पाकिस्तान टी-२० विश्वकपको फाइनलमा – Nepal Press

पाकिस्तान टी-२० विश्वकपको फाइनलमा

काठमाडौं । न्युजिल्यान्डमाथि शानदार जित हात पार्दै पूर्व विजेता पाकिस्तान अस्ट्रेलियामा जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। बुधवार भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्‍यो ।

टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डलाई १५२ रनमा सीमित गर्दै पाकिस्तानले जितको आधार सहज बनाएको थियो ।

त्यसपछि प्रारम्भिक ब्याट्सम्यानद्वय बाबर आजम र मोहम्मद रिजवानले शानदार ब्याटिङ गरे। उनीहरूले पहिलो विकेटका लागि १२.४ ओभरमा १०५ रनको साझेदारी गरेका थिए ।

विकेटकिपरसमेत रहेका रिजवानले ५७ रन बनाउँदा कप्तान आजमले ५३ रन बनाए।  पछिल्लो समय लयबाहिर देखिएका आजमले न्युजिल्यान्डविरुद्ध पालीको चौथो बलमै विकेटकिपरबाट जीवनदान पाएका थिए । त्यसपछि भने उनले शानदार ब्याटिङ गरे ।

४२ बलमा ७ चौका प्रहार गरेका आजमले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३० औँ अर्धशतक बनाएका हुन् । जारी विश्वकपमा उनको यो पहिलो अर्धशतक हो । यस्तै रिजवानले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा २३ औँ अर्धशतक बनाएका हुन् । यस्तै मोहम्मद ह्यारिसले ३० रन बनाए ।

त्यसअघि न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ५२ रन जोड्यो । न्युजिल्यान्डका लागि डेरी मिचेलले सर्वाधिक ५३ रन बनाए। कप्तान केन विलियमसनले ४६ रन जोडे। प्रारम्भिक ब्याट्सम्यानद्धय फिन एलनले ४ र डेभोन कनवेले २१ रन बनाए। जारी प्रतियोगितामा विस्फोटक ब्याटिङ गरिरहेका ग्लेन फिलिप्सले भने ६ रन मात्र जोड्न सके।

पाकिस्तानका साहिन शाह अफ्रिदीले २ र मोहम्मद नवाजले एक विकेट लिए। ४९ रनमा तीन विकेट गुमाएको अवस्थामा विलियमसन र मिचेलले ६८ रनको साझेदारी गरेका थिए।

पाकिस्तान टी-२० विश्वकपमा तेस्रो पटक फाइनल पुगेको हो। यसअघि सन् २००७ मा आयोजना भएको पहिलो संस्करणको उपाधि भिडन्तमा भारतसँग पराजित भएको पाकिस्तान त्यसको दुई वर्षपछि आयोजित दोस्रो संस्करणमा श्रीलङ्कालाई हराएर विश्व च्याम्पियन बनेको थियो।

पाकिस्तान दुई महिनाअघी मात्र एसिया कपको फाइनलमा पनि पुगेको थियो। त्यतिबेला उपाधि भिडन्तमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले हराएको थियो। अब पाकिस्तानले भारत र इङ्ल्यान्डबीच बिहीबार हुने खेलको विजेतासँग उपाधि भिडन्त गर्ने छ। फाइनल आगामी आइतबार हुने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर