यी कामका लागि रामेछापले खोजेको केन्द्रीयस्तरको नेतृत्व- अबको चुनावी मौका – Nepal Press

यी कामका लागि रामेछापले खोजेको केन्द्रीयस्तरको नेतृत्व- अबको चुनावी मौका

आज आफ्नै जिल्ला रामेछापको अवस्था र आउँदै गरेको संसदीय चुनावले सिर्जना गर्न सक्ने अवसरको बारेमा केही चर्चा गर्नु आवश्यक लाग्यो । देशको राजधानीबाट धेरै नजिक, प्राकृतिक स्रोतको हिसाबले धनी, देशको राजनीतिलाई उथलपुथल पार्न सक्ने गङ्गालाल र पुष्पलाललगायत जन्मिएको जिल्ला हो रामेछाप ।

राजनीतिक परिवर्तनका धेरै आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निभाएका जनता तथा सांस्कृतिक पहिचान र चेतनाको उच्च ज्ञान भएका समुदाय भएको रामेछाप जिल्लालाई विकास र समृद्धिको हिसाबले व्यवस्थित गर्न कस्तो नेतृत्व आवश्यक छ भन्ने विषयको छलफल गर्न संसदीय चुनाव एउटा उपयुक्त समय हो ।

आउने चुनावले रामेछापलाई राष्ट्रिय समृद्धि अभियानमा जोड्न सकेको खण्डमा जिल्लाको मुहार फेरिने सम्भावनाहरु थुप्रा छन् । रामेछापले अब राष्ट्रिय समृद्धिको अभियानमा जोडिने कुरालाई महत्व दिनुपर्दछ र त्यो जोड्न सक्नेलाई जिताउनु जिल्लाको हितमा हुन्छ ।

संसदीय चुनाव राष्ट्रिय राजनीतिसँग बढी केन्द्रित हुन्छ । कस्तो सरकार बन्छ, कस्ता नीति निर्माण हुन्छन्, राष्ट्रियता र देशको स्वाधीनताका सवालमा कस्ता कार्यक्रम बन्छन् भन्ने कुरा कस्तो खालको पार्टीले जित्छ भन्ने कुरामा धेरैजसो निर्भर रहन्छ । संसदबाट नै सरकार चुनिने हुनाले संसदको चुनाव देश र जनताको भविष्यसँग जोडिएकै विषय हो ।

चुनाव सकिएपछि पछुताउनु, गाली गर्नु, उफ्रिनुभन्दा अहिले नै यी विषयहरुमा गम्भीर हुन सके जनताका चाहना र देशको भविष्यलाई सुनिश्चित गर्नेतर्फ मुलुक लान सकिन्छ ।

भू-राजनीतिक रुपमा अति कठिन अवस्थामा रहेको नेपालको अहिलेको चुनौतीलाई हेर्ने हो भने कस्तो सरकार बन्छ भन्ने कुराले हाम्रो सार्वभौमिकतालाई नै निर्धारण गर्ने अवस्था छ । चुनाव सकिएपछि पछुताउनु, गाली गर्नु, उफ्रिनुभन्दा अहिले नै यी विषयहरुमा गम्भीर हुन सके जनताका चाहना र देशको भविष्यलाई सुनिश्चित गर्नेतर्फ मुलुक लान सकिन्छ ।

संसदीय चुनाव राष्ट्रिय नीति निर्माण गर्ने र सरकार बनाउने कुरासँग सम्बन्धित हुँदाहुँदै पनि यो विषय जिल्लाको विकास र समृद्धिसँग झनै धेरै गाँसिएको विषय बनेको छ । कहीं यसो एउटा गाडी दिएर, हेलिकोप्टर चढाइदिन्छु् भनेर,कतै एउटा बाटो बनाइदिएर वा जितेर तलब नलिई बस्छु भन्ने जस्ता सस्ता कुराले जिल्लाका समृद्धि अभियान अघि बढ्दैनन् । यस्ता कुरा गर्नु एकखाले लुच्याइ हो, एउटा फरक खालको भ्रष्टाचार हो ।

तर, जिल्लाको विकास निर्माणमा केन्द्रीय सरकारी निकायहरुसँग सम्पर्क, नेतृत्व र समन्वय गर्न सक्ने र जिल्लाको सही खाका निर्माण गर्न सक्ने क्षमता भएको व्यक्तिले भने ठूलै फरक पार्दछ । देशको बजेट समानुपातिक रुपमा सबैतिर बराबर बाँडिने अवस्था छैन । जो शक्तिमा पुग्छ र जसले कम्तिमा आफ्नो जिल्लाका लागि योजनाबद्ध रुपमा सबैखाले निकायहरुलाई परिचालन गर्नसक्छ त्यसैको जिल्लामा बढी विकास निर्माणका बजेट जाने गरेको कुरा सार्वजनिक नै छ ।

कतिपय जिल्लाहरुमा टोल-टोलमा भाइरल सडकहरु बनेका छन् । बुटवलदेखि भैरहवा जोड्ने एउटा सडकको बजेट हाम्रो रामेछाप जिल्लाले विगत पन्ध्र वर्षदेखि पाएको जम्मा विकास बजेटभन्दा धेरै रहेछ । योखाले असमान विकास बजेट बाँडफाँट गर्ने तरिकामा अबका धेरै वर्षसम्म खासै परिवर्तन आउँदैन । रामेछापले अब गर्ने भनेको केन्द्रीय बजेट बाँडफाँटमा जिल्लाको शेयर बढाउन भूमिका खेल्ने र त्यसरी भूमिका खेल्नसक्ने व्यक्तिलाई सांसदको रुपमा अघि सार्ने नै हो ।

कम्तिमा तीनवटा कुरासँग जोडिएको व्यक्ति चुनिएको खण्डमा रामेछापको अहिलेको अवस्थामा बढी उपयुक्त हुन्छ:

१) जिल्लाका सम्पूर्ण विषयवस्तुलाई समेटेर समग्र समृद्धि अभियानको खाका तयार गरी त्यसको व्याख्या र नेतृत्व दिन सक्ने बौद्धिक क्षमता, अनुभव र तत्परता भएको,

२) केन्द्रीय सरकारसँग जोडिनसक्ने सम्भावना भएको, नीति निर्माण र राष्ट्रिय समृद्धि योजनामा रामेछापलाई जोडेर अघि बढाउन केन्द्रीय भूमिका खेल्न सक्ने र

३) राजनीतिक र पार्टीगत रुपमा केन्द्रीय पहुँच भएको ।

कहीं यसो एउटा गाडी दिएर, हेलिकोप्टर चढाइदिन्छु् भनेर,कतै एउटा बाटो बनाइदिएर वा जितेर तलब नलिई बस्छु भन्ने जस्ता सस्ता कुराले जिल्लाका समृद्धि अभियान अघि बढ्दैनन् । यस्ता कुरा गर्नु एकखाले लुच्याइ हो, एउटा फरक खालको भ्रष्टाचार हो ।

केन्द्रीय बजेट र हस्तक्षेपविना जिल्लामा ठूला खाले समृद्धिका अभियानहरु सञ्चालन गर्न नसकिने रहेछ । तत्कालीन रुपमा जिल्लाको ध्यान त्यता जानु आवश्यक छ । केन्द्रीय पहुँचलाई व्यवस्थित गर्नसक्ने संघीय सांसद, जिल्लाको वस्तुस्थितिलाई नजिकबाट बुझेको प्रदेश सांसद र कार्यान्वयन गर्नसक्ने स्थानीय तह हुने हो भने जिल्लाको विकासमा नयाँ आयाम आउनेछ ।

रामेछापको समृद्धिको अभियानलाई सार्थक बनाउन र आर्थिक उपार्जनको केन्द्रको रुपमा विकास गर्न अब निर्वाचित हुने सांसदहरुले कम्तिमा निम्न पाँचखाले कामहरु आउने पाँच वर्षभित्र सम्पन्न हुने गरी नेतृत्व दिनुपर्छ:

पहिलो, रामेछापमा नदीजन्य आर्थिक कोरिडोरहरु निर्माण हुनुपर्छ र त्यस्ता कोरिडोरहरुबाट जिल्लाको आर्थिक समृद्धि अघि बढाउन सकिन्छ । तामाकोसी, सुनकोसी र लिखु कोरिडोर रामेछापको भविष्य निर्धारण गर्न सक्ने महत्वपूर्ण समृद्धिका आधारहरु हुन् । तामाकोसी कोरिडोरलाई चीन-नेपाल-भारतको बीच व्यापार गर्ने व्यापारिक कोरिडोरको रुपमा व्याख्या गर्दै केन्द्रीयस्तरमा यो विषयलाई राष्ट्रिय महत्वको विषयको रुपमा प्रस्तुत गरी कार्यान्वयन तहमा पुर्‍याउन सक्ने व्यक्तिको खाँचो छ । काठमाडौंबाट नजिक र प्रचुर सम्भावना भएको तामाकोसी नदीलाई रामेछापको आर्थिक गतिविधि, रोजगारी र समग्र समृद्धिको केन्द्र बनाउन सकिन्छ ।

दोस्रो, जिल्लाका रणनीतिक सडकहरुलाई प्राथमिकताका साथ निर्माण गर्नु जिल्लाको आर्थिक गतिविधिको लागि महत्वपूर्ण छ । क्षेत्र नम्बर १ मा उत्तर दक्षिण तामाकोसी कोरिडोर, खिम्ती कोरिडोर र लिखु कोरिडोर सडकहरु ज्यादै नै महत्वपूर्ण छन् र यी सडकहरुलाई प्राथमिकतामा राखी फराकिला बनाउने र पक्की बनाउने काम तत्काल हुनुपर्दछ । त्यसै गरी तामाकोसी कोरिडोर र लिखु कोरिडोर जोड्ने गरी पाँचवटा पूर्व-पश्चिम सडकहरु प्राथमिकतामा पर्दछन् । ठोसे-बाम्ती-रोशी सडक, रस्नालु-प्रिती-भुजी सडक, खिम्ती-धोबी-ढाडे सडक, मन्थली-सालु-साँघुटार सडक र सेलेघाट-रामपुर सडक यो क्षेत्रको विकासको लागि अनिवार्य हुन् । रामेछाप-धोबी-बाम्ती सडकले यी सबै सडकलाई जोडेर यो क्षेत्रको भौतिक पूर्वाधारको गतिलो आधार तयार गर्छ ।

त्यसै गरी मन्थलीबाट दोरम्बा, सैलुङ्ग र गौश्वारा जोडिने सडकहरुले जिल्लाका सडक आवश्यकता धेरै हदसम्म पूरा गर्छन् । खुर्कोट-धोबी-ढाडे-लुक्ला सडकलाई पर्यटकीय हिसाबले विकास गर्नुपर्छ । यी सडकहरुलाई राष्ट्रिय बजेटमा नजोडेसम्म निर्माण हुँदैनन् ।

तामाकोसी कोरिडोरलाई चीन-नेपाल-भारतको बीच व्यापार गर्ने व्यापारिक कोरिडोरको रुपमा व्याख्या गर्दै केन्द्रीयस्तरमा यो विषयलाई राष्ट्रिय महत्वको विषयको रुपमा प्रस्तुत गरी कार्यान्वयन तहमा पुर्‍याउन सक्ने व्यक्तिको खाँचो छ ।

तेस्रो, रामेछापले खेप्नुपरेको सुख्खा क्षेत्रको डरलाग्दो अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्रिय बहस चलाउन आवश्यक छ । जिल्लाको सामान्य विकासको कामले मात्रै यो समस्या समाधान हुँदैन । यो विषयमा बृहत्तर अध्ययन गराई राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसमा पुर्‍याई ठूलाखाले कार्यक्रमहरु सञ्चालन गर्ने र खानेपानी तथा सिंचाइ व्यवस्थापन गर्नु पहिलो प्राथमिकता हुनुपर्छ ।

चौथो, नदी तटीय कोरिडोरहरुमा बृहत्तर औद्योगिक संरचनाहरु निर्माण गर्ने खाका तयार हुनुपर्छ । यिनै खाकाका आधारमा स्थानीय तथा राष्ट्रिय लगानी भित्र्याउन सकियोस् । हरेक वडामा साना तथा मझौला उद्योगहरु र कृषिमा आधारित एक वडा दस उद्योगको अवधारणा अघि सार्नुपर्छ । हरेक वडामा कम्तिमा ५० देखि १०० सम्म औद्योगिक रोजगारी सिर्जना हुने गरी कार्यक्रम लान सकेमात्रै अहिलेको बेरोजगारी समस्या समाधान हुनेछन् । यी कामहरु सम्भव छन् । तर, उचित नेतृत्व र क्षमता आवश्यक छ ।

पाँचौं, हरेक पालिकामा व्यवस्थित अस्पताल र हरेक वडालाई समेट्ने गरी प्राविधिक शिक्षालयहरुको निर्माण गर्न स्थानीय निकायहरुसँग समन्वय गरी जिल्लाकै बृहत्तर योजना निर्माण हुनुपर्छ । पाँच वर्षभित्र हरेक पालिकामा कम्तिमा दुइटा प्राविधिक शिक्षालय निर्माण गर्नसके स्थानीय रोजगारी सिर्जना र उद्यमशीलतालाई बढाउन सक्ने जनशक्ति तयार हुन्छ । भौतिक संरचनाहरुलाई आर्थिक अवसर सिर्जना गर्ने माध्यम कसरी बनाउन सकिन्छ भन्ने सोच र योजना नै अहिलेको प्राथमिकता हो ।

मन्थलीबाट दोरम्बा, सैलुङ्ग र गौश्वारा जोडिने सडकहरुले जिल्लाका सडक आवश्यकता धेरै हदसम्म पूरा गर्छन् । खुर्कोट-धोबी-ढाडे-लुक्ला सडकलाई पर्यटकीय हिसाबले विकास गर्नुपर्छ । यी सडकहरुलाई राष्ट्रिय बजेटमा नजोडेसम्म निर्माण हुँदैनन् ।

यी कामहरु अति महत्वपूर्ण छन् । जुन जिल्लाको विकासका आधार बन्नेछन् । यी कामहरुलाई अघि बढाउन सही ढंगको योजना निर्माण गर्नसक्ने, सम्बन्धित ठाउँमा व्याखा गर्नसक्ने र आवश्यक लगानी तथा स्रोत जुटाउनसक्ने नेतृत्व आवश्यक छ । जसलाई जिताए पनि उस्तै हो भन्ने खाले सोचले जिल्लाले सही नेतृत्व पाउँदैन । रामेछापले सोच्ने वेला हो यो । आउने चुनावका माध्यमबाट क्षमतायुक्त र जनताप्रति उत्तरदायी नेतृत्व पाउन रामेछाप सफल बनोस् ।

र अन्तिममा, यी काम गर्नका लागि कुन व्यक्ति सक्षम छ ? अब केही दिनभित्र रामेछापका जनताले फैसला गर्नुपर्नेछ । अहिले मुख्य प्रतिस्पर्धीका रुपमा वागमती प्रदेशका आर्थिक मामिला मन्त्री भएर जिल्लाको विकास अघि बढाएका र जिल्ला विकास समिति सभापति हुँदा दीर्घकालीन विकासको गुरुयोजना बनाएका कैलाश ढुंगेल एकातिर एमालेबाट उम्मेदवार छन् ।

अर्कोतिर सत्ता गठबन्धनको तर्फबाट निर्माण व्यवसायी क्षेत्रमा स्थापित कान्छाराम तामाङ उम्मेदवार छन् । ढुंगेल एमालेका केन्द्रीय सदस्य हुन् भने कान्छाराम कांग्रेसका जिल्ला सभापति हुन् । त्यसो त प्रतिनिधि सभाकै लागि नेपाली कांग्रेस विपीबाट केदारविक्रम खड्का,कांग्रेसकै नेता चन्द्रवहादुर राउत र माओवादीका नेता रामकुमार लामा स्वतन्त्र उम्मेदवार बनेका छन् ।

फैसला जनताको हातमा छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *