय विद्यालय पनि छ । यी सबै विषयमा मतदाताले चासो देखाएका छन् र मेरो पनि त्यसमा ध्यान गएको छ ।

– पार्टीको घोषणापत्रबाहेक तपाईंको क्षेत्रसँग सम्बन्धित के छन् प्रतिबद्धता ?

पार्टीको घोषणापत्र भनेको समृद्धिका लागि क्रमभंगता हो । मेरै निर्वाचन क्षेत्रमा पर्ने कीर्तिपुर भाषा संस्कृतिको थलो पनि हो । त्यसैले यहाँ भाषा संग्रहालय आवश्यक छ । यहाँ अस्पताल छ । तर, फोहोर व्यवस्थापन गर्न सकिएको छैन । सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय मेरो क्षेत्रमा नै छ । त्यहाँका नागरिकले कौडीको भाउमा जग्गा दान गरेका छन् । तर, त्यहाँ कुनै पनि काम गर्दा त्यहाँका स्थानीयसँग समन्वय नै गरिएको छैन । यतातिर पनि मेरो ध्यान गएको छ ।

नेपालको संविधानमा ठूलो दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ । यदि साँच्चिकै राष्ट्र निर्माण गर्ने हो प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा नगई सुखै छैन ।

– आफू निर्वाचित हुन कस्तो हिसाबकिताब राख्नुभएको छ ?

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ–हुन्छ भनेर अन्तिममा हुन सकेन हाम्रो क्षेत्रमा । कतिपय ठाउँमा त्यसैकारणले पनि हाम्रो पार्टीका उम्मेदवार पराजित हुनुपर्‍यो । स्थानीय तह निर्वाचन र अहिलेको संसदीय निर्वाचन एकदमै फरक हुन् । स्थानीय तह निर्वाचनमा विकासका एजेण्डा हुन्छन् । तर, प्रतिनिधिसभामा यो व्यक्ति कत्तिको सक्षम छ र उसले मुलुकको कानून निर्माणमा कत्तिको योगदान गर्न सक्छ, उसको पार्टीमा कत्तिको पहुँच छ भन्ने हिसाबकिताब हुन्छ । एउटा पार्टीभित्र एकता कायम हुनुपर्ने रहेछ पार्टीमा भोट बढ्न । अहिले हाम्रो क्षेत्रमा पार्टीभित्रको एकता हेर्न लायक र उदाहरणीय छ ।

अर्को, म यसै क्षेत्रको व्यक्ति भएकाले पनि होला । नेपाली कांग्रेस र नेकपा एमालेले चन्द्रागिरीको एउटै डाँडाको र एउटै परिवार वा एउटै घरको व्यक्ति निर्वाचनमा उम्मेदवार उठाउँदै आएका छन् र यसपटक पनि त्यस्तै भयो । म चन्द्रागिरी नगरपालिकाकै उम्मेदवार भएकाले यहाँ १० हजार मतदाता रहेका छन् । कीर्तिपुर नगरपालिकामा ३० हजार र दक्षिणकालीमा १८ हजार मतदाता रहेका छन् । यी मतदाताको हिसाब हेर्दा र नेतृत्वको हिसाबले चन्द्रागिरीको प्रतिनिधित्व भएको र नयाँ व्यक्ति आएको हुनाले पार्टीभन्दा पनि चन्द्रागिरीको नेतृत्व पाइयो, महिला पाइयो र उत्पीडित समुदायको व्यक्ति पनि आएको भनेर मेरो पक्षमा लहर पैदा भएको छ ।

अर्को, कत्तिको योग्य छ भनेर पनि हेर्ने रहेछ । मलाई एउटा अध्ययनशील, सामाजिक आन्दोलनमा योगदान गरेको र स्खलित छैन भनेर पनि हेरिरहेका छन् । मेरो चुनावी अभियान भनेको विचार राख्ने, जनतालाई सचेत बनाउने र विकृतिबाट हटाउने अभियान हो । कसैले पैसाको कुरा गर्‍यो भने मैले अहिले पैसा दियो भने पछि अस्वस्थ तरिकाले कमाउनुपर्छ, त्यसैले म त्यस्तो गर्न सक्दैन भन्ने गरेकी छु । यदि स्वस्थ मान्छे चाहनुहुन्छ भने आर्थिक कुरा नगरेर भोट दिनुभयो भने म तपाईंको पक्षमा न्यायिक कार्य गर्नेछु भन्ने गरेकी छु ।

– संसदमा पुग्नुभयो भने तपाईंले के काम गर्नुहुन्छ ?

कतिपय नीति नियमले गर्दा जनतालाई काम गर्न सारै अप्ठ्यारो परिरहेको छ । सीमान्तकृत समुदायको पक्षमा रहेका कानून पनि त्यति राम्रा र प्रभावकारी छैनन् । नेपालको संविधानमा ठूलो दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ । यदि साँच्चिकै राष्ट्र निर्माण गर्ने हो प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा नगई सुखै छैन । यो व्यवस्था गर्न म र मेरो पार्टीले पहल गर्ने भएकाले पनि म संसदमा जान जरुरी छ ।

– अन्तिममा केही भन्न बाँकी छ ?

मुखले भनेर होइन, काम गरेर देखाउन म काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १० मा उम्मेदवार छु । मलाई निर्वाचित गराउन हार्दिक अनुरोध गर्दछु ।

तस्बिर/भिडियाे :नविनमुनी स्थापित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर