घोराही १३ का वडाध्यक्षका छोरा बालिका बलात्कार अभियोगमा जेल चलान – Nepal Press

घोराही १३ का वडाध्यक्षका छोरा बालिका बलात्कार अभियोगमा जेल चलान

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष डुल्लु पोखरेलका छोरा ऋषि बालिका बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान भएका छन् । पोखरेललाई १० वर्षीया बालिकामाथि जबरजस्तिकरणीको मुद्दामा पुर्पक्षका लागि जिल्ला अदालतले कारागार चलान गरेको अदालतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारील जानकारी दिए ।

जिल्ला अदालतका न्यायाधीस रामबहादुर बस्यालको एकल इजलाशले नाबालिकामाथि जबरजस्ती करणी अभियोगमा पुर्पक्षमा पठाएको हो । जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर ओलीले अदालतको आदेश बमोजिम अभियुक्तलाई कारागार पठाइएको बताए ।

प्रहरीले कांग्रेस नेताहरुको दबाबमा ऋषिविरुद्धको जाहेरी दर्ता गरेको थिएन । कांग्रेस नेता तथा दाङ क्षेत्र नम्बर २ क का उम्मेद्वार राजु खनाल, पूर्वक्षेत्रीय सभापति भुपबहादुर डाँगी, कांग्रेसका क्षेत्रिय सभापती भिमप्रकाश खड्का, नगर सभापती तिलक रावत, क्षेत्रीय सचिव आर के सितल लगायतका कांग्रेस नेताहरुले प्रहरीलाई मुद्दा दर्ता नगर्न र दर्ता भइहालेको अबस्थामा मुद्धा कमजोर बनाउन केन्द्रबाट निकै ठुलो दबाब दिएको आरोप थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतम मुद्दा दर्ता नगरी प्रहरी कार्यालय भित्र नै मिलाउन सक्रिय भएका थिए । बलात्कार मुद्दा मिलाउन खोज्दा अभियुक्त केही दिन भाग्नसमेत सफल भएका थिए ।

चारैतिरको दबाबपछि उनलाई लुकेर बसेको अवस्थामा घोराहीको भरतपुरबाट पक्राउ गरेको प्रहरीले दाबी गरेपनि अभियुक्तले प्रहरीमा आफ्ना बुबा र साथीलाई लिएर आत्मसमर्पण गरेको बताएका थिए ।

पीडितले जबरजस्तिकरणी जाहेरी लगेपनि प्रहरीले बाल यौन दुर्व्यवहारमा मुद्दा दर्ता गर्दै घटना अनुसन्धान गरेर पीडक ऋषिलाई बचाउन निकै लागि परेको थियो । तर, पीडित नाबालिकाको अस्पतालको मेडिकल रिपोर्ट बलात्कार कसुरमा थप प्रमाणित हुने अबस्था आएपछि जिल्ला सरकारी वकिल कार्यालय घोराहीले जबरजस्ती करणीमा मुद्दा ल्याउन प्रहरीलाई निर्देशन दिँदै फाइल फिर्ता गरेको थियो । सरकारी वकिल कार्यालयको निर्देशनपछि अन्तिममा प्रहरीले बाध्य भएर जबरजस्ती करणीमा मुद्दा लिएर गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर