बालुवा-बारपाक सडक खण्ड: मोडमोडमा ढलान, सास्तीमा जनता – Nepal Press

बालुवा-बारपाक सडक खण्ड: मोडमोडमा ढलान, सास्तीमा जनता

बारपाक । २०७७ को चैतमा बारपाकमा जीप दुर्घटनामा परी लमजुङका २ शिक्षकले ज्यान गुमाए । गोरखा राङरुङको भीरबाट जीप दरौंदी खोलामा खस्दा उनीहरुले ज्यान गुमाएका थिए ।

लमजुङ बिचौरबाट बारपाक भ्रमण गरेर फर्केको जीपमा ९ जना सवार थिए । जसमध्ये २ जना शिक्षकको दुर्घटनास्थलमै ज्यान गएको थियो ।

यही बाटो हुँदै नेकपा एमालेबाट गोरखा २ मा चुनावी मैदानमा रहेका अब्दुस मियाँ बारपाक पुगे । बारपाक जाने क्रममा उनी चढेको गाडी बालुवा भन्ने ठाउँमाथिको उकालोमा अड्कियो । न माथि जान नै सक्यो न त तल नै झर्न सक्यो । मियाँसँग गएका ६ जनाले धकेलेपछि मात्रै गाडी उक्लियो । मियाँले सोही ठाउँमा निर्क्याेल गरे, ‘चुनाव जिते सुरुमा बाटो बनाउन ताकेता गर्छु ।’

बाह्रकिलोदेखि बारपाक जाने सडक निर्माणको आयोजना सुरु भएको एक दशक पुग्नै आँट्यो । २०७१ सालमा यस सडक निर्माणको ठेक्का प्रक्रिया थालिएको थियो । बाह्रकिलोदेखि मसानेठाटी, मसानेठाटीबाट निबेल, निबेलबाट अर्कुल, अर्कुलबाट बालुवा, बालुवाबाट बारपाक पुग्ने सडक निर्माणको काम अझै जारी छ । पटकपटक म्याद सकिँदै थप्दै भइरहेको यस सडक निर्माणमा अहिले सबैभन्दा खराब हो, बालुवा-बारपाक खण्ड ।

बारपाकबाट बालुवा निस्कने सडक निर्माणका लागि एमाले अध्यक्ष केपी ओलीदेखि यसै क्षेत्रका नेता बाबुराम भट्टराईसम्मले आश्वासन दिइसके । २०७२ वैशाख १२ को भूकम्पपछि तत्कालीन प्रधानमन्त्री केपी ओली बारपाक पुगेर यस सडक निर्माणको काम शीघ्रातिशीघ्र सकिने प्रतिबद्धता सुनाएका थिए ।

‘अहिले म आउँदा हेलिकप्टरमा आएँ, अर्को पटक सररर पिच बाटोमा गाडी कुदाएर आउँछु’, ओलीको भनाइ अहिले पनि बारपाकी स्मरण गर्छन् । पूर्वप्रधानमन्त्री तथा यस क्षेत्रका नेता बाबुराम भट्टराईले पनि यस सडक निर्माण जति सक्दो छिटो सकिने भनेर पटकपटक आश्वासन दिइसके । तर, अहिलेसम्म आश्वासन पूरा भएको छैन ।

सडक निर्माण समयमै नसकिँदा यहाँका स्थानीयलाई सास्ती छ । कोही बिरामी भएमा २ घण्टाको बाटोमा यात्रा गर्न बाध्य छन् यहाँका स्थानीय । पैसा भएका केहीले हेलिकोप्टर चार्टर गर्ने गरे पनि यहाँका अधिकांश स्थानीयलाई अप्ठेरो बाटोमा यात्रा गर्नुको विकल्प छैन । २०७२ को गोरखा भूकम्पमा घर भत्कँदा थिचिएकी ७० वर्षीया ढल्की विकले पोखरामा पटकपटक उपचार गर्दा र हेलिकोप्टरमा जाँदा ३ लाख ऋण लागिसकेको दुःखेसो पोखिन् । ‘डेढ वर्ष पोखरामा उपचार गरें, निको भएन । हेलिकोप्टरमा जाँदा आउँदा ३ लाख ऋण लागिसक्यो’, ढल्कीले भनिन् ।

बारपाकबाट बालुवा निस्कने बाटो साँघुरो त छ नै, बाटोमा कुनै डिल नै छैन । बाटोमुनि डरलाग्दो भीर छ । यस बाटोमा सामान ओसारपोसार गर्ने २५ वर्षीय विनोद खत्रीलाई यहाँ गाडी चलाउनै डर लाग्छ । तर, चलाउनुको विकल्प उनी देख्दैनन् । ‘गाडी चलाउन बाटो तलको भीर हेर्दै डर लाग्छ’, उनले भने, ‘नेताहरु फोर ह्विलर लिएर आउँछन्, समस्या देख्दैनन् ।’

होटल पासाङ चलाइरहेका असिम घले सो सडक निर्माण नसकिँदा बारपाकमा होटल व्यवसाय फस्टाउन नसकेको बताउँछन् । बारपाक घुम्न लायक ठाउँ भएको र भूकम्पको केन्द्रविन्दु भएकाले यहाँ मानिसहरु आइरहन्छन् । बाटो अझै राम्रो भएको खण्डमा पर्यटकको ओइरो लाग्न सक्ने सम्भावना उनी देख्छन् । तर, बाटो खराब भएकै कारण यहाँ आउनुपर्ने पर्यटक नआएको उनको आँकलन छ ।

स्थानीय अगुवा धनीराम घले यस बाटोका कारण बिरामी, विद्यार्थी र स्थानीयले दुःख पाए पनि नेताहरुले अनुभव नगरेको गुनासो गर्छन् । बाटो बनाएर पुलपुलेसा हालिदिए आफूहरुको समस्या आधा हल हुने उनले सुनाए ।

७ वर्षमा ६० प्रतिशत प्रगति

बालुवादेखि बारपाकको १६ किलोमिटर सडक निर्माणको ठेक्का रसुवा इलाइटले २०७२ सालमा पाएको थियो । अहिलेसम्म यस सडकखण्ड निर्माणको भौतिक प्रगति ६० प्रतिशतमात्रै छ । तर, बाटोमा भीरबाट खसेका ढुंगा यत्रतत्र छन् । बाटोको मोडमोडमा मात्र ढलान गरिएको छ ।

सडक निर्माण आयोजना कार्यालय प्रमुख पशुपति ज्ञवाली वर्षाको वेला भएकाले ढुंगा माटो हुन सक्ने र मोडमोडमा ढलान गर्नुको कारण हाइग्रेड रहेको बताउँछन् ।

विभिन्न प्रकोपले सडक निर्माणको काममा ढिलाइ भएको आयोजना प्रमुख ज्ञवाली बताउँछन् । भूकम्प, कोरोना, आर्थिक मन्दी, वर्षालगायतले समयमै सडक निर्माण पूरा हुन नसकेको र २०८० को असार मसान्तसम्म काम सकिने आयोजना कार्यालयले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *