भत्ता र जिम्मेवारीमा विभेद गरिएपछि पाटन उच्च अदालतका कर्मचारीको असन्तुष्टि – Nepal Press

भत्ता र जिम्मेवारीमा विभेद गरिएपछि पाटन उच्च अदालतका कर्मचारीको असन्तुष्टि

तीन साताअघि नै ध्यानाकर्षण गराइएको खुलासा

काठमाडौं । पाटन उच्च अदालतका कर्मचारी संगठनहरुले केही कर्मचारीहरुलाई भत्ता वितरण गर्ने र फाँट परिवर्तन गर्नेगरी भएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

अदालतका नेपाल कर्मचारी युनियन, नेपाल निजामति कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गरी अदालतले केही कर्मचारीहरुलाई आफूखुशी भत्ता वितरण र बिनाकारण फाँट परिवर्तन गर्ने कार्यप्रति खेद प्रकट गरेका हुन् । उनीहरु कात्तिक ३ गते अर्थात तीन साता अघि नै कार्यालय प्रमुखको ध्यानाकर्षण गराएको खुलेको छ । यद्यपि हालसम्म उनीहरुको माग सम्बोधन नभएको बताइएको छ ।

उनीहरुले कात्तिक ३ गते नै कार्यालय प्रमुखलाई के के कारणले केही कर्मचारीहरुलाई भत्ता वितरण एवम् फाँट परिवर्तन गरिएको भनी प्रश्न सोधेका थिए । ‘अभिभावकीय जिम्मेवारी बोकेर बस्नु भएको तपाईं कार्यालय प्रमुखले केही कर्मचारी जो दसैं अगावै विदा लिई तिहार÷छठ सकी कार्यालय आउने गरी विदा लिई कार्यालयमा अनुपस्थित छन्, उनीहरुलाई समेत के कुन कारण, विधि र कानूनको आधारमा भत्ता दिनुभएको हो ? अन्य कर्मचारीहरुलाई किन नदिइएको हो ? कर्मचारीहरुको बीचमा यस्तो भेदभावपूर्ण व्यवहार किन गर्नुभएको हो ? संगठन त्यसको जवाफ चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, उनीहरुले कर्मचारीहरु टिममा मिलेर कार्य गरिरहेका बेला अचानक हठात् रुपमा किन जिम्मेवारी हेरफेर गरी कर्मचारीको मनोभावनासँग किन खेलबाड गरिएको भनेर पनि प्रश्न गरेका छन् ।

उनीहरुले कार्यालय प्रमुखसँग जुन स्रोत र कानूनलाई आधार मानेर अन्य कर्मचारीहरुलाई भत्ता वितरण गरिएको हो सोही स्रोत र कानूनलाई आधार मानेर बाँकी सम्पूर्ण कर्मचारीहरुलाई भत्ता वितरण गर्न माग गरेका छन् । अन्यथा कार्यालय प्रमुखको स्वेच्छाचारी, भेदभावपूर्ण र पूर्वाग्रही निर्णय र व्यवहारविरुद्ध सिंगो कर्मचारी संगठन विरोधमा चरणवद्ध रुपमा माग पूरा नभएसम्म लाग्ने पनि संगठनहरुले चेतावनी दिएका छन् ।

यस्तो छ विज्ञप्तिः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर