यी हुन् सुदूरपश्चिमका मुख्य प्रतिस्पर्धी ३७ उम्मेदवार – Nepal Press

यी हुन् सुदूरपश्चिमका मुख्य प्रतिस्पर्धी ३७ उम्मेदवार

कैलाली । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेशसमेत रहेको सुदूरपश्चिममा प्रतिनिधिसभातर्फ १६ वटा निर्वाचन क्षेत्र छन् । यहाँ कहिँ द्विपक्षीय त कतै त्रिपक्षीय भिडन्तको सम्भावना देखिएको छ । मुख्य प्रतिस्पर्धी रहेका ३७ जनाको यहाँ छोटो चर्चा गरिएको छ ।

कैलाली १ मा एमालेका तपेन्द्र रावल, सत्ता गठबन्धनबाट कांग्रेसका राम जनम चौधरी र नागरिक उन्मुक्तिबाट रन्जिता श्रेष्ठ चौधरीका त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ । अघिल्लो पटक यहाँ रेशम चौधरी विजयी भएका थिए ।

कैलाली २ मा एमालेबाट झपट रावल, सत्ता गठबन्धनबाट माओवादीका भगत बडूवाल र नागरिक उन्मुक्तिबाट अरुण चौधरीको प्रतिस्पर्धा छ । अघिल्लो पटक यहाँ एमालेका रावल विजयी भएका थिए ।

कैलाली ३ मा एमालेबाट गौरीशङ्कर चौधरी,सत्ता गठबन्धनबाट माओवादी केन्द्रका कृष्ण चौधरी कुन्दन र नागरिक उन्मुक्तिबाट गङ्गा चौधरी प्रतिस्पर्धी छन् । अघिल्लो पटक यहाँ माओवादीबाट गौरीशङ्कर चौधरी विजयी भएका थिए । उनी अहिले एमालेबाट उम्मेदवार छन् ।

कैलाली ४ मा एमालेबाट लेखराज भट्ट, सत्ता गठबन्धनबाट कांग्रेसका वीर बहादुर बलायर चुनावी मैदानमा छन् । अघिल्लो पटक माओवादीबाट निर्वाचित भएका भट्ट अहिले एमालेको उम्मेदवार हुन् । उनी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज हुन् । अघिल्लो पटक डोटीबाट पराजित भएका बलायर अहिले कैलाली ४ बाट लड्दै छन् । उनी कांग्रेस प्रदेश सभापति हुन् ।

कैलाली ५ मा नेकपा एमालेबाट नारद मुनी राना, सत्ता गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त र स्वतन्त्र उम्मेदवार पुष्कर नाथ ओझाबिच प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो पटक एमाले उम्मेदवार राना प्रतिनिधि सभामा विजयी हुँदा कांग्रेस उम्मेदवार पन्त प्रदेश सभामा विजयी भएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका ओझा २०७० मा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन कैलाली ६ छोड्दा भएको उपनिर्वाचनमा काङ्ग्रेसबाट विजयी भएका थिए ।

कञ्चनपुर १ मा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगर सत्ता गठबन्धनबाट उम्मेदवार छिन् । एमालेबाट तारा लामा तामाङ उम्मेदवार छन् । अघिल्लो पटक मगर प्रतिनिधि सभामा विजयी हुँदा तामाङ प्रदेश सभामा विजयी भएका थिए ।

कञ्चनपुर २ मा एमालेबाट नरबहादुर धामी र सत्ता गठबन्धनबाट कांग्रेसका एनपी साउद चुनावी मैदानमा छन् । अघिल्लो पटक पनि यी दुवै जना प्रतिस्पर्धी थिए । त्यो बेला धामीसँग साउँद पराजित भएका थिए ।

कञ्चनपुर ३ मा एमालेबाट निरु पाल र सत्ता गठबन्धनबाट कांग्रेसका रमेश लेखक चुनावी मैदानमा छन् । अघिल्लो पटक लेखक एमाले उम्मेदवार डा. दीपक प्रकाश भट्टसँग पराजित भएका थिए ।

अछाम १ मा एमालेबाट झपट बोहरा र सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुवर चुनावी मैदानमा छन् । अघिल्लो पटक माओवादीबाट प्रदेश सभामा विजयी भएका बोहरा अहिले एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएका छन् । एमालेबाट राष्ट्रिय सभा सदस्य भएका कुवर अहिले एमाले विरुद्ध नै खडा भएका छन् ।

अछाम २ मा अघिल्लो पटकका विजेता एमालेका यज्ञ बोगटी र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पुष्प शाह अहिले पनि एक अर्का विरुद्ध उत्रिएका छन् ।

डडेल्धुरामा सत्ता गठबन्धनबाट प्रधानमन्त्री कांग्रेस शेरबहादुर देउवा चुनावी मैदानमा उत्रिएका छन् । उनी विरुद्ध एमालेले कांग्रेस बिपीका कर्ण मल्ललाई सघाउँदै छ । अघिल्लो पटक देउवा काङ्ग्रेसबाट प्रतिनिधि सभामा विजयी हुँदा मल्ल काङ्ग्रेसबाट प्रदेश सभामा विजयी भएका छन् । अहिले दुवै एक अर्का विरुद्ध चुनावी मैदानमा छन् । यहाँ स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि छन् ।

बैतडीमा ०६४ र २०७० मा एक अर्का विरुद्ध उम्मेदवार रहेको एमालेका दामोदर भण्डारी र माओवादीका नरेन्द्र कुँवर (विजय सुन्दर) यस पटकको निर्वाचनमा पनि एक अर्का विरुद्ध चुनावी मैदानमा उत्रिएका छन् ।२०६४ सालमा भण्डारी कुवरसँग पराजित भएका थिए भने २०७० मा भण्डारीले कुवरलाई हराएका थिए । दोस्रो पटक सम्म एकले अर्का विरुद्ध एक जित र एक हार निकालेका दुवै बिचको चुनावी परिणामलाई अहिले यहाँ रोचक रूपमा हेरिएको छ । भण्डारी एमालेका प्रदेश अध्यक्ष हुन् ।

डोटीमा अघिल्लो पटक एमालेबाट निर्वाचित भएका प्रेम आले अहिले एमाले विरुद्ध उभिएका छन् । सत्ता गठबन्धनबाट नेकपा एसका आले उम्मेदवार बन्दा एमालेबाट गौरी ओली मैदानमा छिन् । यहाँ स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्का पनि उम्मेदवार छन् ।

दार्चुलामा सत्ता गठबन्धनबाट कांग्रेसका दिलेन्द्र बडू उम्मेदवार बन्दा एमालेबाट गणेश ठगुन्ना उम्मेदवार छन् । अघिल्लो पटक धामी विजयी भएका थिए ।

बझाङमा एमालेबाट दुई पटक सम्म विजयी भएर एक पटक सम्म मन्त्री भएका भानुभक्त जोशी अहिले सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार भएका छन् । उनी विरुद्ध एमालेका नैन महर चुनावी मैदानमा छन् । महर एमाले निकट विद्यार्थी सङ्गठनको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् । अघिल्लो पटक यहाँ एमालेका भैरवबहादुर सिंह विजयी भएका थिए ।

बाजुराम सत्ता गठबन्धनबाट कांग्रेसका केन्द्रीय सह महामन्त्री बद्री पाण्डे उम्मेदवार छन् उनी एमालेका कर्ण थापा चुनावी मैदानमा छन् । अघिल्लो पटक यहाँ एमालेका लाल बहादुर थापा विजयी भएका थिए । थापा अहिले यहाँको प्रदेश सभाका उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर